प्रधानमन्त्री केपी शर्मा ओलीको यसपटकको मित्रराष्ट्र चीन भ्रमणमा खासगरी नौ बुँदामा सम्झौता।समझदारीपत्रमा हस्ताक्षर भयो । तिनमा टोखा–छहरे सुरुङमार्ग, नेपाल–चीन व्यापार अभिवृद्धि, वसन्तपुर दरबार पुनर्निर्माण, राँगाको प्रशोधित मासु निर्यात, विकास आयोजना, आर्थिक–प्राविधिक सहयोग, नगद सहयोग, चिनियाँ भाषा शिक्षक, नेपाल टेलिभिजन र चाइनिज मिडिया ग्रुप सञ्चार प्रविधिसम्बन्धी छन् । साथै, चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालका लागि करिब रु. नौ अर्ब अनुदान पनि छुट्टै घोषणा गर्नुभयो । चिनियाँ सहयोगअन्तर्गत पहिलो प्राथमिकताको परियोजनामा टोखा–छहरे सुरुङमार्ग निर्माण पनि पर्नु खासगरी नुवाकोट तथा रसुवा र धादिङवासीका लागि खुसीको कुरा हो । यो सुरुङमार्ग निर्माणको चर्चा चलेको एक दशकभन्दा बढी भइसक्यो । यसबिचमा यस मार्गको निर्माण अघि बढाउन नेपाल सरकारले रु. एक अर्ब बजेटसमेत विनियोजन गरिसकेको थियो । सुरुङमार्ग निर्माणसँगै काठमाडौँको टोखादेखि नुवाकोट सदरमुकाम विदुरको दूरी २५ किलोमिटरमा सीमित हुनेछ । यदि आजैदेखि सुरुङमार्गसँगै भित्रिने सहरीकरणको व्यवस्थापनमा ध्यान नदिने हो भने नुवाकोट केही वर्षभित्र अव्यवस्थित नयाँ काठमाडौँमा रूपान्तरण हुनेछ । सुरुङमार्गसँगै भित्रिने सहरीकरण र विकासको ढाँचाबारे छलफल चलाउन अब ढिला गर्नुहुँदैन । शिवपुरी, लिखु, तादी र पञ्चकन्या गाउँपालिका तथा विदुर नगरपालिका यस सुरुङमार्गले बढी असर गर्ने स्थानीय तह हुन् ।
टोखा–छहरे सुरुङमार्ग निर्माण अघि बढ्ने हल्लाले विगत एक दशकदेखि नै टोखादेखि छहरेका उब्जनी हुने जमिनको मूल्य अकासिएको छ । जमिनको प्लटिङ गर्ने र घडेरीका रूपमा बिक्री गर्ने उद्देश्ले काठमाडौँ जसरी नै छहरेदेखि सेराबेँसीसम्मका उब्जाउ फाँटहरू सहरीकरण हुने तरखरमा छन् । आज हामीले तादी र लिखु खोलामा पौडी खेल्ने तथा यसको पानीले सिँचाइ गरेर छहरे, सिमारादेखि लब्धु हुँदै बहराफेदी, सेरा, गँगटेसम्मका फाँटहरूमा आलु, धान, गहुुँ, मकैजस्ता खाद्यवस्तुको उत्पादन भएको देखिन्छ । टोखा–छहरे सुरुङमार्ग निर्माणको सुरुवातसँगै यी हरिया फाँटहरू सहरीकरण हुँदै नयाँ काठमाडौँमा रूपान्तरण हुनेछन् ।
छहरे, सिमारादेखि लब्धु हुँदै सेरा, गँगटेसम्म नै आधुनिक सहर निर्माण हुने क्रम सुरु भइसकेको देख्न सकिन्छ । यो क्रम अब तीव्र गतिमा अघि बढ्नेछ । यी फाँटहरू नजोगाई तादी नदी र लिखु खोला जोगिन सक्दैन । आजभन्दा ५० वर्षअघि काठमाडौँका बागमती र विष्णुमती आजका तादी र लिखु खोलाजस्तै सफा र स्वच्छ रूपमा बग्थे । आज बागमती र विष्णुमती नदी नभई ढलमतीमा रूपान्तरण भएका छन् । त्यसैगरी, काठमाडौँ उपत्यकाभित्रका सामाखुसी, हनुमन्ते, नख्खु, इच्छुमतीजस्ता खोलाहरू अतिक्रमण भई सबै मानिसका मलमूत्र र फोहोर फाल्ने डम्पिङसाइटमा रूपान्तरण भइसकेका छन् । वर्तमान अव्यवस्थित काठमाडौँ उपत्यकाबाट सिक्दै नुवाकोट जिल्लाले आजकै जस्तो सफा र स्वच्छ लिखु र तादी खोला तथा हरिया फाँटहरू भविष्यका सन्ततिलाई कसरी सुरक्षित रूपले हस्तान्तरण गर्न सकिन्छ भनेर नयाँ सहरीकरणका ढाँचामा छलफल गर्नु जरुरी छ ।
गँगटेदेखि पूर्वका सबै भूमिलाई कृषियोग्य जमिन घोषणा गर्ने, ती जमिनमा घरघडेरीका लागि प्लटिङ गर्न निषेध गर्ने र पुरानो रित्तिएका बस्तीमा सडक सञ्जाल पुयाउने, हिजोको पुरानो मानवबस्तीमा सहरीकरण गर्ने नीति लिने हो भने नुवाकोट नयाँ नुवाकोटका रूपमा रूपान्तरण हुन सक्नेछ । नयाँ नेपालको निर्माण गर्ने भनेको उब्जनी हुने जमिन र नदीको आफ्नो भूमिभरि सडक सञ्जाल निर्माण गरी क्रङ्किटको अव्यवस्थित मानवबस्ती र उत्पादनशून्य पराधीन सहरीकरण गर्ने होइन । अबको नयाँ नेपाल भनेको पुरानै शैलीमा उब्जनी हुने जमिनमा उत्पादन गर्ने, उत्पादनका लागि तादी, लिखु र त्रिशूलीजस्ता नदीमा गिटी, बालुवाजस्ता सडक र सहर निर्माणका लागि आवश्यक पदार्थको उत्पादन नभई मानव जीवनका लागि आवश्यक खाद्य पदार्थको उत्पादन गर्ने कृषिमा आधारित औद्योगिकीकरण गर्न आवश्यक छ । हामी उब्जाउयोग्य जमिनमा सडक नभई सिँचाइको व्यवस्था गर्ने विकासको ढाँचामा फर्कनुपर्छ । डाँडाकाँडाभरि मानवबस्ती पुनः फर्काउन पहाडी भूगोलमा सहर बसाउने नीतिबाट मात्र नेपालका युवालाई बिदेसिनबाट रोक्न सकिन्छ । नयाँ नेपाल पुरानो शैलीमा निर्माण नगरी नेपालको निर्माण सम्भव छैन ।
नयाँ नेपाल होइन पुरानै शैलीमा नेपालको पुनर्निर्माण गरौँ भन्ने नारा नै अबको नेपाल निर्माणको नारा हुनुपर्छ । टोखा–छहरे सुरुङमार्गबाट उत्साहित मात्र नभई नुवाकोट जिल्लावासी र विशेषगरी शिवपुरी, पञ्चकन्या, लिखु, तादी र विदुरका स्थानीय तहका जनप्रतिनिधिहरू गम्भीर हुनु आवश्यक छ ।







प्रतिक्रिया