धुन्चे । नेपाली काङ्ग्रेस र नेकपा (एमाले) को सङ्घ, प्रदेशमा गठबन्धनको सरकार बनेसँगै सबै जिल्लामा संयन्त्र निर्माण गर्ने केन्द्रको निर्णयअनुसार रसुवामा दुई दलका जिल्लास्तरका प्रमुख नेता सम्मिलित संयन्त्र गठन भएको छ ।
संयन्त्रको पहिलो बैठक नेपाली काङ्ग्रेस रसुवाका सभापति पेम्बाछिरिङ तामाङको अध्यक्षतामा मंगलबार बसेको छ । उक्त बैठकले संयन्त्रको बैठकमा संयोजक दुई दलले आलोपालो गर्ने निर्णयसमेत गरेका छन् । एक-आपसी सल्लाह र सहमतिबाट जिल्लाको समग्र विकास निर्माण द्रुतगतिमा अगाडि लाने र जनतामाझ आइपर्ने समस्या समाधान गर्न नेपाली काङ्ग्रेस र नेकपा एमाले संयुक्त रूपमा अगाडि बढ्ने भएका छन् । नेपाली काङ्ग्रेसका रसुवा जिल्ला सभापति पेम्बाछिरिङ तामाङको अध्यक्षतामा बसेको दुई दलका नेताहरूको संयुक्त बैठकद्वारा जिल्लावासीले मागफारम भरिसकेको साञ्जेन कम्पनीको विद्युत् सेयर डिम्याट खातामा तुरुन्तै पठाउन अनुरोध गर्ने, विगत लामो समयदेखि पाँच मेगावाट मैलुङखोला जलविद्युत् कम्पनीले जनताबाट रकम असुल गरी गायव बनाइराखेको सेयर डिम्याट खातामा राख्न लगाउने निर्णय भएको छ ।
रसुवाली जनताले नियमअनुसार पाएको सेयर निष्कासन गर्न आनाकानी गरिरहेका कारण दुई दलका नेताहरूले रसुवाको जनतालाई थिचोमिचो गर्ने व्यक्ति वा संस्थाउपर मुकाबिला गर्ने नेताहरूले निष्कर्ष निकालेका हुन् । रसुवा जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनामध्ये कुन–कुन आयोजनाले कुन–कुन समयमा प्रभावित जनतामाझ के–के काम गर्ने भन्ने इआइएमा उल्लेख छ । सो काम तदारुकताकासाथ कार्यान्वयन गराउनेसमेत दुई दलका नेताले निर्णय गरेका छन् । चीनसँगको उत्तरी रसुवागढी नाकाबाट सबै नेपाली आउजाउ गर्ने वातावरण सिर्जना गरिदिन र तोडफोडका नाममा साञ्जेन जलविद्युत् कम्पनीले २८ जना स्थानीय बासिन्दाविरुद्ध हालेको मुद्दा फिर्ता लिइदिन एवम् वि.सं. २०७२ को विनाशकारी भूकम्पका कारण हाकु क्षेत्रबाट विस्थापित भई उत्तरगयाको खाल्टेबगरमा बसोबास गरिरहेका दुई सय परिवारका लागि छिटोभन्दा छिटो आवास निर्माण गरिदिन र नेपाल–चीनबिच रसुवागढी नाकाबाट केरुङ आवत–जावतका लागि पासको व्यवस्था गरिदिन सरकारसामु अनुरोध गर्ने निर्णय गरेको नेकपा एमाले जिल्ला पार्टी सचिव जनार्दन ढकालले बताए ।
भौगोलिक विकटता भएको हिमाली जिल्ला रसुवा क्षेत्रको समस्या समाधानका लागि सरकारले विशेष चासो लिनेसमेत स्थानीय नेताहरूले पूर्ण विश्वास लिएका छन् । प्रत्येक महिना आलोपालोका साथ समझदारीबाटै बैठकको अध्यक्षता गर्ने र पाँचवटै पालिकाको विकास गतिविधि सहमतिको आधारले अगाडि बढाई जनताका टड्कारो आवश्यकता परिपूर्तिमा दृढरूपले अगाडि बढ्ने बताइएको छ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् सांसद मोहन आचार्य, नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वसांसद प्रेम तामाङसमेतको सहभागितामा भएको जिल्लास्तरीय नेताको बैठकले गरेको माग निर्णय कार्यान्वयन हुनेमा आशा पलाएको बताइएको छ । राज्य सञ्चालनका लागि नेका र एमाले दुई दलबिच सरकार गठन भएपश्चात् स्थानीयस्तरका नेता तथा कार्यकर्ताबिच एक–आपसी सद्भाव बढ्न थालेको पाइएको छ ।
प्रतिक्रिया