विदुर । विदुर नगरपालिका-४ विदुरमा रहेको जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लि.को १६औँ वार्षिक साधारणसभाले सेयर सदस्य र सेयरपुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको छ ।
गत महिना सम्पन्न साधारणसभाले आव २०८०/०८१ को सेयर सदस्य ६ सय ४४ बाट चालू आव २०८१/०८२ मा ७ सय ५० सेयर सदस्य पु¥याउने प्रस्ताव पारित गरेको व्यवस्थापक भोजराज पनेरूले बताए । सभामा सहकारीका अध्यक्ष इन्द्रमणि गैरेले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष भवानी पाठकले बजेट तथा कार्यक्रम तथा प्रगति विवरण र लेखा समितिका संयोजक गोकर्ण कँडेलले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीले गत आव २०८०/०८१ मा सेयर रकम रु. एक करोड ७३ लाख ७९ हजार आठ सय र निक्षेप रु. ६ करोड दुई लाख ४७ हजार सात सय ४९ र ऋण लगानी रु. ६ करोड ८६ लाख ५१ हजार तीन सय ७१ गरेको विवरण सार्वजनिक गरिएको छ । सहकारीले चालू आवमा रु. दुई करोड ५० लाख सेयर रकम वृद्धि गर्ने प्रस्ताव सभाले पारित गरेको छ । सहकारीले अघिल्लो आव २०७९/०८० मा आयकर शीर्षकमा रु. ८४ हजार तीन सय ५४ सरकारलाई बुझाएकोमा गत आव २०८०/०८१ मा वृद्धि भई रु. दुई लाख २२ हजार तीन सय ५८ बुझाएको संस्थाको प्रगति विवरणमा उल्लेख छ ।
त्यसैगरी, सहकारीले अघिल्लो आव २०७९/०८० मा खुदनाफा रु. आठ लाख ९५ हजार तीन सय ४० गरेकोमा गत आव २०८०/०८१ मा घटेर रु. आठ लाख ७६ हजार ६ सय ३४ भएको अध्यक्ष गैरेले जानकारी दिए । विगत वर्षदेखि सहकारीले हितकोषबाट दिँदै आएका सेयर सदस्य दुर्घटना बिमा रु. २५ हजार, मृत्यु भएमा रु. ७ हजार, महिला सदस्यलाई सुत्केरी स्याहार/पोषण रु. २ हजारलाई चालू आवमा पनि कायमै राखेको छ । वि.सं. २०६५ पुस २२ गते स्थापना भई सञ्चालनमा आएको सहकारीले सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक सेवा कार्यक्रम सञ्चालन गर्दै सेयर सदस्यका एक–एकजना छोराछोरीमध्ये एसइईमा उत्कृष्ट अङ्क प्राप्त गर्नेलाई सम्मान, ज्येष्ठ नागरिक सेयर सदस्यलाई सम्मान कार्यक्रम र सामुदायिक विद्यालयमा अध्ययन गर्ने एक–एकजना छात्र/छात्रालाई छात्रवृत्ति प्रदान कार्यक्रमलाई निरन्तरता दिने प्रस्ताव सभाले पारित गरेको छ ।






प्रतिक्रिया