विदुर । नेपाल पत्रकार महासङ्घ नुवाकोट शाखाको शुक्रबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका दुई उम्मेदवारले समान मत प्राप्त गरेपछि आलोपालो नेतृत्व गर्ने सहमति भएको छ । अध्यक्षका उम्मेदवार नवराज सुवेदी र रामहरि गजुरेलले सम्मान ३३ मत प्राप्त गरेपछि दुई उम्मेदवारले आधा/आधा कार्यकाल जिम्मेवारी लिने गरी सहमति गरेका छन् । दुवैले आधा/आधा कार्यकाल (डेढ/डेढ) वर्ष जिम्मेवारी लिने सहमति गरेपछि निर्वाचन समितिले दुवैलाई विजयी भएको प्रमाणपत्र प्रदान गरेर शपथग्रहण गराएको थियो ।
महासङ्घ नुवाकोटको आठौँ अधिवेशनबाट दुईजना अध्यक्षमा निर्वाचित भएका हुन् । शुक्रबार भएको मतदानमा अध्यक्षमा प्रत्याशीद्वय सुवेदी र गजुरेलले बराबर मत ल्याएपछि कार्यकाल बाँडिएको कारण दुईजना अध्यक्ष भएका हुन् । शुक्रबार नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचन सञ्चालन भएको थियो । नुवाकोटमा पनि सोही दिन निर्वाचन भएको हो । सर्वसम्मत जिल्ला नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि नुवाकोटमा पनि निर्वाचनबाट नेतृत्व चयन गरिएको थियो । नेपाली काङ्ग्रेसनिकट प्रेस युनियन र नेकपा एमालेनिकट प्रेस चौतारीको गठबन्धनबाट सुवेदी र नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टर र नेकपा समाजवादीनिकट समाजवादी प्रेस सङ्गठनबाट गजुरेलको नेतृत्वमा छुट्टाछुट्टै टिम चुनावी मैदानमा होमिएका थिए । उपाध्यक्षमा जगदीश खनालले ४१ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी श्रीराम अधिकारीले २७ मत प्राप्त गरे । उपाध्यक्ष (महिला) मा आत्मा गुरागाईं ३५ मत ल्याएर विजयी भइन् भने उनकी प्रतिद्वन्द्वी जमुना गजुरेलले ३२ मत ल्याइन् । सचिवमा सुनील श्रेष्ठले ३९ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी सुजित भण्डारीले २८ मत ल्याए । सहसचिवमा केदार ढकालले ४३ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी हरिराम भेटुवालले २३ मत ल्याए । सचिव (समावेशी)मा मनीषा सापकोटा ३६ मत ल्याएर विजयी भइन् भने उनकी प्रतिद्वन्द्वी प्रीतिका थापाले २८ मत ल्याइन् । कोषाध्यक्षमा सुरज सिलवालले ३४ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी विष्णु अधिकारीले ३१ मत ल्याए । सदस्यमा सज्जनउत्सुक सापकोटा, करुणा लामिछाने, पार्वती विक, सुनिता गुरुङ, अञ्जली प्याकुरेल, प्रह्लाद पुडासैनी, पुण्यप्रभा ढुङ्गाना, शिवराम भण्डारी निर्वाचित भएका छन् ।
उक्त निर्वाचनबाट केन्द्रीय परिषद् सदस्यमा देवचन्द्र भट्ट र विष्णु तारुके, प्रदेश परिषद् सदस्यमा आशिष ढुङ्गाना, किरणप्रसाद अधिकारी, भरतसन्तोषी लामा र विनय बन्जरा निर्वाचित भएका छन् । ८० जना मतदाता रहेको नुवाकोट शाखामा ६९ मत मात्र खसेको थियो ।






प्रतिक्रिया