+
Search

ताजा अपडेट +

पपुलर +

चिनियाँ भाषा र आइटी कक्षाका विद्यार्थी दीक्षित

चिनियाँ भाषा र आइटी कक्षाका विद्यार्थी दीक्षित
त्रिशूली प्रवाह
१ साल अगाडी

त्रिशूलीबजार । नुवाकोट जिल्लाको विदुर नगरपालिका-८ मा रहेको भैरुम माध्यमिक विद्यालय हात्तीगौँडामा अतिरिक्त समयमा सञ्चालित चिनियाँ भाषा (हानयी, चोङ वन) र सूचना प्रविधि (आइटी) विषय अध्ययनरत विद्यार्थी गत हप्ता दीक्षित भएका छन् । विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीलाई लक्ष्य गर्दै सञ्चालित हानयी र आइटीसम्बन्धी प्रारम्भिक तहको अध्ययन पूरा गरेका ५० विद्यार्थी दीक्षित भएका हुन् । गत भदौदेखि सुरु भएको कक्षा गत हप्ता सकिएको हो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

प्रारम्भिक तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई चीन सरकारको सान्दोङ फोरेन ट्रेड भोकेसनल कलेजबाट आएका प्रशिक्षक र जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख दलबहादुर तामाङले प्रमाणपत्र प्रदान गरे । चिनियाँ दूतावासको आर्थिक तथा प्राविधिक सहयोगमा ११ र १२ कक्षाका विद्यार्थीसहित स्थानीय युवालाई लक्षित गरी सञ्चालित भाषा र सीप विकासको तह विद्यार्थीले सफलतापूर्वक तीन महिनामा पूरा गरेको ओभरसिज ट्रेडिङ सेन्टर इन नेपालका कोअर्डिनेटर रामचन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार नेपालमा पहिलोपटक नमुना परीक्षणका रूपमा चिनियाँ दूतावासको सहयोगमा सञ्चालित भाषा र सीप विकास अध्ययन विद्यार्थीले सहज रूपमा पूरा गरेका छन् । दूतावास अब अहिलेका विद्यार्थीलाई माथिल्लो तह र नयाँ कक्षाका विद्यार्थीलाई समावेश गराउने तयारीमा रहेको जानकारी प्राप्त भएको जिससका उपप्रमुख तामाङले जानकारी दिए । ‘परीक्षणका रूपमा नेपालमा पहिलोपटक सुरु गरिएको कार्यक्रममा विद्यार्थीको सफलताले दूतावास उत्साहित भएको छ,’ उनले भने, ‘अध्ययन र सीप सिकाइको तह पूरा गरेकामध्ये उत्कृष्ट विद्यार्थीलाई अध्ययनका लागि चीन जाने अवसरसमेत उपलब्ध हुनेछ ।’

Suzuki New Bike & Scooter

कार्यक्रमको सफलतापश्चात् नुवाकोटमा नै थप कार्यक्रम विस्तारसहित शिक्षा क्षेत्रमा सहयोगका कार्यक्रम सञ्चालनका लागि दूतावासले यहाँबाट प्रस्ताव माग गरेको छ । विश्वका एक सयभन्दा बढी देशमा भाषा र सूचना प्रविधिसम्बन्धी कक्षा सञ्चालन गरेको चीन सरकारले नुवाकोटसहित चीनसँग सीमा जोडिएका जिल्लामा सो कार्यक्रमलाई विस्तार गर्न चाहिरहेको छ । सान्दोङ भोकेसनल कलेजले नेपालको ओभरसिज ट्रेडिङ सेन्टर इन नेपालसँगको सहकार्यमा कक्षा सञ्चालनमा ल्याएको थियो । चिनियाँ कलेजले तयार गरेको पाठ्यक्रम र सोही पाठ्यक्रममा आधारित कक्षाको प्रारम्भिक तहको अध्ययन पूरा गरेका विद्यार्थीले ‘चोङ वन’ मा पढ्न, लेख्न र कम्प्युटरमा आधारित सीप विकाससम्बन्धी (प्रविधि) काम गर्न सक्ने भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह