विदुर । विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले सातबुँदे माग राखी सङ्घीय खानेपानीमन्त्री प्रदीप यादवलाई शनिबार ज्ञापनपत्र बुझाएको छ । संस्थाले मन्त्री यादवलाई फँलाखु खोला मुहानको प्रत्यक्ष निरीक्षण गराई विदुर खानेपानीमा रहेको समस्या समाधानका लागि सहयोग गरिदिन आग्रह गरेको छ । खानेपानीमा प्रयोग हुने विद्युत् महसुलमा कम्तीमा ५० प्रतिशत छुट हुनुपर्ने मागसमेत संस्थाले राखेको छ । नगर विकास कोषको ऋणअन्तर्गत लगानी भएको आयोजनामा उपभोक्ता समितिले व्यहोर्नुपर्ने २५ प्रतिशत ऋणभारलाई हटाई १० प्रतिशत गर्नुपर्ने माग मन्त्रीसमक्ष राखिएको संस्थाका अध्यक्ष सञ्जीवबहादुर श्रेष्ठले बताए । सफा र स्वस्थ खानेपानी प्राप्त गर्नु हरेक नागरिकको नैसर्गिक अधिकार भएको हुँदा उपभोग गर्ने घरधुरी र जनसङ्ख्याका आधारमा खानेपानी उपभोक्ता संस्थालाई राज्यबाट व्यवस्थापन खर्च वार्षिक रूपमा प्राप्त हुनुपर्ने माग ज्ञापनपत्रमा उल्लेख छ ।
‘विदुर खानेपानीको प्रमुख मुहान फँलाखु खोलाको किनारमा रहेको १५ सय मिटर पाइपलाइन हरेक वर्ष बाढीपहिरोबाट प्रभावित हुने हुँदा वार्षिक रूपमा सङ्घीय सरकारबाट मर्मतसम्भारका लागि रु.५० लाख मर्मत खर्च उपलब्ध गराउन माग गरिएको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘विदुरका १, २, ४, ५, ६, ८ र ९ गरी सातवटा वडाका २५ हजारभन्दा बढी जनताको खानेपानीसँग जोडिएको तादी खोलाको किनारमा निर्माणाधीन सम्पवेल खानेपानीको १६ इन्च पाइप लाइनलाई सम्भव भएसम्म सौर्य ऊर्जाबाट चलाउने, नभए वडा नम्बर ५ पिपलटारको सात सय घरधुरीसँग जोडिएको चार इन्च पाइपलाइनलाई सौर्य ऊर्जाबाट सञ्चालन गर्नुपर्ने माग हाम्रो रहेको छ ।’ वडा नम्बर १, ढुङ्गे पेट्रोल पम्पदेखि रसुवा जिल्ला उत्तरगया गाउँपालिकाको नयाँ पुलसम्म गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक आयोजनाले सडक निर्माण गर्दा १५ किलोमिटर खानेपानीको पाइप लाइन ध्वस्त बनाएको र सोको जडान तथा मर्मतका लागि बजेट व्यवस्था गरिदिनका लागि मन्त्री यादवको ध्यानाकर्षण गराइएको थियो । संस्थाले बुझाएको मागपत्रलाई सूक्ष्मरूपले अध्ययन गरी सम्बोधन गरिने बताउँदै मन्त्री यादवले विदुर खानेपानीमा देखिएको समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन रूपमा कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा विज्ञहरूसँग परामर्श गरिने आश्वासन दिए ।
यसैबिच नुवाकोट, रसुवा र धादिङ तीनै जिल्लाको सबैभन्दा पुरानो ऐतिहासिक त्रिशूली बजार र विदुर-९ का एक हजार पाँच सय घरधुरीलाई सफा र स्वस्थ खानेपानी उपलब्ध गराउन छुट्टै स्टिमेटअनुसार चार लाख लिटरको ट्याङ्की र खानेपानी पाइपलाइनका लागि बजेट व्यवस्था गरिदिन संस्थाका अध्यक्ष श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई शुक्रबार विदुरमा मागपत्र पेस गरेको छ । मुख्यमन्त्री तामाङले संस्थाका प्रतिनिधिलाई पुस महिनाभित्र ट्याङ्की निर्माणका लागि बजेट व्यवस्थापन गरिदिने आश्वासन दिएको संस्थाका सचिव राजेन्द्र पाण्डेले बताए । जिल्लाको पुरानो तथा ऐतिहासिक बजार त्रिशूलीका बासिन्दा अहिलेसम्म नेपाल विद्युत् प्राधिकरणको नहरमा बगेको धमिलो पानी प्रयोग गर्न बाध्य छन् । नेपालको संविधानले ४८ मौलिक हकको व्यवस्था गरेकामा स्वास्थ्यसम्बन्धी हकको चौथो बुँदामा प्रत्येक नागरिकको स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भन्ने उल्लेख भए पनि त्रिशूलीवासीले सयौँ वर्षदेखि खोलाकै धमिलो पानी पिइरहेका छन् । विविध कारणले विगतमा त्रिशूली बजार विदुर खानेपानी कार्यक्षेत्रसँग जोडिन सकेको थिएन । अहिलेको नेतृत्वले त्रिशूलीबजारलाई शुद्ध र स्वच्छ खानेपानीका लागि दुई वर्षदेखि पहल गरिरहेको छ । मुख्यमन्त्रीको आश्वासन पूरा भएमा चालू आवभित्रै त्रिशूलीवासीले धमिलो पानी पिउनु नपर्ने नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।






प्रतिक्रिया