नुवाकोट । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले नुवाकोटको बट्टारमा थ्री डी आर्ट म्युजियम सञ्चालनमा आएको छ । आर्टशाला नेपालको सहकार्यमा सञ्चालनमा आएको म्युजियमले कलापारखी, पर्यटक तथा परिवारलाई विशेष मनोरञ्जन प्रदान गर्ने विश्वास लिइएको छ । शनिबार आयोजित विशेष समारोहमा वरिष्ठ हास्यकलाकार मनोज गजुरेलले म्युजियमको शुभारम्भ गरेका थिए ।
तामाङ प्लाजा एग्रो रिसोर्टद्वारा सञ्चालित यो म्युजियमले रोमाञ्चक थ्री डी कलाका माध्यमबाट आगन्तुकलाई नौलो अनुभव प्रदान गर्नेछ । म्युजियममा तालमाथि तैरिएको भर्याङ, झरना, बाघ, हात्ती, घोडा, समुद्री जीव, जङ्गली जनावर तथा गौतमबुद्धदेखि सम्पदासम्मको आकृति हेर्न सकिन्छ । यसले आगन्तुकलाई तस्बिर तथा भिडियो खिच्नका लागि थप आकर्षण प्रदान गर्नेछ । सञ्चालक शक्तिमाया तामाङका अनुसार म्युजियममा प्रवेश गरेपछि नौलो संसारमा पुगेको अनुभूति हुन्छ । उनले भनिन्, ‘विदेशमा लोकप्रिय थ्री डी आर्ट म्युजियमलाई नेपालमा भित्र्याउँदै नयाँ अनुभव प्रदान गर्न खोजिएको हो । यहाँ पारिवारिक मनोरञ्जनसँगै तनावमुक्त हुन सकिने सुविधा छ ।’ म्युजियम हप्ताको सातै दिन बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म खुला रहनेछ ।






प्रतिक्रिया