विदुर । नुवाकोट जिल्लाको विदुर नगरपालिका-२ विदुरमा सञ्चालनमा रहेको गतिशील महिला बहुउद्देश्यीय सहकारी संस्था लि.को १२औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सभाले सहकारीको कार्यक्षेत्र विस्तार र सेयर सदस्य तथा सेयरपुँजी वृद्धि गर्नेलगायतको निर्णय गरेको अध्यक्ष विन्दा ढुङ्गानाले जानकारी दिइन् ।
सहकारीको विदुर र बेलकोटगढी नगरपालिकासहित सूर्यगढी, म्यागङ, किस्पाङ, तारकेश्वर, लिखु, दुप्चेश्वर, तादी कार्यक्षेत्र रहेकोमा चालू आवभित्र ककनी र शिवपुरी गाउँपालिकामा विस्तार गर्ने निर्णय साधारणसभाले गरेको छ । सभामा कोषाध्यक्ष तारादेवी रिमालले आव ०८०/८१ को आय-व्यय प्रस्तुत गरेका थिए । गत आवमा सहकारीले रु. ३६ लाख ७७ हजार ६ सय ५८ कुल आम्दानी गरेकोमध्ये ऋणमा ब्याज आम्दानी रु. ३३ लाख ७२ हजार पाँच सय ५२, अन्य आम्दानी रु. एक लाख ३२ हजार पाँच सय ५८ र बैंक ब्याज आम्दानी रु. एक लाख ७१ हजार पाँच सय ४८ भएको छ । गत आव ०८०/८१ को असारसम्म ६ सय पाँचजना सेयर सदस्य र रु. एक करोड ५४ लाख ९० हजार पाँच सय सेयरपुँजी रहेको गतिशील सहकारीको नाममा पाँचआना जग्गामा बनेको भवनमा कार्यालय सञ्चालन भइरहेको छ । सहकारीको सेयर सदस्य एक हजार र सेयरपुँजी रु. दुई करोड पुर्याउने प्रस्ताव सभाले पारित गरेको छ । महिला आन्दोलनलाई अगाडि बढाउँदै महिला अधिकार स्थापित गरी महिलाको आय–आर्जनलाई प्रोत्साहित गर्दै सेवामूलक र आयमूलक कामलाई अघि बढाउने उद्देश्य रहेको सहकारीको जिल्लाका १० वटा पालिकामा १० वटा महिला समूह सक्रिय रहेका छन् । सहकारीले आफ्नै सेयरपुँजी र बचत रकम अपुग भएकाले सरकारको युवा स्वरोजगार कोषको रकमसमेत लिएर लगानी गरेको छ । सहकारीको उक्त साधारणसभा जिल्ला सहकारी सङ्घका कोषाध्यक्ष अरुणकुमार श्रेष्ठले उद्घाटन गरेका थिए ।






प्रतिक्रिया