देउराली । १० वर्ष लामो सशस्त्र द्वन्द्वको क्रममा ध्वस्त भएको नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका वडा नं. ३ देउरालीमा रहेको प्रहरी चौकी २७ वर्षपछि नयाँ भवनको पुनर्निर्माण भएको छ । वि.सं २०५४ सालमा तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीका कार्यकर्ताकोे आगजनीबाट ध्वस्त भएको थियो । २७ वर्षपछि पुनर्निर्माण गरिएको उक्त भवनको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले गत बुधबार उद्घाटन गरेका थिए ।
प्रहरी चौकीको नयाँ भवन निर्माणसँगै जनताको शान्ति, सुरक्षा, अन्याय र पीडित भएकाले पाउने न्यायसहित राज्यको उपस्थिति जनताको घरदैलोसम्म पुर्याउन थप मद्दत पुगेको मुख्यमन्त्री तामाङले उद्घाटनको क्रममा बताए । प्रदेश सरकारले प्रहरी एकाइसहित सरकारी सेवासँग सम्बन्धित संरचनाको निर्माणका गतिविधिलाई अघि बढाउँदै भौतिक संरचनाको विकासमा लगानी गर्ने उहाँले प्रतिबद्धता जनाए । प्रहरी चौकीसहित तत्कालीन समयमा ध्वस्त बनाइएको गाविसको भवन अहिले पालिकाको रूपमा स्थापना भए पनि नेपाल विद्युत् प्राधिकरण र कृषि विकासको सेवा केन्द्र भने अझै अवरुद्ध हुँदा सेवाग्राहीलाई समस्या भइरहेको म्यागङका अध्यक्ष आशा तामाङले गुनासो गरिन् । द्वन्द्वको समयमा क्षति पुगेका तथा राज्यको सेवा प्रवाह सहज बनाउन माग आएका र आवश्यकता महसुस भएका स्थानमा प्रहरी एकाइको कार्यालय पुनर्निर्माण तथा नवनिर्माणलाई प्राथमिकता दिइएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख (प्रहरी नायब महानिरीक्षक) कृष्णहरि शर्माले जानकारी दिए । उनका अनुसार राज्य पुनर्संरचनापश्चात् बागमती प्रदेश सरकारमार्फत ७५ स्थानमा नयाँ प्रहरी एकाइका लागि भवन निर्माण सुरु गरेकोमा हालसम्म ६७ स्थानको सम्पन्न भइसकेको र बाँकीको निर्माण तीव्र गतिमा भइरहेको छ ।
तामाङ समुदायको बाहुल्य रहेको देउरालीसहित यस आसपासमा अपराध नियन्त्रण, विपत् व्यवस्थापनसहित राज्यको उपस्थिति प्रभावकारी बनाउन पुनर्निर्माण गरिएको प्रहरी एकाइले स्थानीयवासी उत्साहित देखिएका छन् । उक्त भवन निर्माणका लागि स्थानीय सर्वजित तामाङ र रामबहादुर तामाङले आवश्यक जग्गा निःशुल्क उपलब्ध गराएका थिए । कार्यक्रममा मुख्यमन्त्री तामाङबाट जग्गादाताद्वयलाई दोसल्ला ओढाएर प्रशंसापत्र प्रदान गरिएको थियो । उक्त प्रहरी चौकीको भवन ०७८ चैतमा सम्झौता गरेर दुई चरणमा निर्माण पूरा गरिएको बागमती प्रदेश प्रहरी कार्यालयका भौतिक पूर्वाधार शाखाका प्रमुख (प्रहरी नायब उपरीक्षक) ई. शम्भुप्रसाद कोइरीले जानकारी दिए । सो भवन निर्माणमा रु. एक करोड ४० लाख खर्च भएको छ । प्रहरी चौकीमा इलाका प्रहरी कार्यालयको स्तरोन्नतिको लक्ष्यसहित आवश्यक भौतिक संरचनाको पुनर्निर्माण गरिएको हो ।






प्रतिक्रिया