विदुर । नुवाकोट जिल्लाको लिखु गाउँपालिका-३ स्थित सिन्दुरे खोलामा एकैसाथ दुईवटा पक्की पुलको निर्माण सुरु भएको छ । लिखु गाउँपालिकालाई जिल्लाको बेलकोटगढी नगरपालिका र ककनी गाँउपालिकासँग जोड्न तथा सदरमुकाम विदुर तथा राजधानी काठमाडौं आउजाउ गर्न सहज बनाउन एकै गाउँको एउटै खोलामा दुईवटा पक्की पुल निर्माण थालिएको हो । उक्त दुई पुलको शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) र भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केबाट संयुक्त रूपमा शिलान्यास गरिएको छ ।
मुख्यमन्त्री तामाङले जनताको मागअनुसार एकै गाउँमा, एउटा खोलामा दुईवटा पुल जनताको माग र सोहीअनुसारको अध्ययनमा अत्यावश्यक देखिएकाले निर्माण थालिएको जानकारी दिए । पुल निर्माणपश्चात् कृषि उपज बजार पुर्याई आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ । विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माण र आयोजनाको प्रभावकारिता अध्ययननअनुसार गाउँमा उत्पादन भएका कृषि उपजलाई सहज रूपमा बजार पुर्याउन पुलको अत्यावश्यक देखिएकाले बजेट विनियोजन गरिएको हुँदा सोहीअनुसार लाभ लिन उनले स्थानीय लाभग्राहीलाई आग्रह गरे । ‘लिखु र बेलकोटगढीमा व्यावसायिक रूपमा आलुसहितको तरकारी खेती हुने भए पनि बजार लैजान भइरहेको समस्या पुल निर्माणले सहज हुनेछ,’ मुख्यमन्त्री तामाङले भने, ‘निर्माण व्यवसायीले पुल बनाउन सुरु गरेकाले उक्त पुल हुँदै सवारीसाधनमार्फत सजिलै बजार लैजाने कृषि सामग्री फलाउन किसान लाग्नुपर्दछ ।’
कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले बागमती प्रदेशमार्फत निर्माण थालिएका भौतिक संरचनाका काम गुणस्तर र तोकिएको अवधिभित्र सम्पन्न गर्न मन्त्रालय सक्रिय रहेको बताए । सोहीअनुसार एकैसाथ शिलान्यास गरिएका दुई पुललाई पनि समयअवधिभित्रै काम पूरा गर्न उनले निर्माण व्यवसायीलाई सचेत गराए । सो अवसरमा बागमती प्रदेश सभा सदस्य रमेशकुमार महत, नेकपा (एमाले) नुवाकोटका अध्यक्ष एवम् बागमती प्रदेशका पूर्वमन्त्री बद्री मैनालीलगायतले पुल निर्माणसँगै सडकलाई व्यवस्थित (कालोपत्र) गर्न आवश्यक रहेको बताए । सिन्दुरे खोलामा निर्माण थालिएका दुई पुलमध्ये लिखु गाउँपालिका–३ स्थित सुपारी खोल्छीबाट बेलकोटगढी नगरपालिका–१३ स्थित ढाडोफेदी जोड्ने पक्की पुलको लागत रु. आठ करोड ४६ लाख रहेको छ । लिखु–३ स्थित कटरबोटेबाट ककनी–७ चतुरालेफेदी जोड्ने पक्की पुलको लागत रु. पाँच करोड ८६ लाख रहेको पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाले जानकारी दिए । निर्माण सुरु भएका दुई पुल आगामी ०८२ असोजसम्म सम्पन्न गर्नुपर्ने गरेर निर्माण व्यवसायीलाई जिम्मेवारी दिइएको छ ।






प्रतिक्रिया