त्रिशूली अस्पतालमा दूरबिन विधिबाट स्वास्थ्य सेवा

  • त्रिशूली प्रवाह
  • १४ पुष २०८१, आईतवार १३:५८

कोलनी । बागमती प्रदेश सरकारअन्तर्गतमा रहेको नुवाकोट जिल्लाको त्रिशूली अस्पतालले नवीनतम स्वास्थ्य सेवा विस्तार गर्दै आधुनिक प्रविधिको प्रयोगद्वारा शल्यक्रिया र जाँच सेवा सुरु गरेको छ ।

अस्पतालमा डा. राजेन्द्र लामा, सौरभसुमन यादव र पार्वती गौतमको नेतृत्वमा ल्याप्रोस्कोपिक सर्जरी (दूरबिन विधिद्वारा पित्तथैलीको अप्रेसन), इन्डोस्कोपी सेवा र पिसाबनली तथा थैलीको जाँच सेवा सञ्चालन भइरहेको छ । अहिले बिरामीको पिसाबथैलीको जाँच गर्दा पिसाबथैलीमा मासु पलाउने रोगको प्रारम्भिक निदान भएको छ । यो रोग सम्भावित रूपमा क्यान्सरको प्रारम्भिक चरण हुन सक्ने भएकाले थप परीक्षण र उपचार प्रक्रियाका लागि तयारी गरिएको अस्पतालले बताएको छ । अस्पतालको यो प्रयासले नुवाकोट, रसुवा र धादिङका जनतालाई आधुनिक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुनुका साथै जटिल रोगको समयमै पहिचान र उपचार गर्न सघाउ पुग्ने अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले बताए ।