Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

रसुवागढी आयोजनाबाट वार्षिक सवा तीन अर्ब आम्दानी

रसुवागढी आयोजनाबाट वार्षिक सवा तीन अर्ब आम्दानी
त्रिशूली प्रवाह
१ साल अगाडी

धुन्चे । रसुवा जिल्लाको उत्तरी भेगको टिमुरेमा हालै निर्माण सम्पन्न भएको रसुवागढी हाइड्रोपावरले परीक्षण उत्पादन सफल भएपछि व्यावसायिक उत्पादन सुरु गरेको छ । रसुवागढीले वार्षिक रूपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन गरेर तीन अर्ब २५ करोड आय गर्ने आयोजनाले जनाएको छ ।

गोसाइँकुण्ड गाउँपालिका-१ र २ को तातोपानीस्थित भोटेकोशीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युत्गृह निर्माण गरिएको छ । उक्त विद्युत्गृहमा जडित ३३/३३ मेगावाट क्षमताको तीनवटा मेसिनबाट विद्युत् उत्पादन हुनेछ । हाल चिसोयामका कारण खोलाको पानीमा बहाव घटेपछि पहिलो परीक्षणबाट ५२ मेगावाट विद्युत् उत्पादन गरिएको आयोजना प्रमुख सत्यराम ज्याख्वाले जानकारी दिए । तीनवटै युनिट चालू गराइसकिएको र वर्षायाममा भने क्षमताअनुसार विद्युत् उत्पादन हुने उनले बताए । यो आयोजना कुल लागत १८ अर्ब ६९ करोड २० लाखको रहेको बताइएको छ । सन् २०१४ देखि पूर्ण रूपमा निर्माण सुरु भए पनि विगतमा भएको पेट्रोलियम पदार्थको अभाव, ०७२ को विनाशकारी भूकम्प, भोटेकोशीमा वर्षात्को समयमा आइरहने बाढी, वर्षायाममा राजमार्ग अवरुद्ध हुँदा सामान ढुवानीमा परेको असरले निर्माण सम्पन्न गर्न केही समय ढिलाइ भएको बताइएको छ ।

रसुवागढीमुनि भोटेकोशीमा बाँध बाँधेर चार हजार एक सय ८५ मिटर सुरुङको सहायताले टिमुरे गाउँको द्वार तातोपानीपारिको पहराभित्र निर्माण गरिएको विद्युत्गृहमा तीनवटा टर्वाइन जडान भएको र जडित सबै उपकरण चालू भइसकेको प्राविधिकले बताएका छन् । चिलिमे जलविद्युत् कम्पनीको भगेनी संस्था रसुवागढी जलविद्युत् कम्पनीमार्फत सो आयोजना निर्माण भएको हो । चिलिमे जलविद्युत् केन्द्रलाई धितो बन्धक राखी कर्मचारी सञ्चय कोषको ऋण, नेपाल विद्युत् प्राधिकरण र स्थानीय निकायसमेतको सेयर लगानीमा यो आयोजना निर्माण भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह