धुन्चे । रसुवा र नुवाकोट जिल्लाको सीमा रहेको उत्तरगयाधाम बेत्रावतीमा पौष १५ अर्थात् पौसेऔंशीको दिन नेपालका विभिन्न ठाउँ आएका ५० हजार जना भन्दा बढीले पितृको नाममा तर्पण दिएका छन् । स्थानीय सोमलाल लवटले बताएअनुसार उक्त दिन बेत्रावतीको त्रिशूली नदीको किनारमा ५० हजार भन्दा बढीले श्राद्ध गरे ।
धार्मिक एवंम् पवित्र क्षेत्र त्रिशूली, संलाखु र फंलाखु खोलाको त्रिवेणीस्थल बेत्रावतीमा पौसेऔँशीको दिन पुस १५ गते दिवंगत पितृको चिरशान्तिको कामना गर्दै ‘जौ’ को पिण्ड दिएर श्राद्ध गर्नेको भीड लागेको बेत्रावतीका स्थानीय समाजसेवी दिल श्रेष्ठले बताउनु भयो । उत्तरगयाधाममा विगत वर्षको भन्दा यस वर्ष श्राद्ध गर्न आउनेको सङ्ख्या बढेको समेत उनले दावी गरे । हिन्दु र बौद्ध दुवै धर्मावलम्वीले पितृको नाममा पिण्ड तर्पण दिएर श्राद्ध गरेका हुन् । हिन्दु धर्मालम्वीले बेत्रावती क्षेत्रलाई उत्तरगया भनेर पितृको नाममा श्राद्ध, दान, तर्पण गर्छन् भने बौद्ध धर्मालम्वीले मृत्यु भएका आफन्तका नाममा लामाले मन्त्र पढ्ने र बत्ति बाल्ने गरेका छन् । विशेष गरी पौषेऔंशीलाई मध्यनजर गरी तीन दिनअघिदेखि नै धाम सरसफाई, अस्थायी चर्पी निर्माण, स्वयम्सेवक परिचालन, सुरक्षाकर्मी बिहानैदेखि खटिएका र पार्किङस्थल बनाईएका थिए । हरेक वर्ष पौसेऔंशीका दिन श्रद्धामहोत्सवको रूपमा उत्तरगयामा मेला लाग्ने गरेको छ । स्थानीयस्तरमा नै उत्पादन भएको रैथाने कृषिबालीको समेत उक्त दिन बिक्री, वितरण भएको स्थानीय समाजसेवी ईश्वरलाल श्रेष्ठले बताउनु भयो । उत्तरगयाको नामले चिनिने बेत्रावतीमा पौषकृष्ण औंशीका दिन पितृलाई पिण्डदान दिई श्राद्ध गर्नाले पितृमोक्ष हुन्छ भन्ने विश्वास रहेको पण्डित रामचन्द्र चालिसेले बताएका छन् । पौषकृष्ण औंशीका दिन बेत्रावतीमा आमाबाबु नभएकाले सके वर्षेनी र नसके जीवनमा एकपटक भएपनि श्राद्ध गर्ने चलन रहेको समेत उनले बताउनुभयो ।
बेत्रावतीलाई श्राद्धका लागि पवित्र मानिएका हिन्दकुश क्षेत्रका चार गयामध्ये एउटा गयाको रूपमा पिण्डदान गर्ने चलन छ । चार गयामध्ये तीनवटा गया भारतमा पर्छ । भारतमा रहेको चारधाम दर्शन गर्नु भन्दा पहिले उत्तरगयामा दर्शन गरे पुण्य प्राप्त हुने विदुर नगरपालिका वडा नं ७ तुप्चेका पण्डित गोबिन्द अधिकारीले बताउनु भयो । श्राद्ध गर्नका लागि रसुवा, नुवाकोट, धादिङ, कठमाडौं, मकवानपुर, चितवन, गोरखा, कास्कीलगायतका स्थानबाट हजारौं मानिस उत्तरगयामा आउने गरेको उत्तरगया क्षेत्र विकास कोष समितिका अध्यक्ष पुर्णचन्द्र पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया