विदुर । प्रधानमन्त्रीलगायत राजकीय पदाधिकारी बस्ने बालुवाटारस्थित ललितानिवासको दलका नेता, न्यायाधीश, व्यापारीबिच बाँडचुँड प्रकरण नुवाकोटको शेरा दरबारमा दोहोरिएको छ । नेपाल एकीकरणपछि बडामहाराजा पृथ्वीनारायण शाहले हिउँदका बेला बस्न बनाएको दरबार नेकपा (माओवादी केन्द्र)का नेता पुष्पकमल दाहाल प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदाका सचिवालय सदस्य विकेश श्रेष्ठका नाममा पुगेपछि सबैको ध्यान यता मोडिएको छ । सशस्त्र सङ्घर्षकालमा माओवादीले राजतन्त्रको प्रतीक पाल्पाको सेन दरबार, अछामको मङ्गलसेन दरबार, नुवाकोटको शेरा दरबार र विदुर– ५ देवीघाटस्थित पृथ्वीनारायणको सालिक ध्वस्त पारेको थियो । अहिले दरबारकै जग्गा कसरी खान हडपेका रहेछन् भन्ने कुरा सार्वजनिक हुन थालेको छ ।
विदुर नगरपालिका– २ स्थित सो जग्गा नेपाल ट्रस्टका नाममा आउनुपर्नेमा व्यक्तिका नाममा लैजान खोजिएपछि यो विषय सतहमा आएको हो । उक्त जग्गाको खोजीमा डेढ महिनाअगाडि सङ्घीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी मन्त्रालयको टिम लिएर शेरा दरबारको अवलोकन गरेर प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिका पदाधिकारी र मालपोत तथा नापी कार्यालयका प्रमुखसहित कर्मचारीसँग छुट्टाछुट्टै छलफल गरेर कागजपत्र लिएर फर्केका थिए । अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जग्गाको हिनामिनाबारे अनुसन्धान गरी सङ्घीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बुझाइसकेको प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । गणतन्त्र स्थापनापछि तत्कालीन राजपरिवारका सदस्यको हदबन्दीभन्दा बढी र स्वर्गीय राजा वीरेन्द्रसहित मारिएका सदस्यका नामका अचल सम्पत्ति नेपाल ट्रस्टमा ल्याइए पनि शेरा फाँटस्थित शेरा दरबार र त्यसले चर्चेको जग्गा भने माओवादी नेता श्रेष्ठ र उनका छोराका नाममा खडा गरिएको अन्नपूर्ण फार्मिङ प्रालिका नाममा दर्ता स्रेस्ता कायम भएको पाइएको छ । जिल्ला मालपोत कार्यालय नुवाकोटको ढड्डामा सो दरबारसहितको जमिन गौरीशङ्कर फार्मिङबाट अन्नपूर्ण फार्मिङका नाममा कायम भएको देखिन्छ । कम्पनी रजिस्ट्रारको कार्यालयको अभिलेखअनुसार अन्नपूर्ण फार्मिङ प्रालि विकेश तथा उनका छोरा मनोबल र अजय सूर्यवंशीको संयुक्त कम्पनीका रूपमा दर्ता भएको छ । सो दरबार तत्कालीन राजा महेन्द्रका भाइ वसुन्धराकी श्रीमती हेलेनका भागमा परेको थियो ।
राजा पृथ्वीनारायणले जाडो छल्न भनेर बनाएको ऐतिहासिक शेरा दरबारको एक सय ८४ रोपनी जग्गा हदबन्दीभन्दा बढी भएपछि कम्पनीका नाममा लगेर बेच्न लागिएको थियो । कृषि प्रयोजनका लागि कम्पनी खडा गरी व्यक्तिका नामबाट कम्पनीमा लगिएको तथ्य फेला परेपछि अहिले मालपोत कार्यालयले जग्गा रोक्का राखेको छ । त्यस्तै, नेपाल ट्रस्टमा सो दरबारको जग्गा लैजान सरकारले चासो दिएको छ । वि.सं. २०७३ मा अन्नपूर्ण फार्मिङबाट शेरा दरबारमा विकेशको प्रवेश भएको थियो । उनी २०६५ सालमा दाहाल प्रधानमन्त्री हुँदा सचिवालय सदस्य थिए । त्यसअघि उनी माओवादी शान्ति प्रक्रियामा आउनुअघिको बहुचर्चित चुनवाङ बैठकबाट निर्वाचित ९५ सदस्यीय केन्द्रीय कमिटीका सदस्य थिए । उनी अहिले पार्टीको कुनै कमिटीमा आबद्ध नरहेको बताइन्छ । उनले दाहालको पहिलो प्रधानमन्त्रित्वकालमा शक्तिकुमार बस्नेतअन्तर्गत सचिवालयमा काम गरेका थिए । श्रेष्ठले शेरा दरबार क्षेत्रका जग्गा प्लटिङ गरेर केही जग्गाको बैनासमेत लिएको स्थानीयवासीले बताएका छन् । काठमाडौँ बुढानीलकण्ठ नगरपालिका– ३ का स्थायी बासिन्दा श्रेष्ठले पछिल्लो समय सो जग्गा आफ्नो एकल कम्पनीका नाममा पारेको र अहिले व्यक्तिमा लैजान खोज्दा पोल खुलेको हो । दाहाल प्रधानमन्त्री भएकै बेलामा उनको स्वकीय सचिवालयमा रहेका विकेशका नाममा सेयर हस्तान्तरण भएको देखिएको छ । तत्कालीन भूमिसुधार सचिव मोहनकृष्ण सापकोटाका आदेशमा अन्नपूर्ण फार्मिङमा श्रेष्ठका नाममा सेयर हस्तान्तरणमा सहमति दिइएको खुलेको छ । वि.सं. २०७३ साउन ९ गते माओवादी केन्द्रका अध्यक्ष दाहाल दोस्रोपटक प्रधानमन्त्री भएका थिए । उनी प्रधानमन्त्री भएका बेला भूमिसुधार मन्त्रालयमा सापकोटा सचिव थिए जो माओवादीनिकट हुन् । उनले त्यतिबेला रु. पाँच करोड ६७ लाख ५० हजार लगानी गरेको कम्पनी रजिस्ट्रारको कार्यालयबाट उपलब्ध कागजातमा उल्लेख छ ।
पृथ्वीनारायणकालीन दरबारको जग्गा दाहालका तत्कालीन स्वकीय सचिवले प्लटिङ गरेर बेच्न लागेपछि स्थानीयवासीले सरकारी निकायमा उजुरी दिए । यसअघि नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएका बेला नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले पनि सो उजुरीबारे छानबिन थालेको थियो । हालै अवकाशमा गएका एआइजी किरण बज्राचार्यलाई माथिबाट दबाब आएपछि दरबार कब्जाको अनुसन्धान रोकिएको थियो । शेरा दरबारको कुलमध्ये एक सय ६१ रोपनी जग्गा अन्नपूर्ण फार्मिङका नाममा छ । दरबारको सम्पत्ति नेपाल ट्रस्टमा गए पनि शेरा दरबार भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको हुन सक्ने बताइन्छ । नुवाकोट मालपोत कार्यालयले दरबारको जग्गा हदबन्दीका कारण रोक्का रहेको जनाएको छ । नारायणकाजी गृहमन्त्री भएका बेला सो जग्गा हिनामिनाको छानबिन गर्न खोजिए पनि तत्कालीन प्रधानमन्त्री दाहालबाटै रोकिएको आरोप छ । स्थानीयवासीले भने अभियुक्त विकेश दाहालको साढुभाइ भएको जनाएका छन् ।
सुरुमा २०३५ फागुन १२ गते दरबार र त्यसले चर्चेको कित्ता नम्बर ८२, ८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५, ९७ र ९८ को १६४–१३–०२–०१ क्षेत्रफल जग्गा गौरीशङ्कर फार्मिङका नाममा नापी भएको नापी कार्यालय नुवाकोटको अभिलेखबाट देखिन्छ । भूमिसुधार ऐनपछि हदबन्दीका कारण दरबार र त्यसले चर्चेका जग्गा राजा महेन्द्रका भाइ अधिराजकुमार वसुन्धराकी श्रीमती हेलेन र विजयाराज्यलक्ष्मी शाहका अंशमा परेको र व्यक्तिका नाममा हदबन्दीका कारण नापी हुन नसकेर गौरीशङ्कर फार्मिङ खडा गरी नापी गराइएको थियो । जग्गा गौरीशङ्कर फार्मिङका नाममा नापी भए पनि त्यसका सञ्चालक र सेयरधनी हेलेन र विजयाराज्यलक्ष्मी नै थिए । वि.सं. २०५२ सम्ममा विजयाराज्यलक्ष्मीका नाममा रहेको कम्पनीको सेयर जयन्ती शाहका नाममा गएको थियो ।
वि.स २०७३ मा विकेशले सेयर लिएपछि नै त्यहाँ अस्थायी र स्थायी संरचना तयार भएको छ । ‘नागरिक’ दैनिक पत्रिकाका अनुसार त्यहाँ दाहालपत्नी सीताका लागि घरसमेत बनाइएको थियो । वि.सं. २०७४ सालसम्म सीता त्यहाँ आउने–जाने गरेकी स्थानीयवासीले बताएका छन् । उनी बिरामी भएपछि आउन सकिनन् । त्यसपछि उनका लागि बनेको घर अहिलेसम्म पूर्ण भएको छैन । त्यसयता केही जग्गा काठमाडौँका मानिसलाई बैना गरेकोसमेत पाइएको छ । फार्मिङ कम्पनीका नाममा बनाइएको बारसहितको जग्गामा आवादी तीन कित्ता मात्र छन् । पाँच कित्तामा पर्ती (सरकार) जग्गा, तीन कित्तामा पोखरी, एक कित्तामा केराबारी र एक कित्तामा बगैँचा रहेको जग्गाधनी स्रेस्ता किताबमै उल्लेख छ । पर्ती, पोखरी, केरा र बगैँचा भएका जग्गा स्वतः सरकारी जग्गा हुने भए पनि ती जग्गासमेत फार्मिङ प्रालिका नाममा नापी भएको पाइएको छ । उक्त स्थानमा नै रानीको दरबारका रूपमा चर्चिएका जग्गा कित्ता नं. ७९, ८० र ८१ (८१ लाई टुक्र्याएर हाल कित्ता नं. १७५२ र १७५३ बनाइएको) छन् भने हेलेनबाट विदुर– ४ बट्टारनिवासी रजनी श्रेष्ठ र वर्षा बस्नेत चित्रकारको संयुक्त नाममा करिब २० रोपनी जग्गा बिक्री गरेको पाइएको छ । उक्त जग्गाका धनीले ८१ नम्बरको कित्ता टुक्र्याएर वसन्तबहादुर बस्नेतलाई गत वर्ष माघ १५ गते नौ आना जग्गा बिक्री गरेको पाइएको छ । विभिन्न समयमा विभिन्न व्यक्तिका नाममा सेयर हस्तान्तरण हुँदै जाँदा अन्नपूर्ण विकेश र उनका छोरा मनोबलका नाममा आएको देखिन्छ । अन्तिममा सबै जग्गा विकेशले अन्नपूर्ण फार्मिङ प्रालिका नाममा नामसारी गरेका कारण अब जफत भएमा उनीसहित दोषीमाथि अनुसन्धान हुनुपर्ने देखिन्छ । पृथ्वीनारायणको शासनकालमा नुवाकोटमा वि.सं. १८१९ मा साततले दरबार र वि.सं. १८२२ मा ग्रीष्मकालीन दरबारका रूपमा शेरा दरबार बनाइएको इतिहास छ ।
गृहमन्त्रीबाट जानकारी
शाहले तत्कालीन समयमा जाडो छल्न बस्न बनाएको शेरा दरबारले चर्चेको हदबन्दीभन्दा बढी जग्गा नक्कली कम्पनी खडा गरी हिनामिना भएको पाइएपछि गृहमन्त्री रमेश लेखकले आइतबार सिआइबी प्रमुख दीपक थापासँग विस्तृत जानकारी लिएका थिए । गृहमन्त्रीले थापालाई गृह मन्त्रालयमै बोलाएर तत्काल विस्तृत अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन् । सिआइबी प्रमुख थापाले भने, ‘शेरा दरबारको जग्गा हिनामिनाबारे गृहमन्त्रीज्यूले वस्तुस्थितिबारे जानकारी लिनुभयो । सिआइबीले हालसम्म गरेको अनुसन्धानबारे जानकारी पनि गरायौँ, अब विस्तृत अनुसन्धान सुरु हुन्छ ।’ थापाका अनुसार शेरा दरबारको हदबन्दीभन्दा बढी एक सय ६४ रोपनी १३ आना जग्गा अवैध रूपमा व्यक्तिका नाममा ल्याउन विभिन्न कम्पनी र त्यसका नक्कली सेयर सदस्यसमेत खडा गरेको पाइएको छ । भूमिसुधार ऐन, २०२१, मालपोत ऐन, २०३४ लागू भएपछि शेरा दरबारले चर्चेको एक सय ८४ रोपनी जग्गा पुस्तैनी सम्पत्तिका रूपमा हस्तान्तरण हुँदै तत्कालीन राजा त्रिभुवनकी छोरी हेलेन र नातिनी जयन्तीका नाममा आएको थियो । हेलेनका नाममा १२ रोपनी र जयन्तीका नाममा ६ रोपनी नौ आना जग्गा नामसारी भएको र हदबन्दीभन्दा बढी रहेको एक सय ६४ रोपनी १३ आना सरकारी स्वामित्वमा आउनुपर्ने भए पनि कृषि उत्पादन गर्ने प्रयोजनका लागि तत्कालीन समयमा गौरीशंकर फार्मिङ कम्पनीले भोगचलन सुरु गरेको पाइएको छ ।
दाहालबाट आपत्ति
माओवादी केन्द्रका अध्यक्ष दाहालले सोमबार झापा पुगेर आफ्नो पार्टीको आलोचना गर्न शेरा दरबारको जग्गामा जोडेर प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । ‘१२–१५ वर्षअघि पार्टी छाडिसकेको मान्छेको जग्गाको विषय ल्याएर माओवादीको मानिस भनेर शेरा दरबारको प्रचार गरिएको छ । योभन्दा बेइमान केही हुन सक्दैन,’ दाहालले भने । एमाले नेताहरूले शेरा दरबारको जग्गा सरकारको भएको बताइरहेका छन् । सरकारको भए तुरुन्तै सरकारका नाममा ल्याउन पनि एमाले नेतृत्वको सरकारलाई दाहालले चुनौती दिएका छन् । ‘ओली सरकारलाई म चुनौती दिन चाहन्छु– शेरा दरबारको जग्गा सरकारको हो भने तुरुन्त सरकारमा ल्याऊ, मेरो पूरै साथ हुनेछ । तर, राजनीतिमा बेइमानी प्रचार नगरौँ,’ अध्यक्ष दाहालले भनेका छन् । तथापि, विकेश अहिले माओवादी केन्द्रमा नभएको बताइए पनि जग्गा आफ्नो कम्पनीमा सार्दा र घर निर्माण गर्दा माओवादी केन्द्रमै रहेको तथ्य भने खण्डन गरिएको छैन ।
दरबारसम्बन्धी तथ्य
नेपाल एकीकरणका समयमा पृथ्वीनारायणले नुवाकोटमा साततले दरबार निर्माण गरेपछि ग्रीष्मकालीन दरबारका रूपमा शेरा फाँटमा शेरा दरबार बनाएका थिए । गर्मीका समयमा रानी बस्ने गरेकाले रानीको दरबार भनेर पनि चिनिने जीर्ण त्यस संरचनालाई पछि जुद्धशमशेरले पुनर्निर्माण गर्न लगाएका थिए । दरबारले चर्चेको जग्गा एक सय ८४ रोपनी भए पनि नापजाँचमा आलीकान्ला कटाएर १७५–८–०–२ क्षेत्रफल देखिएको र २०४९ सालमा (दरबार क्षति हुनुपूर्व चालू अवस्थामा रहँदा) काठमाडाँँै, छाउनीनिवासी बाघबहादुर श्रेष्ठले अन्नपूर्ण कृषि फार्मिङ प्रालिसँग खरिद गरेका थिए । त्यसपछि उक्त दरबारसहित जग्गाको भोगचलन बाघबहादुरका छोरा केदार र ज्वाइँ नरेन्द्र प्रधानले गरेका थिए । उनीहरूले नै उक्त दरबार हेरचाह र आसपासका जग्गामा खेतीकिसानी गर्न हेरालु राखेको र उत्पादित कृषि उब्जनी काठमाडौँ ल्याउने गरेको स्थानीय बासिन्दाले बताए । दरबारमा माओवादीले आगो लगाउँदा विदुर– २ निवासी ज्ञानकुमार डङ्गोलको परिवारले रेखदेख गथ्र्यो । आगोले सबै सम्पत्ति जलेपछि उनीहरू बट्टार विस्थापित भएका थिए । त्यसपछि दरबार भग्न भएको र आसपासको जग्गासमेत बाँझो छ ।
काङ्ग्रेस नेता सुवर्णशमशेर जबराकी पत्नी ललिताका नाममा रहेको ललितानिवास उहिल्यै पञ्चायत सरकारले जफत गरेकामा पछि काङ्ग्रेस नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारले क्षतिपूर्ति दिलाएर सरकारकै अधीनमा राखिएको थियो जसलाई टुक्रा–टुक्रा पारी नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलका छोरा, सर्वाेच्च अदालतका न्यायाधीश कुमार रेग्मी, व्यापारी मीनबहादुर गुरुङलगायतले भागबन्डा गरेको अभियोगमा अदालतले फैसला गरिसकेको छ । शेरा दरबारका हकमा के–कसो हुने हो, स्थानीय जनता र नागरिक समाजले प्रतीक्षा गर्दै छ ।
प्रतिक्रिया