संगम सहकारीको निक्षेप दश प्रतिशतले वृद्धि

संगम सहकारीको निक्षेप दश प्रतिशतले वृद्धि
त्रिशूली प्रवाह
७ महिना अगाडी

बट्टार । नुवाकोट जिल्लाको विदुर-४ बट्टार बसपार्कमा रहेको संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८औं वार्षिक साधारणसभा तथा २८औँ वार्षिकोत्सव सोमबार सम्पन्न भएको छ । सहकारीले आव २०८०/०८१ मा ९.९२ प्रतिशतले निक्षेप वृद्धि गरेको जानकारी सभामा अध्यक्ष केशव मिश्रले गराए । सो वर्ष सहकारीले रु. २९ करोड ६ लाख ४८ हजार ६ सय ९८ निक्षेप सङ्कलन गरेको छ ।

साधारणसभाको उद्घाटन विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले गरेका थिए । उनले सहकारी क्षेत्र चलायमान नभएसम्म देशको अर्थतन्त्र सुधार हुन नसक्ने बताए । उनले नगरभित्रका केही सहकारीमा समस्या भए पनि वित्तीय अनुशासनमा चलिरहेका सहकारीमा बाहिर प्रचार भएजस्तो समस्या नरहेकोसमेत दाबी गरे । सभामा जिल्ला सहकारी सङ्घ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले सरकारले सहकारी संस्थाको नियमन गर्न अध्यादेश ल्याएको नीति सहकारीको हितमा नरहेको बताए । उनले सहकारीको बचत सङ्कलनमा सरकारले अंकुश लगाएको भन्दै असन्तुष्टि व्यक्त गरे । सो सभामा नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष नारायण श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक नुवाकोटका संयोजक वैकुण्ठ मिश्रलगायतले सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्ने उद्देश्यले सरकारले अध्यादेशमार्फत सहकारीसम्बन्धी अध्यादेश ल्याएको बताए ।

सभामा अध्यक्ष मिश्रले प्रतिवेदन प्रस्तुत गर्दै कर तिरेर कुल रु. ११ लाख ६५ हजार तीन सय सात खुद नाफा कमाउन सफल भएको बताए । सो कार्यक्रममा कोषाध्यक्ष शनि चित्रकारले बजेट कार्यक्रम तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८०/०८१ मा सहकारीले रु. २० करोड ७६ लाख ९१ हजार ६ सय ८० कर्जा लगानी गरेको जानकारी दिए । सहकारीले आर्थिक वर्ष २०८०/०८१ मा रु. दुई करोड ६२ लाख २० हजार पाँच सय बचत सङ्कलन गरेको छ । यस्तै, सहकारीको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक प्रतिवेदनअनुसार सेयर पुँजी वृद्धि भई रु. दुई करोड ७३ लाख तीन हजार चार सय पुगेको छ । साधारणसभाको अवसरमा सहकारीले उत्कृष्ट कारोबार गरेको आधारमा विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । सम्मानित हुनेमा बचततर्फ योगमाया श्रेष्ठ, ऋणतर्फ मंगली तामाङ र बाबुनानी बाल बचततर्फ सुहना प्याकुरेल सम्मानित भएका थिए ।

वर्षिकोत्सवको अवसरमा सहकारीले जिल्लास्तरीय हस्तलेखन प्रतियोगिता गरेको थियो । सो प्रतियोगितामा नेपाली विधातर्फ विन्दुकेश्वर माविकी सोनिया तिमिल्सना प्रथम, सुभेनियर बोर्डिङ स्कुलका जस्मिन सेढाईं दोस्रो र सेई बोर्डिङ स्कुल छहरेकी श्रेया तृतीय भएका थिए । सो अवसरमा अङ्ग्रेजी विधातर्फ सुभेनियर बोर्डिङ स्कुलका जस्मिन सेढाई प्रथम, विन्दुकेश्वर माविकी सोनिया तिमिल्सना द्वितीय र नेसनल बेथल एकेडेमीकी सोम्या तामाङ तृतीय भएका थिए । प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई सो कार्यक्रममा नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो । वि.सं. २०५३ साल पुस १५ गते तत्कालीन डिभिजन सहकारी कार्यालय नुवाकोटमा दर्ता भएर स्थापना भई कारोबार गर्दै आएको सहकारीमा हाल २५ सयभन्दा सेयर सदस्य रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह