धुन्चे । चीनसँग सीमा जोडिएको मुलुकको उत्तरी नाका रसुवा जिल्लाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह ७० प्रतिशतभन्दा बढी पूरा भएको छ । चालू आव २०८१/०८२ भित्र सम्पन्न गर्ने गरी निर्माणको काम तीव्र रूपमा भइरहेको छ ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन बन्दरगाहको काम ७२ प्रतिशत पूरा भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले स्थलगत निरीक्षणपछि त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । भोटेकोशी बगरमा सात सय मिटर लामो र साढे पाँच मिटर अग्लो सिमेन्टको पिलरसहित तटबन्ध निर्माण, बन्दरगाह प्रवेश र त्यहाँबाट प्रस्थान गर्ने सहायकमार्गको निर्माण, बगर सम्याउने, गोदामका दुई भवन निर्माण भएका छन् । आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको जनाइएको छ । बन्दरगाहमा संयुक्त निरीक्षणस्थल, गोदाम भवन, तीन सय मालवाहक र एक सय साना सवारीसाधन पार्किङ गर्न सकिनेछ । बन्दरगाह सदरमुकाम धुन्चेदेखि २६ किलोमिटरको दूरीमा रहेको टिमुरे गाउँको भाटेकोशी किनारमा ३० महिनामा निर्माण सम्पन्न गर्ने गरी २०७६ मङ्सिर ४ गते शिलान्यास गरिएको थियो ।
प्रतिक्रिया