धुन्चे । रसुवा जिल्ला, साबिक धुन्चे गाविस-९ नागुङ हाल गोसाइँकुण्ड गाउँपालिका-६ का पासाङ तामाङ चौँरी पालेर नै वार्षिक रु. २० लाखभन्दा बढी कमाइ गरिरहेका छन् । व्यक्तिगत रूपमा ६० चौँरी पालेका उनले पोम्पोला च्यावाचेत चौँरी फर्म दर्ता गरेर २०७१ सालदेखि व्यावसायिक रूपमा चौँरीपालन गरेका छन् । सुरुमा १२ चौँरीबाट सुरु गरेका उनका अहिले ५७ भन्दा बढी चौँरी गोठमा छन् । एउटा बच्चा चौँरीको मूल्य रु. ६० हजार पर्छ । पुख्र्यौली चौँरीपालन पेसालाई निरन्तरता दिँदै यसैलाई नै आयआर्जनको माध्यम बनाई उनले श्रीमती र छोराछोरीको साथ पाइरहेका छन् । उनी भन्छन्, ‘कामअनुसार कमाइ भइरहेको छ ।’
पढाइलेखाइ त्यति नभएको, पैसा कमाउन विदेश गए पनि त्यति नफापेकाले विदेशबाट नेपाल फर्की आफ्नै गाउँमा बाबुबाजेले गरिरहेको चौँरीपालनलाई मन लगाएर मिहिनेत, दुःख मिसाएर अगाडि बढ्दा सुखी र खुसी भएको उनी बताउँछन् । चौँरीपालन गर्न थालेपछि उनलाई कहिल्यै हातमुख जोड्न धौ-धौ भएन । पारिवारिक तथा सामाजिक हिसाबमा खर्च पुगेको छ । गत साल गाईवस्तुमा लाग्ने लम्पी स्किन रोग लागेर १९ चौँरी मरेपछि रु.२१ लाख घाटा लागेको थियो । हाल ५७ चौँरीले दैनिक ९५ लिटर दुध दिन्छन् । उनीँ त्यो सबै ६ महिनासम्म डिडिसीमा पुर्याउँछन् र तीन महिना आफैँले छुर्पी, घिउ बनाउँछन् । उनी तीन महिनाचाहिँ खाली बस्ने गरेको बताउँछन् । उनको मिहिनेत उदाहरणीय भएको गोसाइँकुण्ड गाउँपालिका-६ का वडाध्यक्ष दावासिदार वाइवा बताउँछन् । पासाङ तामाङ भन्छन्, ‘जहाँ गए पनि दुःख त गर्नैपर्ने हुन्छ, म दिनरात लगनशील भएर चौँरीपालन व्यवसाय थप गर्दै लैजान्छु ।’
प्रतिक्रिया