बट्टार । नुवाकोट जिल्ला बट्टारबजारमा रहेको श्रीकृष्ण बचत तथा ऋण परिचालन सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारणसभा तथा ११औँ अधिवेशन शनिबार सम्पन्न भएको छ । उक्त सभाले सहकारीको अध्यक्षमा दीपबहादुर अधिकारीसहित कार्यसमिति निर्विरोध चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा श्रीराम नेपाल, सचिवमा विष्णुहरि रिमाल ‘सत्य’ कोषाध्यक्षमा गजेन्द्र खड्का परमार्थी र सदस्यमा गंगा शाही, बलबहादुर खड्का, शिवराम रिमाल, रामचन्द्र रिमाल, शान्ता रिमाल, देविकादेवी घिमिरे, गौतम घिमिरे रहेका छन् । अधिवेशनले मेनका मिश्रको संयोजकत्वमा किशोर अर्याल र रामशरण अधिकारी सदस्य रहेको लेखा तथा सुपरिवेक्षण समिति चयन गरेको छ । सभामा अध्यक्ष बच्चुमाया सुनारीबाट प्रस्तुत वार्षिक प्रतिवेदन, कोषाध्यक्ष गजेन्द्र खड्का परमार्थीबाट प्रस्तुत आर्थिक प्रतिवेदन तथा अनुमानित बजेट र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक राजेन्द्र तिवारीबाट प्रस्तुत लेखा प्रतिवेदनलाई सर्वसम्मत पारित भएको छ । संस्थामा गत आर्थिक वर्षको असार मसान्तसम्म एक हजार पाँच सय ७१ जना सेयर सदस्यको रु. दुई करोड ९४ लाख ६६ हजार सेयरपुँजी रहेको छ । यस्तै, संस्थाले रु. ११ करोड ३९ लाख बचत सङ्कलन र रु. १० करोड ८१ लाख कर्जा लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । सहकारीले गत आवमा रु. एक करोड ६६ लाख आम्दानी गरेकोमा खर्च कटाएर रु. १७ लाख ६५ हजार नाफा आर्जन गर्न सफल भएको छ ।
जिल्ला सहकारी सङ्घका अध्यक्ष गोकर्ण न्यौपानेले उद्घाटन गरेको सभामा विदुर नगरपालिका सहकारी शाखा प्रमुख नानीमैया नेपाल, जिल्ला बचत तथा ऋण सहकारी सञ्जालका अध्यक्ष नारायण श्रेष्ठ, विदुर नगरपालिका-४ का अध्यक्ष निलमबाबु ढुङ्गेल, बट्टार सहकारी संस्थाका अध्यक्ष टलकमान श्रेष्ठ, ग्लोबल सहकारीका अध्यक्ष रघुनाथ रिमाल, बट्टार किरियापुत्री प्रतिष्ठानका अध्यक्ष मोहनबहादुर खड्कालगायतले अधिवेशनको सफलताका लागि शुभकामना दिएका थिए । वि.सं. २०५५ सालमा स्थापित सहकारीले हाल विदुर-४ बट्टार भीमसेनमार्गमा रहेको आफ्नै भवनबाट सेवा दिइरहेको व्यवस्थापक सुभाष अर्यालले बताए ।
प्रतिक्रिया