विदुर । दर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेड विदुर नगरपालिका-४ नुवाकोटले भाखा नाघेका ऋणीको धितो बन्धकमा राखिएका चलअचल सम्पत्ति लिलामी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । सहकारीको शनिबार सम्पन्न १५औँ वार्षिक साधारणसभाले उक्त निर्णय गरेको उपाध्यक्ष विष्णु प्याकुरेलले बताए ।
सभामा अध्यक्ष राजकुमार तिमिल्सिनाले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा आव २०८१/०८२ का लागि प्रस्तावित सेयरपुँजी वृद्धि, समयअनुकूल ब्याजदर निर्धारण, ऋणी असुलीका लागि कानुनी प्रक्रिया अगाडि बढाइनेलगायतका प्रस्ताव पारित भएको छ । गत आव २०८०/०८१ म सहकारीको कुल सेयरपुँजी रु.८२ लाख ९८ हजार आठ सय, निक्षेप रु.एक करोड ४८ लाख १३ हजार आठ सय ९३, कर्जा लगानी रु. एक करोड ९४ लाख ६ सय ६३ रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । दुई सय १६ पुरुष र ७१ महिलासहित दुई सय ८७ सेयर सदस्य रहेको सहकारीले जिल्ला सहकारी सङ्घ लिमिटेड नुवाकोटको बहुउद्देश्यीय व्यावसायिक भवन निर्माणमा रु. तीन लाख लगानी गरेको छ । सभामा अध्यक्ष तिमिल्सिनाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष सुनील विष्टले आय-व्यय र लेखा समितिका संयोजक उद्धव अधिकारीले प्रस्तुत गरेको लेखापरीक्षण प्रतिवेदन सुझावसहित पारित गरेको सचिव ध्रुवप्रसाद पुडासैनीले जानकारी दिए ।
साधारणसभा तथा पाँचौँ अधिवेशनले पुनः राजकुमार तिमिल्सिनालाई अध्यक्षमा चयन गरेको छ भने अन्य पदाधिकारीको फेरबदल गरेको छ । नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा सुनील विष्ट, सचिवमा विष्णु प्याकुरेल, कोषाध्यक्षमा रामबहादुर खड्का, सदस्यमा ध्रुवप्रसाद पुडासैनी, अर्जुन अधिकारी, प्रह्लाद केसी, शर्मिला उप्रेती, सन्तोषकुमार तामाङ तथा लेखा समिति उद्धव अधिकारी संयोजक र सदस्यमा सुमन भण्डारी, करुणा प्याकुरेल रहेका छन् ।