विदुर । नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. (नुस्कुन) को निक्षेप आव २०८०/०८१ मा ३१७.८७ प्रतिशत (४.१८ गुणा)ले वृद्धि भएको छ । संस्थामा हाल २० वटा संस्था सदस्य र सेयरपुँजी रु. १५ लाख ५५ हजार रहेकोमा विभिन्न बचत कार्यक्रमको कुल निक्षेप वृद्धि भई रु. १७ लाख ७८ हजार ४३ पुगेको शनिबार चौथो वार्षिक साधारणसभामा सेयर सदस्यलाई जानकारी गराइएको थियो ।
जिल्लाभित्रका सहकारी व्यवसायको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय सहकारीका मूल्य, मान्यता र सिद्धान्तका आधारमा सहकारी ऐन, २०७४ र बागमती प्रदेश सहकारी ऐन, २०७६ अनुसार नुवाकोटमा नुस्कुन स्थापना भएको थियो । जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाबिच समन्वय स्थापना गरी सदस्य संस्था स्वयम्द्वारा सञ्चालित एवम् नियन्त्रित भइरहेको छ । सङ्घका अध्यक्ष नारायण श्रेष्ठको सभापतित्वमा भएको सभाको उद्घाटन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि. (नेफ्स्कुन) का अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए । सो कार्यक्रममा जिल्ला सहकारी सङ्घ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपाने, राष्ट्रिय सहकारी बैंकका संयोजक वैकुण्ठ मिश्र, जिल्ला वहुउद्देश्यीय सहकारी सङ्घका सचिव भोजराज घिमिरे, नुवाकोट कृषि सहकारी सङ्घका प्रतिनिधि मञ्जु घिमिरे, राष्ट्रिय सहकारी बैंक नुवाकोट शाखाका प्रमुख मिलन श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखा नुवाकोटका सचिव सुनील श्रेष्ठ, नेफ्स्कुनद्वारा प्रवद्र्धन गरिएको मीरा सफ्टवेयर कम्पनीका सिइओ मनोज तिवारीलगायतले सहकारीको वर्तमान अवस्थाको चित्रण गर्दै समाधानका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए । सचिव नारायण खनालले सञ्चालन गरेको कार्यक्रममा आव २०८१/०८२ को नीति, बजेट तथा कार्यक्रम कोषाध्यक्ष रामराजा श्रेष्ठ र लेखा संयोजक हरिकृष्ण श्रेष्ठले लेखा सुपरिवेक्षणको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि, अतिथि र सहभागीले सरकारबाट जारी अध्यादेशबारे धारणा राख्दै केही सहकारीका बदमासी सञ्चालक, सेयर सदस्य र कर्मचारीलाई कारबाही चलाउनुपर्ने धारणा राखेका थिए ।