आर्थिक मन्दीले बचत तथा ऋण कारोबारमा चुनौती

  • त्रिशूली प्रवाह
  • २६ पुष २०८१, शुक्रबार ११:४४

नुवाकोट । विदुर नगरपालिका-२ इन्द्रचोकमा रहेको शुभप्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सत्रौँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

सभामा सहकारीको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष महेन्द्रलाल श्रेष्ठले देशमा आएको आर्थिक मन्दीका कारण सहकारीले गर्ने बचत तथा ऋण कारोबारमा चुनौती थपिँदै गएको बताए । रु. दुई हजार पाँच सयबाट सुरु गरेको सेयरपुँजी आ.व. २०८०/०८१ को असार मसान्तसम्म आइपुग्दा रु. दुई करोड एक लाख ७० हजार तीन सय पुगेकोसमेत उनले बताए । अध्यक्ष श्रेष्ठले नयाँ वर्ष २०८२ को सुरुवातबाटै संस्थाको कारोबार आफ्नै भवनबाट हुनेसमेत बताए । सहकारीले गत वर्ष अनुमान गरिए भन्दा केही न्यून निक्षेप सङ्कलन गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै, साधारणसभामा २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदनका साथै आर्थिक वर्ष २०८१/०८२ को अनुमानित आय–व्यय र नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोषाध्यक्ष रामराजा श्रेष्ठले सहकारीले रु. आठ लाख ६ हजार ६ सय चार नाफा कमाउन सफल भएको बताए । सहकारीले रु. १९ करोड ५९ लाख ६८ हजार एक सय २३ निक्षेप सङ्कलन गरी रु. १४ करोड ८२ लाख ३९ हजार तीन सय ७८ ऋण लगानी गरेको उनले बताए । सहकारीमा रु. तीन करोड ३१ लाख ८१ हजार दुई सय ४९ रहेकाले तरलता रकम पर्याप्त मात्रामा देखिएको छ ।

साधारणसभामा लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै लेखा सुपरिवेक्षण समितिका संयोजक रविन डङ्गोलले सहकारीलाई कर्मचारी प्रशासन नियमावली पारित गरी प्रयोगमा ल्याउन सुझाव दिए । उनले समस्याग्रस्त ऋण असुलीमा विशेष ध्यान दिनुपर्नेमा समेत जोड दिए । यस्तै, ऋण उपसमितिका संयोजक विश्वप्रह्लाद श्रेष्ठले सहकारीले लगानी गर्दा विशेष ध्यान दिनुपर्ने बताए । साधारणसभाको अवसर पारेर सहकारीले भैरवी माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत छात्र कुशल भट्टलाई नगदसहित सम्मान गरेको छ । सभामा सहकारीले उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणीलाई समेत सम्मान गरेको छ । उक्त सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि अनुमानित आय–व्यय र नीति तथा कार्यक्रम बृहत् छलफल गरी पारित गरेको छ ।