उपकार सहकारीले सेयर सदस्यलाई व्यावसायिक तालिम दिने

  • त्रिशूली प्रवाह
  • २६ पुष २०८१, शुक्रबार ११:५४

विदुर । उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड विदुर नगरपालिका-१ त्रिशूलीको वार्षिक साधारणसभाले सेयर सदस्यलाई व्यवसाय प्रवद्र्धन गर्ने तालिम दिने निर्णय गरेको छ । सहकारीको शनिबार सम्पन्न १५औँ वार्षिक सभाले उक्त निर्णय गरेको सचिव अपार बोहराले जानकारी दिए ।

विदुर नगरपालिकाको सहकारी शाखा प्रमुख नानीमैया नेपालले उद्घाटन गरेको सभामा अध्यक्ष नवराज ढुङ्गानाले पेस गरेको सेयर सदस्य, सहकारी शिक्षा, व्यावसायिक तालिम र नियमित, दैनिक, मासिक, आवधिक बचत गर्नेलगायतको प्रस्ताव पारित गरेको छ । उक्त सभामा उपाध्यक्ष केशवप्रसाद प्याकुरेल, कोषाध्यक्ष राजु श्रेष्ठ, लेखा समितिका संयोजक सुब्बाबहादुर श्रेष्ठले प्रतिवेदन प्रस्तुत गरेका थिए । सो कार्यक्रममा त्रिभुवन त्रिशूली माविका प्रधानाध्यापक महेन्द्र राउत, खानीगाउँ कृषि सहकारी संस्थाको अध्यक्ष राजकुमार केसीलगायतले आर्थिक गतिविधि चलायमान बनाउन सहकारी महत्वपूर्ण रहेको बताएका थिए ।सहकारीले गत आव २०८०/०८१ मा रु. सात करोड ७८ लाख २८ हजार एक सय ८० बचत सङ्कलन र रु. आठ करोड १३ लाख ३९ हजार चार सय सात बचत फिर्ता गरेको छ । अघिल्लो आव २०७९/०८० मा सेयरपुँजी रु. एक करोड ५६ लाख ८२ हजार पाँच सय रहेकोमा गत आव २०८०/०८१ मा रु. नौ लाख ९६ हजार पाँच सय सेयर रकम फिर्ता भएको कोषाध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

गत वर्ष सहकारीले विभिन्न शीर्षकमा रु. ४८ लाख ६६ हजार ऋण लगानी गरी उक्त अवधिमा रु. ९४ लाख ४३ हजार १९ कर्जा असुली गर्न सफल भएको र रु. तीन करोड ५२ लाख ८७ हजार दुई सय ७२ कर्जा लगानी गरेको व्यवस्थापक अरुणकुमार श्रेष्ठले जानकारी दिए । गत आवमा सहकारीले विभिन्न शीर्षकमा रु. ३५ लाख २७ हजार दुई सय ९९ आम्दानी र रु. ५९ लाख ४७ हजार नौ सय १५ खर्च गरेको छ । सहकारीको कुल सेयर सदस्य सङ्ख्या महिला दुई सय ४२, पुरुष दुई सय ९५ सहित पाँच सय ३७ रहेको छ ।