
धुन्चे । तत्कालीन जिल्ला पञ्चायतको मातहतमा रहने गरी वि.सं. २०३२ सालमा निर्माण भएको रसुवा सभाहलमा २०७२ सालको भूकम्पले पूर्ण रूपमा क्षति पु¥याएको थियो । उक्त सभाहल भवन पुनर्निर्माणका लागि स्थानीय र सरोकारवालाले दबाब दिएपछि क्षति भएको झन्डै १० वर्षपछि पुनर्निर्माण सुरु भएको छ । जिल्लाकै गहनाको रूपमा रहेको सभाहल पुनर्निर्माण कार्य सुरु भएपछि सदरमुकामवासी हर्षित भएका छन् ।
सघन सहरी तथा भवन निर्माण आयोजना धादिङको बजेटबाट जिल्ला समन्वय समिति प्रमुख अशोककुमार घिमिरेको विशेष पहलमा सभाहल निर्माण सुरु भएको स्थानीय समाजसेवी पेम्बा तामाङले बताए । जेभी कन्स्ट्रक्सन प्रालि रसुवाले ठेक्का रु. एक करोड ९० लाखमा दुई सयदेखि तीन सयसम्मको क्षमता भएको उक्त सभाहल नमुनायोग्य बन्ने विश्वास रहेको जिल्ला समन्वय समितिका प्रमुख घिमिरेले बताए । तत्कालीन जिल्ला विकास समितिको मातहतमा रहेको सभाहल धुन्चेवासीले घेवा र विवाह गर्ने स्थल थियो । जिल्लाको कुनै पनि सार्वजनिक कार्यक्रम तथा सभा, सम्मेलन गर्ने स्थलसमेत रहेको ठेकेदार छेसिङगी तामाङ लामाले जानकारी दिए । जिल्लाकै गहनाको रूपमा रहेको सभाहल जोकोहीको पनि आँखा पर्ने स्थल हो । विगतमा जिल्लालाई चिनाउने महोत्सव र मेला यही सभाहलमा हुने गरेको थियो । अबका दिनमा पहिलोभन्दा राम्रो बन्ने विश्वास जिल्लावासीले लिएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । गत आवको अन्तिमतिरबाट निर्माण कार्य सुरु गरी ८१ सालको असार मसान्तसम्ममा निर्माण सकिने भनिए तापनि प्राविधिक कारणले समय अपुग हुने ठेकेदार लामाले बताएका छन् । निर्माण कार्यमा संलग्न कामदारले दिनरात नभनी पुसको कठ्याङ्ग्रिने चिसोको पर्वाह नगरी दु्रतगतिमा काम गरिरहेका छन् ।