बाँझा पशुको पहिचान गर्दै

  • त्रिशूली प्रवाह
  • २८ पुष २०८१, आईतवार १६:०५

विदुर । कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनको सहयोगमा नुवाकोटस्थित विदुर नगरपालिका, पशु सेवा शाखाले ‘गाईभैँसीमा हुने बाँझोपन पहिचान र उपचार’ शिविर सञ्चालन गरिरहेको छ । नगरपालिकाले बाँझोपन भएका पशुको पहिचान गरी उपचार गर्ने उद्देश्यले निःशुल्क शिविर सञ्चालन गरिरहेको हो । नगर प्रमुख राजन श्रेष्ठले प्रविधिमार्फत भिडियो एक्सरेका सहयोगमा चिकित्सकले पशुको समस्याको पहिचान गर्ने र निवारणका लागि औषधिसहितको परामर्श सेवा उपलब्ध दिने जानकारी दिए ।

हालसम्म आठवटा वडामा १८ किसानले पालेका २१ गाई र तीन भैँसीमा समस्याको पहिचान भएको छ । ‘किसानले पालेका गाईभैँसीमा बाँझोपनको समस्या भएपछि किसानलाई पशुधनको सुरक्षणमा चुनौती थपिएकाले पालिकाबाट निःशुल्क शिविरमार्फत समस्याको पहिचान र निवारणको प्रयास थालिएको हो,’ उनले भने । शिविरमार्फत किसानलाई आफूले पालन गरेको पशुचौपायाको नियमित जाँच तथा परीक्षण गर्न र आवश्यकताअनुसार खाद्यतत्व उपलब्ध गराउन सजग गराइएको छ । शिविरमार्फत समस्या पहिचान भएका पशुमा खाद्यतत्वको सन्तुलन नहुँदा बाँझोपनको समस्या देखिएको विश्वविद्यालयका उपप्राध्यापक डा. शत्रुधन शाहले जानकारी दिए ।

किसानले उन्नत जातका पशुपालन गरे पनि सोहीअनुसार वासस्थान र खानपान मिलाउन नसकेकाले समस्या आएको जनाइएको छ । पशु चिकित्सक र प्राविधिकको टोलीद्वारा विदुरका किसानले पालन गरेका गाईभैँसीको अल्ट्रासाउन्डमार्फत पाठेघर र डिम्बको अवस्था परीक्षण गरी समस्या पहिचान गरिएको नगरपालिका, पशु सेवा शाखाका प्रमुख डा. सुजाता अधिकारीले बताइन् । उनका अनुसार पशुलाई बाँझो हुनबाट जोगाउन पशु प्राविधिकको सल्लाहमा जुका र नाम्लेको औषधि खुवाउन, खनिज–प्रोटिनलगायत पौष्टिक तत्व पाइने घाँसपातसहितको खुराक खुवाउन किसानलाई सुझाव दिइएको छ ।