ऐतिहासिक पुरातात्विक महत्वको “शेरादरबार” राष्ट्रियकरण प्रक्रियामा

फार्मिङका नाममा कुनै पनि काम नभएको र सुरुमा जग्गा हदबन्दीमा जाँदा कम्पनीका नाममा जग्गा नापी गर्ने आधार केही पनि नलिएकाले सुरु नापीमै खराब नियत रहेको सिआइबीको ठहर छ ।

  • त्रिशूली प्रवाह
  • ३ माघ २०८१, बिहीबार ११:२८

विदुर । नुवाकोट जिल्ला, विदुर– २ स्थित शेरादरबार र त्यसले चर्चेको जग्गा राष्ट्रियकरण गर्नका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ । शेराफाँटस्थित पृथ्वीनारायण शाहकालीन दरबार क्षेत्रले चर्चेको एक सय ८४ रोपनी जग्गामध्ये एक सय ६४ रोपनी १३ आना जग्गाको नापीमै झेलझाल गरिएको पुष्टि भएको छ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरेर नापीकै कैफियत औँल्याउँदै सरकारका नाममा ल्याउन प्रतिवेदन बुझाएको हो ।


प्रधानमन्त्रीलगायत राजकीय पदाधिकारी बस्ने काठमाडौँको मुटुमा रहेको बालुवाटारस्थित ललितानिवासको जग्गा दलका नेता, न्यायाधीश, व्यापारी र बिचौलिया मिलेर बाँडचुँड गरेको प्रकरण सेलाउन नपाउँदै त्यस्तै प्रकरण हिउँद छल्न बनाइएको शेरादरबारमा दोहोरिएको छ । नेपाल एकीकरणपछि बडामहाराजा पृथ्वीनारायणले जाडोका बेला बस्न बनाएको दरबार र त्यस आसपासका जग्गा व्यक्तिका नाममा पुगेपछि सबैको ध्यान केन्द्रित भएको छ । नेकपा (माओवादी केन्द्र)ले वि.सं. २०५२ देखि २०६२ मा गरेको सशस्त्र सङ्घर्षकालमा राजतन्त्रको प्रतीक पाल्पाको सेनदरबार, अछामको मङ्गलसेन दरबार, नुवाकोट, विदुर– २ स्थित शेरादरबार र विदुर– ५ देवीघाटस्थित राष्ट्रनिर्माताको सालिकलगायत ऐतिहासिक महत्वका संरचना ध्वस्त भएको थियो । वि.सं. २०६२/०६३ पछि राजतन्त्र निलम्बनमा पर्दा राजा र राजपरिवारका नाममा रहेका दरबार र जग्गा नेपाल ट्रस्टमा ल्याउने प्रक्रिया सुरु भए पनि शेरादरबार र यस क्षेत्रको जग्गा भने व्यक्तिका नाममा गएपछि यो विषय सतहमा आएको हो । गणतन्त्र स्थापनापछि तत्कालीन राजपरिवारका सदस्यको हदबन्दीभन्दा बढी र स्व. राजा वीरेन्द्रसहित मारिएका सदस्यका नामका अचल सम्पत्ति ट्रस्टमा ल्याइए पनि शेरादरबार र त्यसले चर्चेको जग्गा भने नेकपा (माओवादी केन्द्र)का पूर्वकेन्द्रीय सदस्य तथा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पूर्वसचिवालय सदस्य विकेश श्रेष्ठका नाममा पुगेपछि खोजीनिती सुरु भएको छ ।


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पुरातात्विक महत्वको शेरादरबार र सँगकै जग्गा राष्ट्रियकरण गर्ने प्रक्रिया सिआइबीले जग्गा नापी प्रक्रियामा आँैल्याएको कमजोरी र कानुनी पक्ष तथा अनुसन्धान र सिफारिसलाई आधार मानी अगाडि बढाएको छ । चार महिना अनुसन्धान गरेर सरकारलाई बुझाइएको प्रतिवेदनमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि थप अनुसन्धान गर्ने भएको छ । ‘यो जग्गा सुरुमा सरकारको नै थियो । पछि मात्रै हेलेन शाह र जयन्ती शाहका नाममा गएको हो र उनीहरूका नामबाट कम्पनीका नाममा नापी गरिएको देखिन्छ,’ सिआइबी प्रमुख दीपक थापाले बताए, ‘सुरू नापी नै दूषित देखिएको छ, यसको अनुसन्धान गरी हामीले सरकारलाई प्रतिवेदन बुझाएका छौँ, बाँकी प्रक्रिया सरकारले अगाडि बढाउँछ ।’ फार्मिङका नाममा कुनै पनि काम नभएको र सुरुमा जग्गा हदबन्दीमा जाँदा कम्पनीका नाममा जग्गा नापी गर्ने आधार केही पनि नलिएकाले सुरु नापीमै खराब नियत रहेको सिआइबीको ठहर छ ।


भूमि व्यवस्था मन्त्रालय र भूमि व्यवस्था विभागका अधिकारीहरू दैनिकजसो प्रतिवेदन अध्ययन गरी कानुनी प्रक्रिया अगाडि बढाउन छलफलमा व्यस्त छन् । गत हप्ता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र भूमि व्यवस्था मन्त्रालयका अधिकारीले छलफल गरी आवश्यक समन्वय गरेर अघि बढ्ने निर्णय गरेका छन् । शीतकालीन दरबार र त्यसले चर्चेको जग्गा सरकारको रहेको भनी सिआइबीको अनुसन्धानले प्रस्ट आधार र कारण दिएकाले कानुनी प्रक्रिया अगाडि बढाउन सहज भएको भूमि व्यवस्था मन्त्रालयका सचिव अर्जुन पोखरेलले बताए । गत कात्तिक ४ गते भूमि व्यवस्था तथा सहकारीमन्त्री शेरादरबार क्षेत्रको अवलोकनका लागि नुवाकोट आएका थिए । गत हप्ता भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको तीन सदस्यीय टोली नुवाकोट आएर शेरादरबार र त्यसले चर्चेको जग्गाको थप प्रमाण र विवरण बुझेर गएको नुवाकोटले जानकारी दिएको छ ।
सिआइबीले अनुसन्धान सिध्याएर पेस गरेका विषयमाथि छलफल गरी कानुनी आधार टेकेर सरकारीकरण गर्ने प्रक्रियामा मन्त्रालय अघि बढिसकेको बताइएको छ । ‘सरकारी गर्ने विषयमा दुईमत छैन, अबको केही दिनमा यस विषयले मूर्तरूप लिनेछ,’ मन्त्रालयका एक अधिकारीले भने । उता भूमि व्यवस्था विभागका प्रवक्ता वेदप्रकाश अर्यालले पनि दरबारको जग्गाबारे विभिन्न चरणमा मन्त्रालयमा छलफल भइरहेको बताए । सिआइबीले खासगरी जग्गा सरकारी गर्नुपर्नेमा सुरुमा सरकारकै नाममा रहेको जग्गा पछि हेलन र जयन्ती शाहका नाममा लैजानु र उनीहरूले पनि हदबन्दी बढीको जग्गा कम्पनीमा लान नाप्नका लागि तत्कालीन मालपोत कार्यालयको कुनै स्वीकृति नलिनाले कैफियत रहेको निष्कर्ष निकालेको हो । हेलन र जयन्तीका नाममा सबै जग्गा नहुनु, हदबन्दीका नाममा जग्गा राखेर हडप्नु, सुरुमै हदबन्दीभन्दा बढीको जग्गा कम्पनीले नाप्ने अनुमति नलिनु, कम्पनीका नाममा जग्गा राखेर आफू बाहिरिनु, लामो समय जग्गा प्रयोजनविपरीत रहनु, फार्मिङका नाममा सेयर कारोबार शङ्कास्पद हुनु, हदबन्दीको नियमन गरिपाऊँ भनेर भर्खरै मात्र निवेदन दिनु, सुरुमा जग्गा खरिद नहुनु, कम्पनीका नाममा जग्गा हुनु, तर सेयर कारोबार मात्रै हुनुजस्ता विषयलाई आधार प्रस्तुत गरिएको छ ।


‘सुरुमा २०३५ फागुन १२ गते शेरादरबार र शेरादरबारले चर्चेको कि.नं. ८२, ८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५, ९७ र ९८ जम्मा १३ कित्ताको १६४–१३–०२–०१ क्षेत्रफल जग्गा गौरीशङ्कर फार्मिङका नाममा नापी भएको नापी कार्यालय नुवाकोटको अभिलेखबाट देखिन्छ,’ सिआइबीले दिएको प्रतिवेदनमा उल्लेख छ, ‘भूमिसुधार ऐनपश्चात् हदबन्दीको कारण शेरादरबार र शेरादरबारले चर्चेको जग्गा तत्कालीन राजा महेन्द्रका भाइ अधिराजकुमार बसुन्धराकी पत्नी हेलेन शाह र विजयाराज्यलक्ष्मी शाहको अंशमा परेको र सो जग्गा व्यक्तिको नाममा हदबन्दीका कारण नापी हुन नसकेर गौरीशङ्कर फार्मिङको नाममा नापी गराइनु नै दूषित हो ।’ सुरुमै सरकारका नाममा रहेको जग्गा किन गौरीशङ्कर वा अन्नपूर्ण फार्मिङका नाममा पुग्यो भन्नेबारे भूमि व्यवस्था मन्त्रालय र सिआइबीले प्रश्न उठाएर सो जग्गा सरकारका नाममा ल्याउन लागेका हुन् । दरबारको जग्गा गौरीशङ्कर फार्मिङका नाममा नापी भए पनि फार्मिङका सञ्चालक र सेयरधनी हेलन र विजयाराज्यलक्ष्मी नै थिए । गौरीशङ्कर फार्मिङ नामको संस्था वि.सं. २०२७ फागुन २८ मा स्थापित भएकामा २०३६ असार १ को निर्णयले अन्नपूर्ण फार्मिङमा परिणत भएको देखिन्छ ।


वि.सं. २०४४ असार ११ गतेको तोकआदेशले मालपोत कार्यालयको स्रेस्तामा गौरीशङ्करलाई केरमेट गरेर अन्नपूर्ण फार्मिङ उल्लेख गरिएको थियो । त्यसपछि २०५२ सालसम्म विजयाका नाममा रहेको कम्पनीको सेयर जयन्तीका नाममा गएको देखिएको छ । ‘यहीँनेर कमजोरी देखिएको छ,’ सिआइबी स्रोतले भन्यो । वि.सं. २०५२ मा हेलेन र जयन्तीका नाममा रहेको सम्पूर्ण सेयर नरेन्द्रलाल प्रधान, केदारनाथ श्रेष्ठ, सजनी श्रेष्ठ र सोहिनी श्रेष्ठका नाममा हस्तान्तरण भएको थियो । त्यसपछि २०७३ असार ३ गते सेयर दाखिला खारेजको निर्णयले विकेशबाट सेयर कित्ता सङ्ख्या पाँच लाख ६७ हजार पाँच सयको मूल्य रु. पाँच करोड ६७ लाख ५० हजारमा किनबेच भएको देखिन्छ । त्यसैगरी अजयकुमार सूर्यवंशीका नाममा अर्को सेयर छ । सेयर कित्ता सङ्ख्या चार लाख ६० हजार चार सय १० को मूल्य रु. चार करोड ६० लाख ४१ हजारमा किनबेच भएको देखिन्छ ।
त्यसैगरी विदुर– ४ बस्ने ध्रुवलाल श्रेष्ठको सेयर कित्ता सङ्ख्या ४५ हजारको मूल्य रु. ४५ लाखमा किनबेच भएको देखिन्छ । यसैगरी काठमाडौँ, नागार्जुन– ७ बस्ने सुमन पारिकको कित्ता सङ्ख्या ४५ हजारको मूल्य रु. ४५ लाखसमेत गरी चारजनाका नाममा रु. ११ करोड १७ लाख ९१ हजारमा सेयर खरिद–बिक्री भई जग्गा कम्पनीका नाममा लगेको देखिएको छ । वि.सं. २०८० मङ्सिर १० गतेसम्म उनीहरूमध्ये विकेश र सूर्यवंशी यथावत् रही विकेशका छोरा मनोबल सेयर कित्ता सङ्ख्या ९० हजारको मूल्य रु. ९० लाख नयाँ सेयरधनी ल्याइएको थियो । हाल सेयरधनी तीनजना मात्रै रहेका छन् । सोको सेयर कारोबारमा पनि शङ्कास्पद रहेको सिआइबीको ठहर छ । सरकारले पुरातात्विक महत्वका जग्गा र दरबारका विषयमा खोजतलास गर्दा नै शेरादरबारको जग्गा कम्पनी र व्यक्तिका नाममा गएको पाइएपछि अनुसन्धान सुरु गरेको थियो । सिआइबीले थप अनुसन्धान प्रक्रियाका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि गुहारेको छ । सिआइबीका प्रमुख एआइजी थापाका अनुसार मालपोत अधिकृत, भूमिसुधार विभाग र तत्कालीन समयमा मन्त्रालयमा कार्यरत कर्मचारीको संलग्नताबारे थप अनुसन्धान गर्न आयोगलाई पनि पत्राचार गरिएको हो ।


शेरादरबारमा वि.सं. २०३८ मा पुगेका इतिहासकार प्रा. दिनेशराज पन्तका अनुसार जुद्धशमशेरले पुनर्निर्माण गरेको र उनैले ‘शेरा’ नाम दिएको सो दरबारको चित्र यस्तो छ, ‘सेतो रङको थियो दरबार । दरबार वा घर जे भन्न पनि मिल्ने त्यो सानो भवन थियो । मानिसहरू भन्थे– त्यो श्री ३ जुद्धशमशेरको सम्पत्ति हो ।’ नुवाकोटका काङ्ग्रेस नेता एवम् पूर्वमन्त्री तथा प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अर्जुननरसिंह केसीका सम्झनामा दरबार सुन्दर वास्तुकलाले निर्मित थियो । वि.सं. २०१४ मा देखेको दरबारको चित्र उनको मस्तिष्कमा अङ्कित छ । ‘तादीको किनारबाट हिँडेर नुवाकोट सदरमुकाम जाँदा त्यो व्यवस्थित दरबार देखिन्थ्यो । खासमा त्यो एक हवेली थियो,’ केसी भछन्, ‘एकपटक हेलेन शाहले डिनरमा बोलाउँदा म गएको थिएँ, ०४८ सालतिर । दरबार ठुलो थिएन । त्यसलाई मान्छेहरू ‘शेराको हवेली’ भन्थे । त्यस घरभन्दा माथि र दरबारभन्दा तल अनुभव हुने भवन थियो ।’


इतिहासकार धनवज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठको किताब ‘नुवाकोटको ऐतिहासिक रूपरेखा’मा वर्णन गरिएको दरबार–कथाले फरक संसारमा पुर्याउछ । दरबारमा अनेक फूलको बगैँचा ‘कुसुमबाटी’ थियो । सायद त्यसैले दरबार क्षेत्रलाई ‘शेरा बगैँचा’ भनियो, जहाँ भव्य आँपको पनि बगैँचा थियो । पृथ्वीनारायणले कान्तिपुरमाथि विजय हात पारेपछि त्यो सहर राजधानी घोषित भयो । उनको मुकाम कान्तिपुरमै भयो । उनी चाहन्थे– नुवाकोटको अवस्था कहिल्यै नबिग्रियोस् र सहर गुल्जार रहिरहोस् । त्यस हेतुले उनले केही विशेष प्रशासनिक नियम बनाएका थिए । ‘त्यसअनुसार नुवाकोटभरिका जनताका घरजग्गामा सरकारतर्फबाट हस्तक्षेप नगर्ने, नुवाकोट छोडी कोही अन्त बस्न गयो भने त्यसले खाइपाइ आएको घर–खेत अरू नयाँ बस्न आउनेलाई दिलाउने, घर–घडेरी पाताल हुन नदिने, बारी धेरै हुनेको काटी अरूलाई घर बनाउन दिने, सहर गुल्जार राख्ने, नुवाकोटका मानिसले अन्त झारा जानु नपर्ने आदि नियम थिए,’ कृतिमा उल्लेख छ । कुनै पुरानो कालखण्डतिर चियाउने हो भने शेरादरबारको परिदृश्य पूरै फरक देखिन्छ । त्यो गुल्जार दरबारको कथा मिथक वा किंवदन्तीजस्तै सुनिन सक्छ ।


पृथ्वीनारायणले नुवाकोट जितेको लामो कालपछि वि.सं. १८२२ मा शीतकालीन दरबारका रूपमा नुवाकोटमा शेरादरबार निर्माण गरेका थिए । नुवाकोटको साततले दरबार ग्रीष्मकालीन दरबार थियो । इतिहास भन्छ– उनी ग्रीष्ममा नुवाकोट डाँडाको साततले दरबार र हिउँदमा तादी किनारको शेराबेँसी दरबारमा बस्थे । इतिहासकारहरू लेख्छन्– जीवनको उत्तराद्र्धमा उनले ‘दिव्योपदेश’ यही तादीकिनारको शेरादरबारबाट दिएका थिए । राजा राजेन्द्रविक्रम शाह र रानी साम्राज्यलक्ष्मीदेवी वि.सं. १८९७–९८ मा नुवाकोट घुम्न जाँदा शेरादरबारमै वास बसेका थिए । वि.सं. १९०३ मा शेराबेँसी दरबार भत्कियो । त्यसलाई जुद्धशमशेरले वि.सं. १९९९ मा दरबारकै इँटा प्रयोग गरेर पुनर्निर्माण गरेका थिए । द्वन्द्वका वेला माओवादीले वि.सं. २०५९ पुस १२ मा त्यो तीनतले पुरानो दरबारमा आगो झोसे । आगाले दरबारका केही संरचना खरानी बनायो । आगो लाग्दा दरबारका सञ्चालक थिए– नरेन्द्रलाल प्रधान र केदारनाथ श्रेष्ठ ।


‘नुवाकोटको ऐतिहासिक रूपरेखा’ किताब र ‘श्री ५ पृथ्वीनारायण शाहको नुवाकोट–माडी दरबार’ आलेखमा विद्वान्द्वय वज्राचार्य र श्रेष्ठले त्यस दरबारको उत्थान र पतनबारे लेखेका छन् । आलेखमा पृथ्वीनारायणकालीन शेरादरबारको बन्दीखानाको वर्णन छ, ‘दरबारमा भुइँमा निकै तलसम्म खनेर चारपाटे कोठाजस्तो बन्दीखाना बनाइएको थियो । यसको माथिल्लो भाग खुलै छाडिएको थियो । कैदीलाई पटुकाले कम्मरमा बाँधी तल पु¥याइन्थ्यो र त्यसैगरी तानेर माथि ल्याइन्थ्यो । बर्खामा पानी र हिउँदमा शीतबाट बचाउन छतका रूपमा पाल हालिन्थ्यो ।’ उहिलेको टिपोटमा नुवाकोट शेराबेँसीको शेरादरबारलाई नेपाल भाषामा ‘शेरा व्यांसी लायकु’ लेखिएको छ । लायकुलाई यसरी अथ्र्याइन्छ– लायकु अर्थात् राजकुल वा लालकुल । लालकुलबाटै लायकु शब्द व्युत्पत्ति भएको हो । त्यो कथामा कस्तो थियो– शेरादरबार ः तादी किनारपट्टिको दक्षिण द्वारबाट शेरादरबारभित्र पसेपछि पूर्वपट्टि एक निकै गहिरो इनार थियो । इनार निर्माणमा प्रयोग भएका इँटा तीनकुने आकारका र आधा भाग मात्रै पोलिएका थिए । मानिसहरूको विश्वास थियो– पानी छान्न सहज होस् भनेर इँटा आधा मात्रै पोलिएको हो र त्यो विधिले पानी स्वादिलो र सफा पाथ्र्यो । कमलपोखरीको पूर्वपट्टि बैठक कक्ष थियो । त्यसलाई त्यसबेला कचहरी–घर पनि भनिन्थ्यो ।


नुवाकोट विजयपछि पृथ्वीनारायण शाह पूर्वतिर बढ्ने योजनामा थिए । त्यसबेला उनी केही समय नुवाकोट डाँडाको मल्लकालीन दरबार ‘रंगमहल’मा बसे । वि.सं. १८१९ तिर उनले नुवाकोट–डाँडोमा भव्य साततले दरबार बनाउन लगाए । तादीकिनारको शेरा बगैँचामा पनि मल्लकालदेखि नै एउटा राजभवन थियो । वि.सं. १८२२ मा पृथ्वीनारायणले तादी किनारमा पनि भव्य दरबार बनाउन लगाए । त्यसताका उनी कीर्तिपुर विजयको योजनामा थिए । त्यसबेला उनी नुवाकोटमा थिएनन् । त्यसैले नुवाकोटमाडी दरबारको निर्माण तत्कालीन युवराजाधिराज प्रतापसिंह शाहको देखरेखमा भएको थियो । त्यसो हुनाले त्यहाँ रहेको शिलालेखमा प्रतापसिंह शाहको विशेष वर्णन छ । त्यहाँ फागुको उत्सवमा नुवाकोटका प्रजाहरूसाथ सम्मिलित भई प्रतापसिंह शाहले गाना गाएको चर्चा अभिलेखमा छ । त्यस शिलालेखमा दरबारलाई पर्खालले घेरेको वर्णन छ । शिलालेखमा रंगमहल बनाएको वर्णन पनि छ, जसलाई स्थानीय बासिन्दा ‘कचहरी घर’ पनि भन्दा रहेछन् ।


कृतिका अनुसार पृथ्वीनारायणले जनतालाई ‘दिव्योपदेश’ दिएको यो त्यही शेरादरबार थियो, जहाँ उनी शीतकालमा आराम गर्थे । एकीकरण अभियानपछि पृथ्वीनारायणले नुवाकोटलाई राजधानी घोषण गरे । ठेगाना ‘मुकाम नुवाकोट’ लेखिएको उनले पठाएका पत्रहरू पाइन्छन् । हिउँदमा लेखिएका पत्रहरूमा ‘मुकाम नुवाकोट माडी’ र अरू बेलाका पत्रमा चाहिँ ‘नुवाकोट’ मात्र लेखिएको इतिहासकारले उल्लेख गरेका छन् । तादीकिनारको नुवाकोटमाडी (शेरा बगैँचा इलाका) उही बेलादेखि व्यापारको केन्द्र थियो । यहाँ मधेशका व्यापारी हिउँदमा व्यापार गर्न आइपुग्थे र यहीँ थियो– विशेष भन्सार अड्डा । त्यसैले नुवाकोटमाडी हिउँदमा विशेष आकर्षणको केन्द्र थियो ।


नुवाकोटका वृद्धहरू अझै भन्छन्– पृथ्वीनारायण हिउँदमा शेराबेँसी दरबारमा बस्थे । उनले एकीकरण अभियानमा जाँदा नुवाकोट राजधानीमा युवराज प्रतापसिंहलाई स्थानीय प्रशासनको अभिभारा सुम्पिएका थिए । दरबार बनाउँदा उनी नुवाकोट थिएनन्, कीर्तिपुर विजय अभियानमा थिए । त्यसैले यो दरबार निर्माणको सम्पूर्ण काम प्रतापसिंहले हेरेका थिए । कृतिमा उल्लेख भएअनुसार प्रतापका भाइ बहादुर शाहको कर्मक्षेत्र नुवाकोट थियो । त्यसैले उनी बरोबर नुवाकोटको माडी दरबारमा गई बसिरहन्थे । नेपाल–चीन युद्ध भई चिनियाँ फौज रसुवाको धैबुङसम्म आइपुग्दा आक्रमण रोक्न अत्यावश्यक प्रबन्धका लागि बहादुर माडी दरबारमै बसेका थिए । बहादुरले चीन–गोरखाबिचको असमझदारीमा सहजीकरण गर्न बेलायती सरकारले मध्यस्थकर्ताका रूपमा पठाएका कर्क प्याट्रिकलाई त्रिशूली किनार (साँघुनेरको ठाउँ, जसलाई ढुङ्गे भनिन्छ) मा भेटेका थिए ।
सानै छँदादेखि दरबारको सो जग्गाबारे सधैँ जिज्ञासु रहे– ‘कान्तिपुर टेलिभिजन’का नुवाकोट संवाददाता राजकृष्ण श्रेष्ठ । त्यो जिज्ञासा अझै उस्तै छ, अझै उल्झनमै छन् । उनका सम्झनामा माओवादी आक्रमणपछि शेरादरबार केही समय वनभोजस्थलका रूपमा रह्यो, केही समय बाली विज्ञान पढाइयो– कृषि क्याम्पसका रूपमा र केही समय पुनस्र्थापना केन्द्र पनि थियो । काठमाडौँबाट छोटो दूरीमा यति विशाल फाँट छ । सबै कुराको पहुँच यहाँ सहजै हुन्छ, त्यसैले धेरै शक्तिकेन्द्रको आँखा लागेको हो यस जग्गामा । थुप्रैको चहलचहल देखिन्थ्यो जग्गा सट्टापट्टा गर्न मालपोत कार्यालयमा, नामसारी गर्न हाकिम पनि परिवर्तन गरिएको थियो । ‘मालपोतमा गाइँगुइँ सुनिन्थ्यो– यो जग्गा पास गर्न सीता दाहाल नै यहाँ आउनुभएको थियो,’ उहाँ भन्नुहुन्छ । शेरादरबारको चौरमा वनमारा झार होइन, कमलको फूल फूलिरहेको कमलपोखरी र कृषि–कर्ममा तल्लीन किसानलाई देख्न चाहन्छन् यहाँ भेटिएका मान्छेहरू । नुवाकोट सरोकार समाजका रामलाल श्रेष्ठ, जो यही दरबारपरिसरमा भेटिए, भनिरहेका थिए, ‘कति सुन्दर हुन्थ्यो यहाँ फेरि कमल फुले, यो बगैँचा फूल र फलले भरिए अनि कृषकले खेती गरिरहेको भेटिए…। तर, राजनीति र शक्तिको रस्साकसीले त्यो सपना सायद अधुरै रहला ।’