
काठमाडौं । नुवाकोट जिल्लाको विदुर– १ त्रिशूलीबजारबाट राजधानीमा बसोबास गर्दै आएका समुदायले सञ्चालन गरिरहेको त्रिकास बचत तथा ऋण सहकारी संस्थाको १७औँ साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ ।
अधिवेशनमा अध्यक्षसहित सञ्चालक समितिका पदाधिकारी र सदस्य सर्वसम्मत भए पनि लेखा समिति संयोजक पदमा भने निर्वाचन गराउनुपरेको थियो । चारवर्षे कार्यकालका लागि अध्यक्षमा पुनः अनिलकुमार श्रेष्ठ निर्वाचित भएको निर्वाचन अधिकृत गंगाराम खनालले जानकारी दिए । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुरेशबहादुर श्रेष्ठ, सचिवमा देशभक्त प्रधान र कोषाध्यक्षमा राजेन्द्रकुमार प्रधान, सदस्यमा लक्ष्मणलाल श्रेष्ठ, बिहारीलाल श्रेष्ठ र कृष्णमाया श्रेष्ठ रहेका छन् । साधारणसभामा लेखा समितिको संयोजकका लागि भएको निर्वाचनमा राजुबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । उनले एक सय २१ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी मनोहरकृष्ण प्रधानाङ्गले ४७ मत पाएको निर्वाचन अधिकृत खनालले जानकारी दिए । यस्तै, लेखा समितिको सदस्यमा सुरेन्द्रगुप्त रञ्जित र प्रदीपरत्न शाक्य भने निर्विरोध निर्वाचित भएको उनले जानकारी दिए । निर्वाचित सञ्चालक समिति तथा पदाधिकारीलाई निर्वाचन अधिकृत खनालले पद तथा योपनीयताको शपथग्रहण गराएका थिए । यसअघि भएको साधारणसभामा संस्थाका अध्यक्ष अनिलकुमार श्रेष्ठले वार्षिक प्रतिवेदन पेस गर्दै देशभरका सहकारी संस्थामा देखिएको आर्थिक अपचलन र व्यवस्थापनका समस्या भए पनि त्रिकास त्यस्तो समस्याको सामना गर्नु नपरेको बताए । उनले सहकारी ऐन, नियमावलीअनुसार इमानदारी र पारदर्शिताको भावनाअनुरूप सहकारी अघि बढिरहेकासमेत बताए । अध्यक्षको प्रतिवेदनअनुसार सहकारीले आर्थिक वर्ष २०७९/०८० मा रु. १३ करोड ८५ लाख ५५ हजार एक सय ६४ कुल कारोबार गरेकोमा आर्थिक वर्ष २०८०/०८१ मा रु. १५ करोड ५२ लाख ९५ हजार कारोबार गर्न सफल भएको उल्लेख छ ।
संस्थाले आगामी वर्षका लागि सेयरपुँजीलाई निरन्तर रूपमा वृद्धि गर्दै लाने, सुरक्षित क्षेत्रको पहिचान गरी ऋण लगानी गर्ने, सहकारीको नियमअनुसार आवश्यक कोष खडा गर्ने, सहकारीका सदस्यलाई समय–समयमा सहकारी शिक्षासम्बन्धी तालिम सञ्चालन गर्नेलगायतका कार्यक्रम गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ । सभामा संस्थाका कोषाध्यक्ष राजेन्द्रकुमार प्रधान र लेखा संयोजक राजुबहादुर श्रेष्ठले प्रस्तुत गरेको आय–व्यय र लेखा परीक्षण प्रतिवेदन पारित भएको छ । व्यवस्थापक विमलचन्द्र प्रधानले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सुरेशबहादुर श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको उद्घाटन त्रिशूली बचत तथा ऋण सहकारी संस्था लि. विदुर– १ त्रिशूली नुवाकोटका अध्यक्ष हरिलाल श्रेष्ठले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका श्रेष्ठले उद्घाटनको क्रममा त्रिशूली सहकारी र त्रिकास सहकारी एक–आपसमा एउटै भावना र उद्देश्यका साथ सहकार्य गर्दै अघि बढिरहेको बताए । पछिल्लो समय त्रिकास सहकारीले प्रगति गरिरहेकामा खुसी व्यक्त गर्दै सेयर सदस्यलाई आफूले बचत गरेको सहकारीको अवस्थाबारे बेला–बेलामा जानकारी लिन आग्रह गर्दै तिर्नुपर्ने व्याज समयमा तिरेर जरिवानाबाट जोगिन सुझाव दिए ।
कार्यक्रममा सहकारीका सेयर सदस्यका छोराछोरीमध्ये एसइई २०८० मा उत्कृष्ट अङ्क ल्याउने एकजना छात्र र एकजना छात्रालाई सहकारीको तर्फबाट नगद रकमसहित सम्मान गरिएको थियो । सेयर सदस्य समुन्द्र श्रेष्ठकी छोरी शृङ्गार श्रेष्ठले ३.८३ जिपिए र सचिव देशभभक्त प्रधानका छोरा प्रसन्न प्रधानले ३.६९ जिपिए प्राप्त गरेकोमा सम्मान गरिएको थियो । सभामा सबैभन्दा धेरै निक्षेप जम्मा गर्ने निक्षेपकर्ता र असल ऋणीलाई पनि सम्मान गरिएको थियो । काठमाडौं महानगरपालिका वडा नं १५, १६, १९, २६ र २ लाई कार्यक्षेत्र बनाई नयाँबजार खुसिबुमा कार्यालय रहेको सहकारीमा कुल सेयरपुँजी रु. दुई करोड १७ लाख १४ हजार रहेको छ भने दुई सय ८५ जना सेयर सदस्यमा एक सय ५८ पुरुष र एक सय २७ महिला रहेका छन् ।