
समुन्द्रटार । दुप्चेश्वर गाउँपालिकाले स्थानीय किसानलाई किवी प्रशोधन गरी जाम र वाइन उत्पादन गर्न सहयोग गरेपछि फलबाट भन्दा जाम उत्पादन गरेर बिक्री गर्दा दोब्बर आम्दानी भइरहेको छ । गाउँपालिकाको प्राविधिक सहयोगमा उत्पादन गरिएका जाम र वाइन स्थानीय बजारमा राम्रो बिक्री भइरहेको छ । दुप्चेश्वर मन्दिर दर्शन गर्न एवम् यस क्षेत्रमा भ्रमण गर्न आउनेले कोसेलीको रूपमा किवीको जाम र वाइन लाने गरेको समुन्द्रटारका व्यवसायी रामचन्द्र थापाले बताए ।
पालिकाले ‘पोस्ट हार्वेस्ट मूल्य शृङ्खला अभिवृद्धि कार्यक्रम’मार्फत वडा नं. २ कडेनीका किसानबाट उत्पादन भएको किवीको गाउँमै प्रशोधन गरेर जाम बनाउन सुरु भएको पालिका अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिए । उनका अनुसार बजारमा फलभन्दा जाम उत्पादन गरेर बिक्री गर्दा किसानले दोब्बर बढी आम्दानी पाइरहेका छन् । किवीको बित्रीबाट किसानले प्रतिकेजी रु. दुई सय ५० सम्म पाएका छन् । सोही परिमाणको किवीको प्रशोधन गरेर तयार गरिएको जामबाट दोब्बर लाभ लिएका छन् । ‘किसानले व्यावसायिक रूपमा गरेको किवी खेतीको उत्पादित फल जिल्लाको बजारदेखि राजधानी काठमाडौँसम्म लगेर बिक्री गर्दा भोगिरहेको समस्या समाधानका लागि पालिकाबाट आवश्यक सहयोगका कार्यक्रम ल्याएका छौँ,’ अध्यक्ष थापाले भने, ‘किवीको व्यावसायिक उत्पादनमा पुर्याउदै आएको सहयोगपश्चात् उत्पादित फललाई ग्रेडिङ गरेर जाम र वाइन बनाउन किसानलाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइएको छ ।’ यहाँका किसानले अर्गानिक खेती प्रणालीबाट किवीको उत्पादन गरेका छन् । उक्त फलबाट बनाएको जाम स्थानीय बजारमा माग बढिरहेकाले किसानले राम्रो आम्दानी र बिक्रीका लागि सहज भएको छ । दुप्चेश्वर महादेव मन्दिर दर्शनका लागि आउने तीर्थयात्रीलाई किवीबाट बनेको जाम मागअनुसार उपलब्ध गराउन नसकिएको गाउँपालिकाको कृषि शाखा प्रमुख सुदेश सुवेदीको भनाइ छ ।
किवीको आकारअनुसार स्तर निर्धारण (ग्रेडिङ) गर्दै ठुला र आकर्षक फल बिक्रीका लागि बजार पठाइन्छ । बाँकीलाई उपभोक्ताको मागअनुसार जाम र वाइन बनाउन प्रयोगमा ल्याइएको छ । त्यसका लागि किसानलाई तालिम र प्राविधिक सहयोग पालिकाले उपलब्ध गराएको कृषि शाखा प्रमुख सुवेदीले जानकारी दिए । ‘हरेक वर्ष एक सिजनमा उत्पादन हुने फल (किवी) बजारको प्रतिस्पर्धाले किसानले राम्रो लाभ लिन समस्या भएपछि गाउँपालिकाले यसै वर्षदेखि फललाई परिकारमा रूपान्तरणको योजना ल्याइएको हो,’ उनले भने, ‘उपभोक्ताको मागअनुसार जाम बनाउन प्राथमिकता दिइएको छ । आगामी वर्षदेखि जुस, सुकुटी, क्यान्डी, अचारलगायतको उत्पादनलाई समेत प्रयोगमा ल्याउने लक्ष्य लिइएको छ ।’ किवीबाट उत्पादन गरिएका जाम र वाइनको खाद्य तथा गुणस्तर मापन हुन भने बाँकी छ । त्यसका लागी पालिकामार्फत पहल अघि बढाइएको छ । स्थानीय स्रोत र साधनको उपयोग एवम् छोटो अवधिको तालिम लिएका जनशक्तिबाट न्यून लागतमा तयार गरिएको जामलगायतका परिकारको ‘ब्रान्डिङ’ गुणस्तरीय प्रमाणित भए किसानले राम्रो लाभ लिन सक्नेछन् ।
सेवनयोग्य परीक्षणको प्राप्त नतिजामा आवश्यकताअनुसार सुधार गरेर सबलीकरण कार्यक्रममार्फत किसानलाई व्यावसायिक उत्पादनमा संलग्न गराउने लक्ष्य गाउँपालिकाले लिएको कृषि शाखा प्रमुख सुवेदीको भनाइ छ । दुप्चेश्वर गाउँपालिका– २ गाउँखर्कसहित यहाँको विभिन्न वडाका बस्तीहरूमा किवीको व्यावसायिक खेती गरिएको छ । दुप्चेश्वर गाउँपालिकाले गत वर्ष जङ्गलमा खेर गएका लालीगुराँस सङ्कलन गरेर जुस उत्पादन सुरु गरेको थियो । सोही कार्यक्रम सफल भएसँगै उत्साहित भएको पालिकाले यो वर्ष किवीको उत्पादनलाई बहुपरिकारमार्फत किसानलाई लाभ पुर्याउन थप कार्यक्रम सञ्चलानमा ल्याएको हो ।