स्वस्थानी व्रतकथा पुस २९ गतेबाट सुरु भएर माघ शुक्ल पूर्णिमासम्म मनाइँदै छ । हिन्दु धर्मावलम्बीले चोखो बसी घरमा स्वस्थानीको पूजा-आराधना गर्नुका साथै कथा सुन्ने र सुनाउने चलन छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानीको कठोर व्रत बसेको र मनोकाङ्क्षा पूरा भएको विश्वासमा स्वस्थानीको व्रतकथा प्रचलनमा आएको पाइन्छ । यसमा खासगरी व्रतालु महिलाले पौष शुल्क पूर्णिमाको दिन बिहानै हातखुट्टाको नङ काटेर, स्नान गरी चोखो लुगा लगाएर मध्याह्नमा महादेवको पूजा गरी व्रत सुरुवात गर्छन् ।
यसर्थ माघ शुक्ल पूर्णिमासम्म व्रत अवधिभर व्रतालुले एक छाक चोखो खाई एक सय आठ पान, एक सय आठ कुड्का सुपारीलगायत सामग्रीले स्वस्थानीको पूजा गर्ने प्रचलन छ। सो व्रत समाप्तिको दिन ती रोटी, पान सुपारी श्रीमान्लाई, श्रीमान् नभए छोरालाई, छोरा नभए मीत छोरालाई, मीत छोरा पनि नभए मेरो इच्छा पूरा होस् भनेर नदीमा विसर्जन गरी बाँकी आफूले खाने चलन छ । यो स्वस्थानीको व्रत बस्नाले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगव्याध पनि नष्ट हुने विश्वास गरिन्छ । यसमा खासगरी काठमाडौँको साँखुस्थित शालीनदी, पशुपति, गौरीघाट, सतीदेवीको अङ्गपतन भएको मानिने धार्मिकस्थल तथा महादेव मन्दिरमा श्रद्धालुको घुइँचो लागेको छ । ती स्थानहरूमा माघभर मेला लाग्छ । स्वस्थानी भगवतीको व्रत, पूजा र कथा नेपालीको घरघरमा पनि गरिन्छ । नेपालबाहिर गएका प्रत्येक नेपालीले पनि एउटा परम् पवित्र सांस्कृतिक, धार्मिक, पारिवारिक, पारस्परिक पर्वको रूपमा मनाइने स्वस्थानी व्रतकथा हो । यो नेपालमा स्वस्थानी भवगतीको पूजाको ठुलो महत्त्व छ । यस व्रतको प्रभावले अखण्ड सौभाग्य, उत्तम पति, ऐश्वर्य एवम् शिवशक्तिको कृपा पाउन स्वस्थानी भगवतीको पूजन नितान्त जरुरी देखिन्छ । स्वस्थानीको पूजा ठुलो उत्साह, उल्लास र समारोहका साथ गरिन्छ । स्वस्थानी भगवतीको व्रतकथामा जम्मा ३१ अध्याय छन् । यसलाई प्रत्येक घरले प्रतिदिन एक अध्यायलाई नियमपूर्वक कथा भन्ने र सुन्ने गरिन्छ । यो कथा एक महिनामा सक्नुपर्छ । नसकिएमा कुनै दिन दुई–दुई अध्याय भनेर पनि सक्नुपर्छ ।

वि.सं. २०८१ पुस २९ गतेदेखि एक महिना लामो श्री स्वस्थानी व्रतकथा शुभारम्भ भएको छ । ‘यं ब्रह्मा वरुणेन्द्र रुद्रमरूतः स्तुन्वन्ति दिव्यैः स्तवै’… म कनीकुथी पढ्न सुू गर्थेँ । आमा किताब नै नहेरी लय मिलाएर श्लोक भन्नुहुन्थ्यो । हामी कसैलाई पनि आमाले क, ख पनि सिकाउनुभएन । त्यसैले हामीलाई कहिल्यै लागेन, आमा पढ्न जान्नुहुन्छ । स्वस्थानी वाचनको सुरुवातमा वा अन्त्यमा भन्नुपर्ने श्लोकमा जब मेरो जिब्रो लट्पटिन्थ्यो, आमा सच्याइदिनुहुन्थ्यो । म छक्क परेर आमाको मुखतिर हेर्थेँ । उहाँ एकचित्त भएर फूल लिई हात जोडेर बस्नुहुन्थ्यो र मधुर आवाजमा लयबद्ध पाठ गरिरहनुहुन्थ्यो । म चार–पाँच कक्षा पढ्दादेखि नै आमा स्वस्थानी पाठ पढ्न लगाउनुहुन्थ्यो, म जानी–नजानी पढ्ने गर्थेँ । कुनै अप्ठ्यारा शब्दमा जब म अल्झिन्थँे तब आमा हेर्दै नहेरी भनिदिनुहुन्थ्यो । त्यस समयकी निरक्षर आमा स्वस्थानी कथाका श्लोक तथा अन्य भित्री कथा पनि मुखाग्र भन्नुहुन्थ्यो । पौषशुक्ल पूर्णिमाका दिनदेखि माघशुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानीको व्रत बस्ने, उपासना गर्ने तथा कथा वाचन गर्ने प्रचलन छ । यस समयमा विशेषगरी व्रतालु महिलाको राजधानीनजिकैको शालीनदीलगायत आफ्नै घरनजिकका नदी, खोला तथा तलाउमा नुहाउने तथा पूजापाठ गर्ने भिड लाग्ने गर्छ । महिला, पुरुष जोकोही पनि व्रत बस्न सक्ने भनिए पनि कथामा हिमालयकी पुत्री पार्वती, अप्सरा, गोमा, चन्द्रावतीलगायत महिला व्रत बसेका प्रसङ्ग आउनु तथा पार्वतीले महादेव पति पाउन गरेको व्रतले पनि स्वस्थानीमा महिलाको चासो बढी देखिन्छ । व्रतपछि विछोडिएका पतिपत्नीको भेटका प्रसङ्गका कारण पनि स्वस्थानी व्रतलाई योग्य पति पाउन वा विछोडिएकाको मिलन गराउने शक्तिका रूपमा लिने गरिन्छ । व्रत बस्नाले सुख, समृद्धि तथा सन्तान प्राप्ति हुनेजस्ता फल प्राप्त हुने भनिए पनि कथामा व्रतका कारण चाहेको पति पाउनेदेखि, विछोडिएका पतिपत्नी तथा आफन्तजनसँग भेटजस्ता कुरामा बढी विश्वास रहेको देखिन्छ । स्वस्थानी कथामा पृथ्वीको उत्पत्तिदेखिका विभिन्न कथा उल्लेख गरिए पनि देवता र दानवबिचका शक्ति सङ्घर्षका कथा तथा महादेवका बहुलठ्ठीपूर्ण कहानी (जस्तै प्रेमका नाममा सतीदेवीको मृत शरीर बोकेर हिँड्नेदेखि नवविवाहिता पार्वतीलाई छाडेर विविध रूप धारण गरी अर्कैसँग रोमान्स गर्दै हिँड्ने (लीला भन्नु उपयुक्त होला) भेटिन्छ । स्वस्थानी परमेश्वरीको व्रत कथा भनेर देवी आराधनाको चर्चा गरिए पनि स्वस्थानी देवीलाई भन्दा महादेवलाई केन्द्रमा राखेर अधिकांश कथा अगाडि बढ्छन् ।
कथा तत्कालीन समाजको प्रतिबिम्ब हो । महिला जीवनको अस्तित्वको उपासना, व्रतमा मात्र सीमित गर्नाले तत्कालीन परिवार तथा समाजमा महिलाको उपस्थिति प्रस्ट हुन्छ । जालन्धरकी पत्नी वृन्दा निष्ठावान् पतिव्रता छिन् । उनको निष्ठाले गर्दा महादेव, विष्णुजस्ता भगवान् पनि उनलाई युद्धमा परास्त गर्न सक्दैनन् । तर, उनैका पति जालन्धर हाकाहाकी पत्नीसँगै सल्लाह गरेर पार्वतीलाई छल गरी यौन सम्बन्धका लागि जान्छन् । तर, यसमा वृन्दाको कुनै आपत्ति छैन । पटक–पटक सृष्टिका पालक भनिएका विष्णु जालन्धरजस्तै भेष बदलेर वृन्दाको सतित्व डगाउन पछि पर्दैनन् । देवाधिदेव भनिएका महादेव पाप भनिएको परस्त्रीसँगको यौन सम्बन्ध (परपुरुषसँगको यौन सम्बन्ध नारीका लागि पाप भनिएको छ भने यसमा परपुरुषको उपस्थिति अवश्य हुनुपर्ला) का लागि विष्णुलाई पठाउँछन् । हामीजस्ता सामान्य मानिसको बुझाइमा देवताका पनि देवताका यी हर्कत साँच्चै राक्षसी (बलात्कारी) लाग्छन् । यी कथाले तथाकथित देवताको नीचतालाई प्रस्ट्याउँछ, यौनको निजत्वलाई बेवास्ता गर्छ र बलात्कारका लागि प्रेरित गर्छ ।
स्वस्थानी कथा ‘जेन्डर बायस्ड’ छ । देवीको व्रतकथा भनिए पनि उनलाई गौण र मौन राखिएको छ, महादेवको आराधनालाई केन्द्रमा राखिएको छ । त्यस्ता महादेव जो आफ्नी पत्नीलाई छाडेर कहिले राजहाँसका रूपमा त कहिले मृगका रूपमा रोमान्स गर्दै हिँड्छन्, कहिले किराँतको रूप धारण गरी सुन्दरी किराँतिनीसँग यौन सम्बन्ध राख्न आतुर हुन्छन् । आफू विवाहेत्तर सम्बन्धमा रुचि राख्छन् र रावणको तपस्यासँग खुसी भएर आफ्नै पत्नीलाई दिई पठाउँछन् । त्यसैले यो यस्तो कथा हो जसले पुरुष देवताका हरेक कुकर्मलाई लीलाका नाममा प्रस्तुत गर्छ र नारीलाई अनुशासनको पाठ पढाउँछ । बरु कथामा राक्षसको राक्षसी प्रवृत्तिको खासै उल्लेख छैन । देवतासँग भएका शक्ति सङ्घर्षबाहेक सर्वसाधारण मानिसलाई दुःख दिने राक्षस कथामा देखिँदैनन् । बरु लहडी देवताबाट झन्डै बिनाकारण जस्तै, सामान्य मानिस जस्तै, शिव भट्ट ब्राह्मणदम्पती, गोमा तथा चन्द्रावती आदिलाई सताइएको छ । धर्मशास्त्रअनुसार तथा सामान्य बुझाइमा पनि देवत्वलाई मानवताभन्दा उच्च स्थानमा राख्ने गरिन्छ । साना बालक आफैँमा भगवान्का रूप हुन् भनिन्छ, तर बाबुआमा (शिव भट्ट ब्राह्मणदम्पती) को प्रगतिसँग डराएर सात वर्षकी बच्ची (गोमा) लाई ७० वर्षको बुढासँग विवाह होस् भनी श्राप दिनेजस्तो कुरा राक्षसी कृत्यभन्दा तल्लोस्तरको लाग्छ । श्राप दिने सन्दर्भमा होस् वा वरदान दिने सन्दर्भमा, देवताले शक्तिको अत्यधिक दुरुपयोग गरेका प्रसङ्ग कथाभरि पटक–पटक आउँछन् ।
ब्रह्मचर्यमा रहेर, मन शुद्ध राखी वाचन गर्ने भनिएको स्वस्थानी कथाका कतिपय ठाउँमा कुरीकुरी लाग्ने प्रसङ्ग पनि आउँछन् । यौनक्रियामा व्यस्त महादेव–पार्वतीका कोठामा भिक्षुका रूपमा जबर्जस्ती छिर्ने अग्नि हुन् वा भिक्षा भनेर वीर्य दिई पठाउने महादेव र त्यसलाई खाइदिनेजस्ता कथाका ‘दृश्य’ले अश्लील चलचित्रको झझल्को दिन्छ । त्यस्तै ऋषिपतिबाट यौन सन्तुष्टि नपाएका ऋषिपत्नी महादेवको लिङ्ग देखेर पछि लागेकाजस्ता प्रसङ्ग पारिवारिक कथा लाग्दैनन्, परिवारका सदस्यलाई राखेर सुनाउने कथाका कतिपय प्रसङ्ग पढ्दा वा सुन्दा लाजै लाग्ने सन्दर्भ पनि आउँछन् । ‘बडाले जो ग¥यो काम हुन्छ त्यो सर्वसम्मत, छैन…’ लाई प्रतिबिम्बन गर्छ स्वस्थानी कथाले । महादेव सात वर्षीया गोमालाई श्राप दिन्छन् । आफैँ ७० वर्षको शिव शर्मा ब्राह्मणको रूप धारण गरी गोमाको शोषण गर्छन् र गर्भवती बनाई अलपत्र पारेर छाड्छन् । यसलाई शिवको लीला भनिएको छ । महादेव कहिले कसको त कहिले कसको रूप धारण गरी नारीको परीक्षा लिँदै हिँड्छन् भने कुनै सुन्दर युवती देख्नेबित्तिकै मोहित भएर पछि लाग्छन् । यस्ता देवता कुनै कोणबाट हेर्दा पनि हामीलाई रक्षा गर्ने, कल्याण गर्ने देवता लाग्दैनन् ।
हाम्री आमा स्वस्थानी मुखाग्र भन्न सक्नुहुन्छ, यो स्वस्थानी संस्कृतिको परिणाम हो । अर्काको घर जाने जातलाई किन पढाउने भन्ने समयमा पनि स्वस्थानी कथा वाचन संस्कृतिले नारीलाई पढ्न, पढाउन प्रेरित गरेको थियो । त्यसो त स्वस्थानी व्रत गर्नाले आफूले चाहेजस्तो वर प्राप्तिको प्रसङ्ग बढी उठाएकाले पनि पति पाउनुभन्दा नारीको अर्को कुनै भूमिका नभए जस्तो गर्छ कथा । अनि स्वभावैले स्वस्थानी व्रतकथा आदिमा नारी चासो बढी देखिन्छ । यसले नारी शिक्षातर्फ प्रेरित गरेको पनि छ । केही वर्षअघि प्रदर्शनमा आएको हिन्दी चलचित्र ‘पिके’ले धर्मका नाममा हुने ढोंगलाई व्यङ्ग्य गरेको छ । भगवान् ढोँगी हुने रहेछन् कि ! स्वस्थानी व्रतकथामा देखाइएका महादेव, विष्णुका लीलामा यिनै ढोँगलाई पर्दाफास गरिएको रूपमा म बुझ्छु । स्वस्थानी कथा पढेरै हुर्किएका हाम्रो समाजका नारीलाई पनि कतै श्री स्वस्थानी व्रतकथाकी चन्द्रावतीले स्वस्थानीको अपमान गरेर दुःख झेल्नुपरेजस्तै त्यस्तै आरोप त लाग्दैन भन्ने अव्यक्त डर लागिरहेछ ।
विदुर–१०, नुवाकोट
प्रतिक्रिया