धुन्चे । रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-६ धुन्चेमा माघ २ देखि ८ गतेसम्म सञ्चालन भएको फुटसल प्रतियोगितामा नुवाकोटको सूर्यगढी टिम प्रथम भएको छ । बागमती प्रदेशमा सबैभन्दा बढी पुरस्कार राशि रहेको जिल्लाकै पहिलो राष्ट्रियस्तरको खेलकुद अकियास खुला फुटसल प्रतियोगिता एक हप्ता सञ्चालन भएको थियो ।
प्रतियोगितामा रसुवा र नुवाकोट जिल्लाबाट १९ टिमको सहभागिता रहेको थियो । पहिलो हुने सूर्यगढी टिमले रु. दुई लाख २२ हजार र ट्रफी, दोस्रो हुने रेडपाण्डा टिम रसुवाले रु. एक लाख एक हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फुटसल खेलको विकास र विस्तारकासाथै गैरनाफामूलक संस्था भएको र पूर्ण सामाजिक रूपमा काम गर्दै आएको अकियास संस्थाले खेलकुदका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र जिल्लामा फुटसलको विकास गर्ने उद्देश्यले यी खेल आयोजना गरिएको अकियासका अध्यक्ष निवेश श्रेष्ठले बताए । प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य मोहन अचार्यले विजेता टिमलाई नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । आगामी वर्षमा पनि परिष्कृत र परिमार्जन गरेर फुटसल प्रतियोगिता गरिने आयोजकले जानकारी दिएको छ ।
प्रतिक्रिया