नेपालको जनसङ्ख्याको करिब ६५ प्रतिशत कृषि पेसामा निर्भर छ । देशको कुल उत्पादनको लगभग २५-३० प्रतिशत कृषि क्षेत्रबाट आउने गरे पनि उत्पादकत्वमा कमी, आधुनिक प्रविधिको अभाव र बजार व्यवस्थापनका कमजोरीले यस क्षेत्रले अपेक्षित योगदान दिन सकेको छैन । कृषि गणनाको पछिल्लो तथ्याङ्कअनुसार विगत १० वर्षमा रासायनिक मल, विषादी र उन्नत तथा वर्णशङ्कर बिउको प्रयोग बढे पनि त्यस अनुपातमा कृषि उत्पादकत्व भने बढ्न सकेको छैन । रासायनिक मल, विषादी र उन्नत जातका बिउको प्रयोग उत्पादन बढाउन प्रमाणित भएकैले यिनको प्रयोग बढेको हो । सरकारले कृषि उत्पादकत्व बढाउन यिनको प्रयोगमा उच्च प्राथमिकता दिए पनि तिनको अनुपातमा उत्पादकत्व बढ्न नसक्नाको अर्थ यिनको समन्वित र सही ढङ्गले प्रयोग भएको छैन भन्ने देखिन्छ ।
जहाँ सिँचाइ सुविधा हुन्छ, त्यहाँ कृषि उत्पादन बढ्छ । त्यस्तै मल र विषादीको प्रयोगले पनि कृषि उत्पादन र उत्पादकत्व दुवै बढ्छ । त्यसमा पनि बढी उत्पादकत्वका लागि वर्णशङ्कर प्रजातिका बिउको विकास गरिएको छ । नेपालमा यी प्रयास भइरहे पनि कहिले मलको अभाव हुन्छ, कहिले पानी राम्ररी पर्दैन र कहिले उचित बिउको अभाव हुन्छ । यसले गर्दा कृषि उत्पादकत्व बढ्न सकेको छैन । त्यसमा पनि नेपालमा उपयुक्त खालको कृषि उपकरणको विकास अझै हुन सकेको छैन । खासमा कुनै पनि देशको हावापानी, माटो र बिउअनुसार खेती गर्ने तरिका भिन्न हुन्छ । नेपालमा कृषिमा आधुनिकीकरण ल्याउन हरित क्रान्तिको अभियान नै चलाइएको छ, जसमा आधुनिक प्रविधि र मल तथा बिउको प्रयोग पर्छन् । तथापि, नेपालको प्रतिहेक्टर कृषि उत्पादनमा सामान्य सुधार मात्रै भएको छ । विश्वको औसत धान उत्पादकत्व प्रतिहेक्टर चार दशमलव दुई मेट्रिक टन छ । विश्वमा सबैभन्दा बढी उत्पादकत्व भएको देश चीन हो जहाँ ६ दशमलव पाँच मेट्रिक टन धान उत्पादन हुन्छ । चीनपछि धानको प्रमुख उत्पादक भारतको उत्पादकत्व तीन दशमलव एक मेट्रिक टन छ । नेपालको उत्पादकत्व भारतभन्दा कम छ । यद्यपि, गत वर्ष सबैभन्दा उच्च उत्पादकत्व रहेको कृषि मन्त्रालयको भनाइ छ ।
कृषि पेसाप्रति रहेको विकर्षणले गर्दा खाद्य सुरक्षामा अझ चुनौती थपिएको छ । यस्ता अवस्थामा खाद्य सुरक्षाका लागि आवश्यक आधुनिक प्रविधिको उपयोग अनिवार्य नै हुन्छ, तर तिनको सही प्रयोग गर्न किसान र उपभोक्ता दुवैलाई सचेत पार्नु आवश्यक छ । नेपालमा कृषि क्षेत्रको उपयोग घट्दो छ । शिक्षित मानिस कृषिसँग विमुख भएसँगै यसमा लाग्ने जनसङ्ख्या पनि घट्दो छ । त्यस्तै, कुल गार्हस्थ्य उत्पादनमा कृषिको अंश पनि घटिरहेको छ । कृषिमा आधुनिकीकरण गर्ने हरेक सरकारको लक्ष्य रहेको पाइन्छ, तर शिक्षित वर्ग यसबाट टाढिएकाले अपेक्षित मात्रामा त्यसो हुन सकेको छैन । यद्यपि, तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कले माटो खन्नेदेखि बाली भित्र्याउनेसम्मका काममा यन्त्रको प्रयोग बढेको देखाएको छ । रासायनिक मल र विषादीको प्रयोग पनि बढेको छ । रासायनिक मलले माटामा अम्लीयपना बढाएको किसानको गुनासो छ भने आलीको विषादी थालीसम्म पुगेर मानव स्वास्थ्यमा गम्भीर असर परेकामा चिन्ता बढ्दो छ ।
रासायनिक मल होस् वा विषादी, यिनको प्रयोग कति मात्रामा र कस्तो अवस्थामा गर्ने हो भन्ने जानकारी किसानलाई हुनुपर्छ । त्यसभन्दा पनि बढी उपभोक्ता यसमा सचेत हुनुपर्छ । उपभोक्ताले विषादी हालिएको कृषि उपज चिनेर प्रयोग नगर्ने हो भने यसको खपत घट्न थाल्छ । कृषि उत्पादकत्व बढाउन रासायनिक मल र विषादीको योगदान छ । त्यसैले यिनको प्रयोगलाई पूर्ण नियन्त्रण गर्न सकिँदैन । तर, विषादीबाट जोगिने तरिका किसान र उपभोक्ताले पनि जान्नु आवश्यक छ । बढ्दो जनसङ्ख्यालाई आवश्यक खाद्य आपूर्ति गर्न जसरी पनि उत्पादन र उत्पादकत्व बढाउनैपर्ने बाध्यता छ । कृषि पेसाप्रति रहेको विकर्षणले गर्दा खाद्य सुरक्षामा अझ चुनौती थपिएको छ । यस्तामा खाद्य सुरक्षाका लागि आवश्यक आधुनिक प्रविधिको उपयोग अनिवार्य नै हुन्छ, तर तिनको सही प्रयोग गर्न किसान र उपभोक्ता दुवैलाई सचेत पार्नु आवश्यक छ । अहिलेलाई यति मात्र गर्न सक्ने हो भने एकातिर उत्पादनमा वृद्धि त हुन्छ नै अर्कातर्फ कृषि यान्त्रीकरण, मल, बिउलगायत प्रयोगमा वृद्धि भई बजारमा समेत सुधार हुन्छ । यसले गर्दा कृषिमा लगानी वृद्धि हुँदै गएर समग्र अर्थतन्त्रमा सुधार आउँछ ।
प्रतिक्रिया