त्रिशूली अस्पताल देशकै उत्कृष्ट

त्रिशूली अस्पताल देशकै उत्कृष्ट
त्रिशूली प्रवाह
६ महिना अगाडी

विदुर । वागमती प्रदेश सरकार मातहतमा रहेको त्रिशूली अस्पतालले न्यूनतम सेवा मापदण्ड कार्यान्वयन अन्तर्गत ८१ प्रतिशत अंक हासिल गर्दै वागमती प्रदेशकै पहिलो र देशकै तेस्रो उत्कृष्ट अस्पतालको मान्यता प्राप्त गरेको छ । त्रिशूली अस्पतालले प्राप्त गरेको अंक प्रारम्भिक भएको यसको अन्तिम नतिजा घोषणा छिट्टै गरिने वागमती प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन समितिका प्रतिनिधि डा.त्रिभुवनचन्द्र झाले बताउनुभएको छ ।

सार्वजनिक प्रतिवेदनअनुसार त्रिशूली अस्पतालले आफ्नो सेवा र व्यवस्थापनमा उच्चस्तरको सुधार गर्दै यो सफलता हात पारेको हो । अस्पताल व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले यो सफलता अस्पतालका सबै कर्मचारी, सेवाग्राही र सरोकारवालाको संयुक्त प्रयासको परिणाम भएको उल्लेख गर्नुभयो । उनले आगामी दिनमा अस्पतालको गुणस्तरलाई थप सुधार गर्दै बिरामीमैत्री सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ । चालु आर्थिक वर्षमा अस्पतालले बिरामीको सहजताका लागि भिडियो कल सेवा सञ्चालन गर्ने योजना बनाएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.राजेन्द्र लामाले जानकारी दिनुभयो । यसले सेवा प्रवाहमा थप प्रगति हुने अपेक्षा गरिएको छ । त्रिशूली अस्पतालको यो उपलब्धीले स्वास्थ्य सेवामा सुधार गर्न सकिने सम्भावनालाई थप बलियो बनाएको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह