
विदुर । नेपाल सरकारले राष्ट्रिय गौरवको योजनामा समावेश गरेर आव २०७२/०७३ देखि निर्माण सुरु गरेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक समयमै बन्न नसक्दा सदरमुकाम क्षेत्रमा पानी पर्दा हिलो, घाम लाग्दा धुलो हुन थालेपछि विदुर नगरपालिकाले मर्मत–सम्भार सुरु गरेको छ ।
नगरपालिकाले गँगटे, बट्टार, विदुर, ढुङ्गे क्षेत्रमा जीर्ण र धुलाम्मे बनेको सडकको खाल्डा–खुल्डी पुर्ने कालोपत्रे थालेको हो । सडक मर्मत गर्न नगरपालिकाले यन्त्र उपकरण, जनशक्ति एवम् आर्थिक लगानी गरेर मर्मत–सम्भार थालेको नगरप्रमुख राजन श्रेष्ठले बताए । गल्छी–रसुवागढी योजनाको यो खण्डमा सुरुदेखि नै सडक प्रभावितले घर, टहरा र जग्गाको मुआब्जाको माग राख्दै सडक अवरुद्ध गर्दै आइरहेका छन् । अदालतले यो खण्डको सडक निर्माण अगाडि बढाउन जग्गाको मुआब्जा विगतमा नै दिइसकेकोले घर, टहराको यथोचित मुआब्जा दिनुपर्ने फैसला गरे पनि भौतिक संरचना हटाउने प्रक्रियाले गति लिन नसकेको नागरिक अगुवा इन्द्रबहादुर पण्डितले बताए । योजना कार्यालयले मुआब्जा वितरणका लागि आवश्यक बजेट नभएकाले सडक विभागमा माग गरिएको जानकारी दिएको छ ।