गृहसचिव दुवाडीद्वारा केन्द्रीय कारागारको निरीक्षण

  • त्रिशूली प्रवाह
  • २२ माघ २०८१, मंगलवार १५:२४

विदुर । गृहसचिव गोकर्णमणि दुवाडीसहित गृह मन्त्रालयका उच्च कर्मचारीको समूह र कारागार व्यवस्थापन विभागका महानिर्देशकको टोलीले शनिबार नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागार निरीक्षण गरेको छ । नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्प चण्डीपोखरीमा पहिलो र दोस्रो चरणमा निर्माण सम्पन्न भएपछि कारागारमा गत भदौदेखि कैदीबन्दी स्थानान्तरण भइसकेको छ ।

गृहसचिवको टोलीले कारागारमा उत्पादन हुने फोहोर र विदुरको ढल प्रशोधनको लागि कारागारको जग्गा दिनेबारेमा समेत स्थलगत निरीक्षण गरेको छ । दुवाडी नुवाकोटको जिल्ला सुरक्षा समितिको बैठकमा सहभागी भएका थिए । बैठकमा रसुवाको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलसहित सुरक्षा समितिका पदाधिकारी आमन्त्रित रहेका थिए । उक्त संयुक्त बैठकमा गृहसचिव दुवाडीले जिल्लाको चुस्त रूपमा सुरक्षा व्यवस्थापन गर्न र रसुवाको सीमा सुरक्षालाई थप प्रभावकारी गर्नेलगायतको विषयमा निर्देशन गरेका थिए । जिल्लाको अनुगमन र निरीक्षणमा गृहसचिवसँग मन्त्रालयका सहसचिवद्वय भरतमणि रिजाल, आनन्द काफ्ले संलग्न रहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।