‘एक वडा एक उत्पादन’ मा बेलकोटगढी-२ कफीका लागि छनोट

  • त्रिशूली प्रवाह
  • २२ माघ २०८१, मंगलवार १६:०७

कुमरी । बागमती प्रदेश सरकारको ‘एक वडा एक उत्पादन’ कार्यक्रममा कफीका लागि बेलकोटगढी नगरपालिका– २ छनोट भएको छ । प्रदेशमा नगरपालिकाले १३ वडामा राम्रो उत्पादनको सम्भावना भएका कृषि उत्पादनलाई ‘एक वडा एक उत्पादन’का लागि पठाए पनि वडा नम्बर २ मात्र छनोटमा परेको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिए ।

‘एक वडा एक उत्पादन’ कार्यक्रममा कफीका लागि वडा छनोट भई कार्यक्रम स्वीकृत भएर आएको नगरप्रमुख गुरुङले बताए । व्यावसायिक कफीखेती गर्न इच्छुक कृषक छनोटको प्रक्रिया अगाडि बढाइएको वडाध्यक्ष रामचन्द्र तिमिल्सिनाले जानकारी दिए । यो वडा कफीका लागि अनावश्यक हावापानी र जमिन भएकोसमेत उनले दाबी गरे । वडामा कफी उत्पादनका लागि आवश्यक सामुद्रिक सतहदेखि आठ सयदेखि १६ सय मिटरमा ओसिल जमिन रहेकाले छनोटमा परेको हो । विगत ५-६ वर्षदेखि एक दर्जन कृषकले परीक्षणको रूपमा कफीखेती गरिरहेको वडाध्यक्ष तिमिल्सिनाले जानकारी दिए । प्रदेश सरकारको आव २०८०/०८१ मा प्रस्तावित ‘एक वडा एक उत्पादन’ कार्यक्रममा आव २०८१/०८२ का लागि बजेटसहित स्वीकृत आएपछि नगरपालिकाले कार्यान्वयनका लागि सरोकारवाला निकायसँग समन्वय र परामर्श गरिरहेको प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र श्रेष्ठले बताए । कृषि ज्ञान केन्द्र नुवाकोटले यो कार्यक्रमका लागि आवश्यक प्राविधिक परामर्शसहित कार्यान्वयनमा सहयोग गर्ने केन्द्र प्रमुख केशव खनालले बताए ।

प्रदेश सरकारको ६० प्रतिशत, बेलकोटगढी नगरपालिकाको २० प्रतिशत र कृषकको २० प्रतिशत लगानी हुने यो कार्यक्रम पाँच वर्ष सञ्चालन हुनेछ । सुरुमा छनोट भएका कृषकले मात्र पाँच वर्षसम्म कार्यक्रममा सहभागी पाउने बताइएको छ । कार्यक्रमका लागि चालू आवमा रु. ६६ लाख खर्च हुने बताइएको छ । यहाँ उत्पादन हुने कफी विश्वमा उत्कृष्ट जातमध्येको रोबस्टा र अरबिक उत्पादन हुने बताइएको छ । विश्व बजारमा यी दुई प्रजातिका कफीको बजारहिस्सा ७० प्रतिशत रहेको छ ।