• त्रिशूली प्रवाह
  • २३ माघ २०८१, बुधबार १५:५७

विदुर । नेपाल कम्युनिष्ट (एमाले) को शुभेच्छुक पत्रकारको संस्था प्रेस चौतारी नेपाल नुवाकोट शाखाको सातौं जिल्ला अधिवेशनले श्रीराम अधिकारीका अध्यक्षतामा नौसदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ । चौतारीको शुक्रबार सम्पन्न अधिवेशनले कार्यसमितिका उपाध्यक्षमा सुनिल श्रेष्ठ र सुमित्रा पौडेल, सचिवमा केदार ढकाल, सहसचिवमा केपी अधिकारी र कोषाध्यक्षमा शिवहरि पाठक तथा सदस्यमा किशोर ओली र लक्ष्मीप्रसाद रिमाललाई निर्वाचित गरेको छ । बाँकी दुई सदस्य बैठकले चयन गर्ने अध्यक्ष अधिकारीले बताउनुभयो । अधिवेशनले केन्द्रिय प्रतिनिधिमा देवचन्द्र भट्ट, रामराजा श्रेष्ठ र सुमित्रा पौडेल तथा प्रदेश प्रतिनिधिमा भोलाराज पौडेल, पुरूषोत्तम रिजाल र सुशीला लामिछानेलाई चयन गरेको छ ।

अधिवेशन उद्घाटन गर्दै एमालेका केन्द्रीय सदस्य बिन्दा ढुङ्गानाले पार्टी र चौतारीमा आबद्ध सञ्चारकर्मीबिच सहकार्य थप मजबुत बनाउनुपर्ने बताउनुभयो । चौतारीका अध्यक्ष नवदीप श्रेष्ठका अध्यक्षतामा भएको उद्घाटनसत्रमा प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, महासचिव हिरामान लामा र सचिव विष्णु तारूके, एमाले जनसङ्गठन विभाग प्रमुख एवं जिल्ला पार्टीका उपसचिव राजेन्द्रप्रकाश पाण्डेलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । चौतारीको २७औंँ स्थापना दिवसका अवसरमा नुवाकोट शाखाले मङ्गलबार संस्थापक अध्यक्ष शरणउत्सुक सापकोटालाई सम्मान गरेको छ । श्रमजीवी तथा प्रगतिशील पत्रकारको संस्था प्रेस चौतारी विसं २०५६ मा नुवाकोट शाखा स्थापना गरी पहिलो अध्यक्ष बन्नुभएका उत्सुकले संस्थागत विकासमा दिनुभएको योगदानको उचित मूल्याङ्कन गर्दै प्रेस चौतारी सम्मान गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो । स्थापना दिवसमा गरिएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य ढुङ्गानाले संस्थापक अध्यक्ष उत्सुकलाई सम्मान गर्दै सुस्वास्थ्य, दीर्घजीवन र प्रगतिको कामना गर्दै उहाँले नेपाली आमसञ्चारमाध्यम क्षेत्रमा अझ गहन भूमिका निर्वाह गर्दै जिल्ला र आफ्नो प्रतिष्ठालाई उँचो बनाउने विश्वास गर्नुभयो ।

विदुर-७ (साबिक तुप्चे-२) मा जन्मी राजधानी र नुवाकोट जिल्लामा रहेर करिव तिन दशकसम्म विभिन्न पत्रपत्रिकामा समाचारदाताबाट आरम्भ गरी पत्रकारिता पेसामा संलग्न हुनुभएका सापकोटाले विक्रम संवत् २०५७ वैंशाखदेखि जिल्लामा ‘त्रिशूली प्रवाह साप्ताहिक’ पत्रिकासमेत दर्ता गराई निरन्तर २५ वर्षभन्दा बढी समयदेखि यसका प्रकाशक तथा सम्पादकलगायत विभिन्न जिम्मेवारीमा रहँदै यसै वर्ष पत्रिकाको रजत वर्षसमेत मनाइसक्नुभएको छ । आफ्ना पत्रिकाका माध्यमबाट उहाँले देशविदेशका खासगरी बागमती प्रदेश नै अझ विशेषगरी पहिले ‘पश्चिम १ नम्बर’ भनिने रसुवा, नुवाकोट र धादिङका घटना र स्थानीय समस्या तथा ऐतिहासिक, सांस्कृतिक, धार्मिक, आर्थिक, सामाजिक विषयवस्तु उजागर गरी सर्वसाधारणमा जागरण र बुद्धिजीवीहरूमा बौद्धिक चेतना अभिवृद्धि गर्न तथा सरकारी-गैरसरकारी जिम्मेवार तहमा आआफ्ना दायित्व बोध गराउन खेलेको व्यावसायिक भूमिका खेल्नुभएको छ । सोही साप्ताहिक पत्रिकाबाट नै नुवाकोटका साहित्यकारका साहित्यिक कृति पनि प्रकाशन गरिएको छ ।

सो क्षेत्रका सिकारू पत्रकारहरूलाई आफ्ना पत्रिकामा विभिन्न अवसर दिनाका साथै प्रशिक्षण दिलाउनुभएको र त्यसबाट उत्पादन भएका सक्रिय पत्रकारहरूले अहिले राष्ट्रिय–अन्तरराष्ट्रिय रूपमा प्रतिष्ठा प्राप्त गरेका छन् । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य धु्रव रावल, महासङ्घ नुवाकोटका उपाध्यक्ष जगदीश खनाल, एमाले विदुर नगर कमिटीका कार्यवाहक अध्यक्ष अनुजकुमार श्रेष्ठलगायतले स्वच्छ पत्रकारिताबिना सङ्घीयता संस्थागत हुन नसक्ने धारणा राख्नुभएको थियो ।