ककनीबाट रू ५० करोडको भुइँकाफल बिक्री हुने

  • त्रिशूली प्रवाह
  • २३ माघ २०८१, बुधबार १६:०९

रानीपौवा । नुवाकोट जिल्लाको काउले, ककनी, हिलेभित्ता, चित्रे, कुलेलगायत क्षेत्रबाट यस वर्षको खास याममा रु ५० करोडको स्ट्रबेरी बिक्री हुने अनुमान गरिएको छ । यतिबेला ‘भुइँकाफल’ टिप्ने र बजारमा पु¥याउने काम भइरहेको ककनीका २८ वर्षीय छेसाङ तामाङले बताउनुभयो । उहाँले ६ रोपनीमा स्ट्रबेरी खेती गरिरहनुभएको छ । उहाँ जस्तै ४ सय भन्दा बढी कृषक ६ वर्षदेखि स्ट्रबेरी खेतीमा तल्लिन छन् । आजभोली ककनीको काठमाडौंतर्फ फर्किएको पुरै भागमा स्ट्रबेरी टिप्ने, ग्रेडिङ, प्याकेजिङ र बजारीकरण गर्ने काम भईरहेको छ ।

स्ट्रबेरीका विरूवा रोप्ने र फ्रेस फल बेच्ने गरिए पनि पछिल्लो दुई वर्षदेखि नुवाकोटले बिरुवादेखि फ्रोजन स्ट्रबेरी बेच्नेसम्मको काम गरिरहेको लघु उद्यमी संघ नुवाकोटका अध्यक्ष गीता थापाले बताउनुभयो । जाडो बढेकाले अहिले एक दिन बिराएर फल टिप्ने, ग्रेडिङ गर्ने, प्याकेजिङ गरेर बजार पु¥याइन्छ । ‘राती ८/९ बजेसम्म प्याकेजिङ गरी तयार गर्छौं, भोलीपल्ट ५ बजे माछापोखरी आइपुग्नुपर्छ,’ छेसाङले भन्नुभयो, ‘माछापोखरीबाट दाङ, कास्की, धादिङ, चितवन, सुनसरी र झापाका गाडीमा स्ट्रबेरी पठाउँछौं ।’, उहाँले भन्नुभयो । जिल्लामा पठाइसकेपछि काठमाडौँ उपत्यकाभित्रका लागि जमल, नयाँ सडक, भैंसीपाटी, लगनखेल, सातदोबाटो, बौद्ध, चाबहिल, नक्साललगायत ठाउँमा पसल, मार्ट र सुपरमार्केटलगायतमा स्ट्रबेरी पु¥याउने गरेको उहाँले सुनाए । ककनीस्थित काउलेकी मंगली तामाङले ४ आना जग्गाबाट सुरू गरेको स्ट्रबरी खेती अहिले १ रोपनीमा फैलाइसक्नुभएको छ । विगत ९ वर्षदेखि स्ट्रबेरी बिक्रीबाट मात्रै महिनामा रू.३० देखि ५० हजारसम्म बचत हुने गरेको उहाँको भनाई छ । ‘ककनी स्ट्रबेरी खेतीबाटै चिनियो । तर हाम्रो अवस्था जस्ताको त्यस्तै छ । आफैं नर्सरीमा विरूवा उत्पादन ग¥यो अनि आफैं रोप्यो, बेच्यो,’ उहाँले भन्नुभयो, ‘पहिला पनि यस्तै थियो, स्थानीय सरकार आए पनि उस्तै छ  ।’

कात्तिकदेखि वैशाखसम्म उत्पादन हुने स्ट्रबेरी ककनीको काहुले, हिलेभित्ते र चित्रेमा राम्रो भईरहेको छ । झण्डै ४ सय किसानले स्ट्रबेरी खेती गर्दै आएका छन् । उनीहरूले कम्तीमा १ रोपनीदेखि बढीमा १० रोपनीसम्ममा स्ट्रबेरी खेती गरिरहेका छन् । झन्डै तीन दशकदेखि यहाँको प्रमुख नगदे बाली नै स्ट्रबेरी हो । स्ट्रबेरी वर्षमा ७ महिनासम्म फल्छ । कात्तिकदेखि वैशाखसम्म स्ट्रबेरी टिप्न मिल्ने छेसाङले बताउनुभयो । ‘कात्तिक र मंसिरमा दिनकै टिपेर बजार पु¥याउने हो, पुस र माघमा जाडो हुन्छ, घाम लाग्दैन, त्यसैले दिन बिराएर टिप्ने हो,’ उनले भने, ‘फागुनदेखि फेरि दिनकै टिप्ने हो, उत्पादन बढ्छ र त मूल्य घट्छ ।’ स्ट्रबेरी बेचेर किलोको रू.साढे ४ देखि ५ सय पाइने उहाँले सुनाउनुभयो । वैशाखदेखि असोजम्म पुरानो विरूवाको पात टिप्ने, नयाँ विरूवा र जग्गा तयार पार्ने काम हुन्छ । विशेषगरी प्रयाप्त घाम लाग्ने जमिनमा स्ट्रबेरीको उत्पादन बढी हुने उनीहरूको भनाई छ । ककनीमा २०४६ मा जापानी सहयोग नियोग (जाइका) अन्तर्गतको जाइटी नेपालले स्ट्रबेरी खेती परियोजना थालेको हो । परियोजनाले केही विरूवा रोपेर परीक्षण थाल्यो । तर पछि किसान आफैंले उत्पादन गर्न थालेपछि खेती बिस्तार भएको हो । अहिले धेरैजसो किसान आफैंले नयाँ विरूवा उत्पादन पनि गर्छन् । केही वर्षयता स्वदेशी बजारमा पनि स्ट्रबेरीको माग बढ्दो छ ।

ककनीमा उत्पादित स्ट्रबेरी काठमाडौं, पोखरा, विराटनगर, विरगन्जलगायत बजारमा पुग्छ । ताजा स्ट्रबेरी बिक्री गर्दै किसानले यसबाट बन्ने जाम, जेली, क्यान्डी, चकलेटलगायत खाद्य सामग्री बनाउन भने सकेका छैनन् । स्ट्रबेरीमा लाग्ने रोग, बजार व्यवस्थापनतर्फ पालिकाले समेत ध्यान नदिएको उहाँले गुनासो गर्नुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ककनीलाई स्ट्रबेरी पकेट र जोनबाट हटाएर कुनै कार्यक्रम नराखेको छेसाङको गुनासो छ । ‘स्ट्रबेरी अहिले फ्रेस नै किन्ने, बेच्ने भइरहेको छ, जाम बनाउन लागेका छौं तर साना स्ट्रबेरीका दानाको वाइन बनाउन सक्थ्यौं, सरकारले सहयोग नै गरेन,’ उहाँले भन्नुभयो ।

कम आयात हुने फलफूलमा स्ट्रबेरी पनि पर्छ । चालु आर्थिक वर्षको ६ महिनामा रू.१ लाख ७ हजारको ४ सय २४ किलो स्ट्रबेरी आयात भएको छ तर निर्यात शून्य छ । गत आर्थिक वर्षको सोही अवधिमा रू.३ लाख ४९ हजारको रू.१ हजार ९ सय ९२ किलो स्ट्रबेरी आयात भएको भन्सार विभागको तथ्यांक छ । निर्यात शून्य देखिए पनि ककनीका छेसाङले सिजनमा उत्पादनको २० प्रतिशत स्ट्रबेरी भन्सार छलेर भारत निर्यात हुने गरेको उहाँले बताउनुभयो । ‘दिनको ७ देखि ८ हजार किलो स्ट्रबेरी उत्पादन हुन्छ । त्यसका आधारमा नुवाकोटको पकेट क्षेत्रमा ६ महिनामा १४ लाख ४० हजार स्ट्रबेरी उत्पादन हुने अनुमान छ, त्यसको २० प्रतिशत भारतमा जान्छ,’ उहाँले भन्नुभयो । काठमाडौं महानगरपालिकाले सडकपेटीमा व्यापार गर्न रोकेपछि बिक्री गर्न व्यवसायीलाई समस्या भईरहेको संघका अध्यक्ष थापाले बताउनुभयो । कृषकलाई विरूवा हुर्काउन आवश्यक प्राविधिक सहयोग कहीँ–कतैबाट पछिल्लो समय नभएको समेत उहाँको गुनासो छ ।