
बट्टार । नुवाकोट जिल्लामा सबभन्दा पहिले स्थापित नुवाकोट आदर्श बहुमुखी क्याम्पस सञ्चालक समितिको पछिल्लो तीनवर्षे कार्यकाल विवादमै सकिएको छ । वि.सं. २०४३ मा स्थापित क्याम्पसको वि.सं. २०७८ माघ १९ गते गठन भएको सञ्चालक समितिको कार्यकाल उपलब्धिविहीन भएको छ ।
क्याम्पसका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक वसन्तलाल श्रेष्ठसहित एउटा पक्ष वि.सं. २०७८ मा भएको नवाँै क्याम्पससभा तथा प्रथम अधिवेशन गैरकानुनी तथा अवैधानिक भएको जनाउँदै त्यस सभा र अधिवेशनले गठन गरेको श्रीराम श्रेष्ठ अध्यक्ष रहेको सञ्चालक समिति र त्यसले गरेको सम्पूर्ण अवैधानिक निर्णय बदर गरिपाऊँ भन्दै अदालतदेखि राजनीतिक नेतृत्व, विभिन्न निकाय र सङ्घसंस्थामा हारगुहार गरिरहेको छ । सञ्चालक समितिले क्याम्पस स्थापनामा योगदान गर्ने र पूर्वसञ्चालकसँग समन्वय र सहयोग वातावरण बनाउनेभन्दा पनि अपमान गर्दै राजनीतिक आडमा विधि, पद्धति र विधान मिचेर आर्थिक अनियमिततामा संलग्न रहेको संस्थापक अध्यक्ष समूहले आरोप लगाएको छ । अध्यक्ष श्रीरामको तीनवर्षे कार्यकालमा क्याम्पसलाई धराशायी बनाई अवैध कार्य गरेको उनीहरूले बताएका छन् । विवादकै बिच क्याम्पस सञ्चालक समिति यही माघ २ गते बैठक बसेर १८ गते दसौँ क्याम्पससभा तथा दोस्रो अधिवेशन गर्ने निर्णय गरेर तयारीमा लागेको छ । संस्थापक अध्यक्ष एवम् प्रमुख संरक्षक वसन्तलाल समूह उक्त क्याम्पससभा र सम्मेलन रोक्न विभिन्न निकायमा धाइरहेको छ । क्याम्पसको स्वीकृत विधानअनुसार सभा र अधिवेशन गर्न लागिएको जिकिर क्याम्पस प्रमुख नारायणमान डङ्गोलले गरे । सबैलाई सभामा उपस्थित भएर छलफल गरी विवाद टुङ्ग्याउन उनले आग्रहसमेत गरे ।
वि.सं. २०४२ मा रसुवा, धादिङ र नुवाकोट क्षेत्रकै समुदायले सञ्चालन गर्ने गरी त्रिविबाट अस्थायी सम्बन्धन लिएर पहिलो सामुदायिक क्याम्पस स्थापना भएको थियो । भौतिक रूपमा सम्पन्न क्याम्पसमा शैक्षिक जनशक्ति र विद्यार्थीको सङ्ख्या पर्याप्त छ । शिक्षा, व्यवस्थापन र मानविकी सङ्कायमा प्लस टुदेखि स्नातकोत्तरसम्म अध्ययन हुने सो क्याम्पसमा करिब एक हजार विद्यार्थी अध्ययनरत छन् । जिल्लामा विगतदेखि सञ्चालनमा रहेका डेढ दर्जन सामुदायिक क्याम्पसमध्ये एक दर्जन बन्द भइसकेका अवस्थामा सो क्याम्पसमा पनि संस्थापक, पूर्वसञ्चालक र अहिलेको सञ्चालकबिचको विवाद रहिरहेकाले अभिभावक र विद्यार्थीमा सकरात्मक सन्देश नगएको क्याम्पसका पूर्वाध्यक्ष धननारायण चित्रकारले स्पष्ट गरे ।