
ढिकुरे । नुवाकोट जिल्लाको लिखु गाउँपालिका सात वर्षपछि भाडा तिर्न नपर्ने गरी स्थानान्तरण भएको छ । पालिकाको वडा नं. ३ भालडाँडा (भलाद्मीडाँडा) मा रहेको नवप्रकाश माविको खाली भवनमा माघ १ गतेदेखि कार्यालय सारेको छ ।
वि.सं. २०७२ सालको भूकम्पपछि जाइकाले बनाइदिएको उक्त विद्यालयमा विद्यार्थी घटेपछि खाली रहेको भवनमा पालिका सबै विभागसहित सरेको छ । सो विद्यालयको तीनवटा भवनसहित ट्रस्टमध्ये दुईवटा भवन पालिकाले प्रयोग गरेको छ । कक्षा १० सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदा कक्षा घटाएर आठसम्म मात्र सञ्चालनमा रहेको छ । अहिले उक्त विद्यालयमा ५० जना विद्यार्थी अध्ययनरत छन् । अझै कक्षा घटाउने गरी पालिकाले थप गृहकार्य गरिरहेको छ । पालिकाले उक्त विद्यालयको एउटा भवन र ट्रस्टलाई कम्पान्डसहित मर्मतसम्भार गरेर छुट्याइदिएको छ ।
डुडे बगैँचाको भाडाको घरमा झन्डै सात वर्षदेखि गाउँपालिकाले कार्यालय सञ्चालन गरिरहेको थियो । नयाँ भवन बनाउने स्थानको विवाद समाधान गर्ने प्रक्रिया सुरु गरेसँगै पालिकाले कार्यालय पनि सारेको छ । हाल सारिएको कार्यालय वडा नं. १ स्थित ढिकुरे पुलबाट एक किलोमिटर माथि रहेको छ । भाडाको घरमा कार्यालय सञ्चालन गर्दा शाखा कार्यालय फरक–फरक स्थानमा राख्नुपरेको र त्यसबाट सेवाग्राहीलाई समस्या भएको निष्कर्षका साथ शाखाहरूलाई एकीकृत गर्नका लागि नयाँ ठाउँमा स्थानान्तरण गरिएको अध्यक्ष ध्रुव श्रेष्ठले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुसार १० वटा कोठा भएको उक्त भवनमा पालिकाका सबै प्रशासनिक कार्यालय रहनेछन् । गाउँपालिका स्रोतका अनुसार पालिकाले आठ वर्षमा तीन करोडभन्दा बढी भाडा खर्च गरेको छ । नयाँ भवन भने विद्यालयको उपलब्ध संरचनाबाट निःशुल्क रूपमा प्रयोग गरिनेछ ।
पालिकाको स्थायी भवन निर्माणका लागि सिँचाइ डिभिजनको चौघडामा रहेको झन्डै पाँच रोपनी जग्गा प्राप्तिको प्रक्रिया अघि बढिसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
नयाँ भवन निर्माणका लागि बजेटसमेत विनियोजन भइसकेको छ । पालिका सरेपछि भालडाँडामा पुग्ने सडकको स्तरोन्नतिको लागि रु. तीन करोड बजेट विनियोजन भई ठेक्का प्रक्रिया अघि बढिसकेको छ । यो बजेटले सडक ढलान गर्ने, पर्खाल निर्माण गर्नेलगायतका काम हुने र त्यसबाट कार्यालय पुग्न अझ सहज हुने पालिकाले जनाएको छ । १२ पालिका रहेको नुवाकोट जिल्लामा तारकेश्वर, विदुर, सूर्यगढी र बेलकोटगढीको कार्यालय भवन निर्माण भइरहेको छ ।