+
Search

ताजा अपडेट +

पपुलर +

वधशाला सञ्चालन नहुँदा अस्वस्थकर मासु बिक्री

वधशाला सञ्चालन नहुँदा अस्वस्थकर मासु बिक्री
त्रिशूली प्रवाह
१ साल अगाडी

बट्टार । विदुर नगरपालिका-४ सिमचौरको घुमाउने दहनजिकै त्रिशूली नदी किनारमा निर्माण भएको वधशाला सञ्चालन अन्योल बनेको छ । सुविधासम्पन्न वधशाला बनाए पनि नगरपालिकाले सञ्चालनमा बेवास्ता गर्दा करोडौँ रुपैयाँ खर्च गरेर बनेको भवन अलपत्र र जीर्ण बनेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

चार वर्षअगाडि करिब चार रोपनी क्षेत्रफलमा निर्माण भएको वधशालालाई सङ्घीय सरकारको विशेष अनुदान सुरुमा दुई करोड र पछि थप एक करोड गरी रु. तीन करोडको लागतमा निर्माण भएको थियो । मुख्य संरचना सबै निर्माण भए पनि नगरपालिकाले वधशाला सञ्चालनमा चासो नदेखाउँदा करोडौँको सम्पत्ति जीर्ण हुन थालेको पूर्ववडासदस्य वसन्त रिजाल बताए । वधशाला सञ्चालनका लागि भौतिक पूर्वाधार पूर्ण भए पनि सञ्चालन नगर्दा सफा नगरपालिका निर्माणका लागि बाधा पुगेको छ । तर, वधशाला सञ्चालनका लागि नगरपालिकाले नै पहल नगर्दा करोडौँको लगानीको उपयोग हुन सकेको छैन । वधशाला सञ्चालन नहुँदा सदरमुकाम विदुर र आसपास क्षेत्रमा अस्वस्थ मासु खुला बिक्री–वितरणले मानव स्वास्थ्यमा प्रतिकूल असर परिरहेको नुवाकोट नागरिक समाजका अध्यक्ष बद्री तिवारीले बताए ।

Suzuki New Bike & Scooter

विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले वधशाला सञ्चालनका सम्बन्धमा सरोकारवालासँग छलफल भइरहेका जानकारी दिए । ‘म नगरपालिकामा आउनुभन्दा पहिले नै यो वधशाला निर्माण भइसकेको हो,’ प्रमुख श्रेष्ठले भने, ‘यसै आर्थिक वर्षभित्रमा वधशाला सञ्चालनका लागि भौतिक संरचना मर्मत गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।’ बाह्य भौतिक संरचना निर्माण सकिएको झन्डै तीन वर्ष पुग्दासम्म वधशाला सञ्चालनमा आउन सकेको छैन । निर्माण सकिएको लामो समयसम्म भवन सञ्चालनमा नआउँदा भित्ता चर्किएका छन् । वधशालाका लागि ल्याइएका उपकरणसमेत काम नलाग्ने हुँदै गएका छन् ।

वधशाला नहुँदा जिल्लाका विदुर, बट्टार, त्रिशूली, ढुङ्गे, कोलोनी, देवीघाट तथा आसपासका बजारमा दैनिक बिक्री हुने मासुमध्ये ७५ प्रतिशत अस्वस्थकर रहेको पशुसेवा कार्यालय नुवाकोटले बताउने गरेको छ । जुन प्रयोजनका लागि निर्माण गरिएको भए पनि ती संरचनालाई प्रयोगमा ल्याउनुपथ्र्यो, तर हालसम्म त्यसलाई बेवारिसे अवस्थामा राखिएको नुवाकोट उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा जिल्ला नगर समितिका उपसभापति ताराबहादुर कार्कीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह