त्रिशूली । पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरसविरुद्धको (एचपिभी) खोप विदुर नगरपालिकाका दुई हजार सात सय ४७ किशोरीले लगाएका छन् ।
नगरपालिकाले दिएको जानकारीअनुसार १९ वटा स्वास्थ्य संस्थाबाट गत माघ २२ गतेदेखि २९ गतेसम्म खोप लगाइएको थियो । पालिकाभित्रका विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका दुई हजार सात सय ५० किशोरीलाई खोप लगाउने लक्ष्य नगरपालिकाको थियो । अभियानमा दुई हजार सात सय ४७ किशोरीले खोप लगाउँदा ९९.९ प्रतिशत लक्ष्य पुगेको स्वास्थ्य तथा खोप शाखाले जानकारी दिएको छ । देशभर एचपिभी खोप १० लाख भन्दा बढीले लगाएको स्वास्थ्य सेवा विभागले जनाएको छ । सरकारले यो अभियानमार्फत् १६ लाख आठ हजार ७६ किशोरीलाई खोप लगाउने लक्ष्य बनाएको छ । एचपिभी खोप भनेको पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाउने खोप हो । यो क्यान्सर नेपाली महिलामा सबैभन्दा धेरै देखिएको छ । सबैभन्दा बढी मृत्युको कारक पनि यही क्यान्सर हो ।
प्रतिक्रिया