+
Search

ताजा अपडेट +

पपुलर +

रसुवामा निर्माणाधीन माथिल्लो त्रिशूली–१ बाट सामुदायिक सहयोगमा रू.१७ करोड खर्च

रसुवामा निर्माणाधीन माथिल्लो त्रिशूली–१ बाट सामुदायिक सहयोगमा रू.१७ करोड खर्च
त्रिशूली प्रवाह
५ महिना अगाडी

धुन्चे । रसुवा जिल्लामा निर्माणाधीन २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा सामुदायिक सहयोग कार्यक्रम (एसएसपी) मार्फत विसं २०८१ माघसम्म करिव रू.१७ करोड खर्च विवरण सार्वजनिक गरेको छ । आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिले जिल्लाको विभिन्न क्षेत्रमा माग गरिएअनुसार हालसम्म करिव रू.१७ करोड खर्च गरिएको जानकारी दिनुभएको छ ।

आयोजना प्रवर्धक कम्पनीले एसएसपी, संस्थागत सामाजिक उत्तरदायित्व र आदिबासी समुदाय योजना कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, संस्कृति जर्गेना, राहत वितरण, जीविकोपार्जन तथा आय–आर्जन बृद्धिलगायतका कार्यक्रममार्फत प्रभावित क्षेत्रमा सहयोग गर्दै आएको छ । कोरियन कम्पनीको अगुवाईमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ हाकुमा आयोजनाको बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युतगृहलगायतका संरचना निर्माणाधीन छन् । उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रयोग हुने माथिल्लो त्रिशूली–१ प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो आयोजना हो । विसं २०७२ सालको बिनाकासकारी भूकम्पबाट नराम्ररी प्रभावित भएको आयोजना क्षेत्रमा कम्पनीले भूकम्प पीडितलाई राहत सामग्री वितरण तथा अस्थायी अवास निर्माण, विद्यालय एवम् स्वास्थ्य संस्थाको भवन निर्माण, हेलिकोप्टरमार्फत उद्धार, स्वास्थ्य शिविरलगायतका कार्यक्रम सञ्चालन गरेको आयोजनाको प्रवर्धक कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्टले जनाएको छ ।

आयोजना प्रभावित आदिबासी जनजाति समुदायसँग नेपालमै पहिलो पटक स्वतन्त्र, अग्रिम, सुसूचित सहमति (एफपिक) लागू गरिएको । आदिबासी समुदायको थातथलो, वातावरण र उनीहरूको साँस्कृतिक विशेषतालाई ध्यान दिएर छुट्टै आदिबासी समुदाय योजना कार्यान्वयनमा ल्याएको छ । उक्त योजनामार्फत समुदाय आफैंले छनोट गरेका कार्यक्रम सञ्चालन गर्न छुट्टै बजेट व्यवस्था गरिएको छ । यसमार्फत हालसम्म साँढे रू.२ करोड खर्च भइसकेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत बायोङ सु मिनले आयोजना प्रभावितको आर्थिक तथा सामाजिक अवस्थामा सुधार, रोजगारी एवम् जीविकोपार्जन, त्यस क्षेत्रको विकास जस्ता विषयलाई विशेष ध्यान दिएर सामुदायिक सहयोग कार्यक्रम सञ्चालन गरिएको बताए । आयोजनाले स्थानीय बासिन्दाको मागबमोजिम प्राथमिकतामा आधारमा योजना छनोट गरी सहयोग कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले उक्त सहयोगलाई निरन्तररूपमा सञ्चालन गरिने उल्लेख गरे ।

आयोजनाले हाकुबेंसीमा त्रिशूली नदीमा बेली ब्रिज निर्माण गर्न रू.सात करोड ८६ लाख १४ हजार खर्च गरेको छ । पुल निर्माणपछि आमाछोदिङ्मो गाउँपालिका–१ र २ नम्बर वडास्थित हाकु क्षेत्रका बासिन्दा सडकको पहुँचमा पुगी मुख्यरूपमा सदरमुकाम धुन्चे, नुवाकोट र काठमाडौंतर्फ आवत–जावत गर्न सजिलो भएको छ । उक्त पुल आयोजना निर्माण कार्यका लागि आवत–जावत गर्न पनि प्रयोगमा ल्याइएको छ । प्रभावित क्षेत्रमा सडक निर्माणका लागि रू.१८ लाख ५७ हजार खर्च गरिएको छ । यसका अतिरिक्त धुन्चे खोलडोल सडक निर्माणका लागि थप रू.७० लाख खर्च गरिएको छ । नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीका अनुसार प्रभावित क्षेत्रको शैक्षिक सुधारका लागि विद्यालय भवन निर्माण, शैक्षिक सामाग्रीलगायतका वितरण गरिएको छ । साथै, हाकुस्थित तीनवटा विद्यालय प्रत्येकलाई १/१ जना शिक्षक सन् २०१८ देखि उपलब्ध गराइएको छ । आयोजनाले त्यस क्षेत्रका आदिबासी जनजातिको साँस्कृतिक रितीरिवाज संरक्षण र प्रवर्धनका लागि गुम्बालगायतका भवन निर्माण र अन्य कार्यक्रममा सहयोग गर्दै आएको छ ।

आयोजना प्रभावितको जीविकोपार्जन पुनस्र्थापना तथा आय–आर्जन बृद्धिका लागि आयोजना प्रभावित घरपरिवारका एक सय २१ जनालाई तालिम दिइएको छ । कोरियन तथा जापानिज भाषा, ड्राइभिङ (हलुका र हेभी), इलेक्ट्रिसियन, वेल्डिङ, टेलरिङ, मोटरसाइकल मर्मत, ब्युटी पार्लरलगायतका सीपमूलक व्यवसायिक तालिम उपलब्ध गराइएको छ । यसका लागि रू.८१ लाख ४३ हजार खर्च गरिएको छ । आयोजना निर्माणमा हाल करिव रू.एक हजार श्रमिक परिचालित छन् । त्यसमध्ये करिव चार सय रसुवाका स्थानीयबासिन्दा छन् । त्यसमध्ये आयोजना प्रभावित घरपरिवारका एक सय ५४ जना छन् । आयोजना निर्माण अवधि (पाँच वर्ष) मा आठ सयदेखि एक हजार जना नेपाली श्रमिकले दैनिकरूपमा रोजगारी पाउने छन् ।

आयोजनाको मुख्य निर्माण विसं २०७८ पौषबाट सुरू गरिएको थियो । भूमिगत विद्युत्गृह, मुख्य सुरूङ, बाँधलगायतका सम्पूर्ण संरचनाको निर्माण सबैतिरबाट तिव्रगतिमा भइरहेको छ । आयोजनाको समग्र भौतिक प्रगति ५२ प्रतिशत रहेको छ । आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसान एर्नबिलेटीले कार्य गरिरहेको छ । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय बित्त निगमलगायतको शेयर लगानी (इक्विटी) रहेको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी बित्तीय व्यवस्थापन गरिएको छ । कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको व्याजसहित) रहेको आयोजनामा ९ अन्तराष्ट्रिय बित्तीय संस्थाहरुले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम इक्विटीबाट जुटाइएको छ ।

आयोजनाबाट वार्षिकरूपमा रू.एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८ दशमलव ७५ प्रतिशत हिउँदयाममा र ६१ दशमलव २५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ । उत्पादित उर्जा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३ बी हब सब–स्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । कम्पनी र प्राधिकरणबिच विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भइसकेको छ । काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युत्को अध्याधिक माग हुने हिउँदमा समेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत् प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरी नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुनेछ । आयोजनाको निर्माण विसं २०८३ को मंसिरभित्र सक्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह