विदुर । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फागुन महिनाभरी नसर्ने रोगहरूको पहिँचानका लागि अभियान सञ्चालन गरेको छ । अभियानको बारेमा फागुन ९ गते शुक्रबार जनस्वास्थ्य कार्यालय नुवाकोटमा पत्रकार अन्तरक्रिया सम्पन्न भएको छ ।

कार्यालय प्रमुख महेन्द्रध्वज अधिकारीले नसर्ने रोगको बारेमा अभियानभरी गरिने कार्यक्रमको बिस्तृत जानकारी गराउनुभएको थियो । नेपालमा मृत्यु र अपाङ्गताको मुख्य कारणका रूपमा रहेको नसर्ने रोगको बढ्दो जोखिमलाई ध्यानमा राखी फागुन महिनामा नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिँचान र व्यवस्थापनको लागि देशव्यापी यो अभियान सञ्चालन भईरहेको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । कार्यालयले ३० वर्ष भन्दा माथि उमेरका सबैलाई जिल्लाबासी नजिकैको वा आफुलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई मधुमेह जाँच र रगतमा चिनीको मात्रा परीक्षण, मिगौला सम्बन्धी रोगको जाँच, रक्तचाप (ब्लडप्रेशर) मापन, उचाई र तौलको आधारमा बिएमआइ मापनको जाँच गराई आफ्नो स्वास्थ्य अवस्था थाहा पाउनुहोस् भन्ने आह्वान गरेको छ । ‘‘समयमै नसर्ने रोगको जाँच गराऔं, स्वस्थ्य र दिर्घजीवन बाँचौं’’ भन्ने नारा अभियानको रहेको छ ।
प्रतिक्रिया