विदुर । वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणका लागि चनाखो बन्न र तयारी अवस्थामा रहन डिभिजन वन कार्यालय नुवाकोटले आग्रह गरेको छ । सुक्खा मौसममा वन क्षेत्रमा हुने आगलागीको कारण धनजनको क्षति हुने भएकाले वन क्षेत्रमा डढेलो लाग्नबाट जोगाउन सबैलाई कार्यालयले अनुरोधसमेत गरेको छ ।
कार्यालयले वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि १२ वटै पालिकासँग सहयोग र समन्वय गरी स्थानीयस्तरमा डढेलो नियन्त्रण समिति गठन गरिरहेको कार्यालय प्रमुख रोसना पोखरेलले बताइन् । कार्यालयले पालिकाभित्र रहेको सामुदायिक वनका पदाधिकारी र उपभोक्तालाई सबडिभिजन कार्यालयमार्फत् डढेलो लाग्न नदिन सजगता अपनाउन सचेत गराएको छ । सबै सबडिभिजनमा अग्नि नियन्त्रण समूह गठन गरी आगो निभाउन, अग्नि नियन्त्रण रेखा स्थापना गर्नेलगायतको काम भइरहेको छ । जिल्लाको तीन सय ७० वटा सामुदायिक वन समूहलाई डढेलो नियन्त्रणका लागि चनाखो बनाइएको छ । स्थानीय जनप्रतिनिधि र सरोकारवालाबिचको अन्तक्र्रियासहित अग्नि नियन्त्रणका लागि परिचालन गर्न लागिएको कार्यालय प्रमुख पोखरेलले बताइन् । पोखरेलले भनिन्, ‘डढेलो नियन्त्रणका लागि आवश्यक सामग्री खरिद गरी समुदायस्तरमा पुर्याउने तयारी भइरहेको छ । हरेक सबडिभिजन क्षेत्रमा रहेका नेपाल प्रहरी एवम् सुरक्षाकर्मीलाई अग्नि नियन्त्रण सामग्री उपलब्ध गराउने तयारी रहेका छौँ ।’ वाटरपम्प, फायर स्वाटर, स्याकर र ब्लोरलगायत सामग्री खरिद गरी वितरण गर्ने कार्यक्रम रहेको छ । उनले मध्यवर्ती क्षेत्रबाट डढेलो सल्किने गरेकाले वननजिक रहेका स्थानीयलाई सुक्खा मौसममा बढी सतर्क र सजग रहन आग्रह गरिन् ।

जिल्लामा ४३ प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको छ । विदुर नगरपालिकाका खड्गभञ्ज्याङ, कल्याणपुर, बेलकोटगढी नगरपालिकाको बेलकोट, दुईपिपल, रातमाटे, लिखु गाउँपालिकाको चतुराले, चाउथे, थानसिङ, किस्पाङ गाउँपालिकाको काहुले, शिवपुरीको भद्रुटार, सूर्यगढी गाउँपालिकाको हल्देकालिका, तारकेश्वर गाउँपालिकाको बुधसिंह, तारुका र तादी गाउँपालिकाको खरानीटार, सुन्दरादेवी, रालुकालाई डढेलोको संवेदनशील क्षेत्र तोकेर नियन्त्रणका लागि कार्यालयले तयारी गरिरहेको छ । त्यसैगरी, डढेलोको अति संवेदनशील क्षेत्र विदुरका तुप्चे, गेर्खु, चारघरे, बेलकोटगढीको मदानपुर, किस्पाङको फिकुरी, मनकामना, सूर्यगढीको बागेश्वरी र तारकेश्वरको गोस्र्याङ क्षेत्र डढेलोको अति संवेदनशील क्षेत्र रहेको कार्यालयले जानकारी दिएको छ । जिल्लामा आव २०७८/०७९ मा १५, आव २०७९/०८० मा सात स्थान र आव २०८०/०८१ मा १८ स्थानमा मानवीय असावधानीले वन डढेलो लागेकोसमेत कार्यालयले बताएको छ । जिल्लाको कुल क्षेत्रफल एक लाख सात हजार ६ सय ५६ हेक्टरमध्ये वन क्षेत्र ४५ हजार एक सय ९४ हेक्टर, घाँस क्षेत्र एक हजार एक सय ५१.९२ हेक्टर, कृषियोग्य भूमि ५४ हजार सात सय २१.५४ हेक्टर रहेको छ । त्यसैगरी, १९ हजार आठ सय ४४ हेक्टर लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा र तीन हजार आठ सय ८४ हेक्टर शिवपुरी राष्ट्रिय निकुञ्जमा पर्दछ ।
सामुदायिक वन डढेलो नियन्त्रणका लागि समुदायको महत्वपूर्ण भूमिका हुने जिल्ला समन्वय समिति रसुवाका उपप्रमुख विजय लामाले बताएका छन् । डिभिजन वन कार्यालयको आयोजना तथा राष्ट्रिय प्रकृति संरक्षण कोष गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाको सहकार्यमा गत हप्ता भएको अन्तक्रियामा जिल्ला समन्वय समितिका उपप्रमुख लामाले सामुदायिक वनमा हुने आगलागी नियन्त्रण तथा व्यवस्थापनामा स्थानीय समुदायको महत्वपूर्ण जिम्मेवारी हुने भएकाले गम्भीर भएर सबै सरोकारवाला लाग्नुपर्ने बताए । आमाछोदिङ्मो गाउँपालिकाकी उपाध्यक्ष चण्डिका तामाङले वडा नं ३ को ज्यार्सा गोठेन र बोङजोमाने सामुदायिक वनको क्षेत्रमा वि.सं २०६५ सालतिर ठुलो डढेलो लाग्दा झन्डै ६ सय हेक्टरमा जलेर नष्ट भएको बताइन् । उनले भनिन्, ‘मेरो मन र वन दुवै जलेको जस्तो भयो, लामो समय हुँदा पनि वन हरियाली बनाउन सकिएन ।’ आगलागीले ध्वस्त भएको उक्त वन क्षेत्रमा अझै पनि बोटबिरुवा हुर्किन नसकेर पूरै कालो र नाङ्गो अवस्थामा रहेको छ । उक्त वन क्षेत्र पुनस्र्थापनाका लागि वन कार्यालय रसुवाले पटक–पटक प्रयास गर्दा पनि सफल हुन नसकेको कार्यालय प्रमुख शम्भु तामाङले बताए । स्थानीयले आगलागी भएको क्षेत्रमा चरिचरणको रूपमा प्रयोग गर्न नछाडेसम्म पुनस्र्थापना गर्न कठिन हुने देखिन्छ । कार्यालय प्रमुख तामाङले वन डढेलो नियन्त्रणका लागि समूह, वडा, गाउँपालिका तथा सबै सरोकारवालाले हातेमालो गर्नुपर्ने बताए ।
डढेलोले नष्ट गरेको सो वन क्षेत्र अवलोकनका लागि बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवाल गाउँमै पुगेपछि उक्त क्षेत्रका स्थानीय जनता, जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी, वनका पदाधिकारीले समेत वन पुनस्र्थापनाका लागि मागपत्र पेस गरेका छन् । खुला छलफलमा सहभागीले सामुदायिक वनमा डढेलो लगाउने व्यक्ति पत्ता लगाएर कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । राष्ट्रिय प्रकृति संरक्षण कोषका सुनील सापकोटा, गोसाइँकुण्ड गाउँपालिका–१ का अध्यक्ष उर्केनछिरिङ तामाङ, उत्तरगया गाउँपालिकाका स्वास्थ्य तथा विपत् शाखा प्रमुख बलराम न्यौपाने, गोसाइँकुण्ड गाउँपालिका विपत् शाखा प्रमुख कृष्ण विकलगायतले गाउँ तहमा छलफल, सडक नाटक, वृत्तचित्र प्रदर्शनलगायत सचेतनामूलक कार्यक्रम गरे वन डढेलो नियन्त्रण तथा व्यवस्थापन गर्न सघाउ पुग्ने बताएका थिए ।
प्रतिक्रिया