धुन्चे । रसुवा जिल्लामा तैनाथ सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गुल्म मुख्यालय धुन्चेको १८औँ स्थापना दिवस तथा वार्षिकोत्सव आइतबार विविध कार्यक्रम गरी मनाइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर-३ गढीमाईका बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ठाडामगरले स्थापना दिवस र वार्षिकोत्सवको उद्घाटन गर्दै शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रहरीलाई सहयोग गर्ने जिल्लावासी एवम् उत्कृष्ट प्रहरी कर्मचारी तथा दिवसको अवसरमा भएका खेलकुद प्रतियोगिताका विजयी खेलाडीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । वि.सं २०६३ फागुन ११ गते सदरमुकाम धुन्चेमा सशस्त्र प्रहरी बल नेपालको अस्थायी सुरक्षा बेस चौकी स्थापना र वि.सं २०७० असार ७ गते सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म धुन्चेमा स्थापना गरी सीमा सुरक्षाको समेत जिम्मेवारी पूरा गर्दै आएको थियो । वि.सं २०७५ माघ २० मा समायोजन भई सशस्त्र प्रहरी बल नेपालको नम्बर २० गुल्म हेडक्वार्टर नामकरण भई कार्य सम्पादन गर्दै आइरहेको छ ।
कार्यक्रममा गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख कैसाङनुर्पु तामाङ, प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाही, सशस्त्र प्रहरी बल नेपाल १९ नम्बर गुल्म हेडक्वार्टर नुवाकोटका प्रमुख रामकुमार खिउजू, राष्ट्रिय अनुसन्धान कार्यालय रसुवाका प्रमुख मोहन आचार्य, श्रीनाथ गणका गणपति प्रद्युम्नप्रसाद गौतमलगायत स्थानीयको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया