+
Search

ताजा अपडेट +

पपुलर +

कर्मचारी मिलन केन्द्रको वनभोजसहितको साधारणसभा

कर्मचारी मिलन केन्द्रको वनभोजसहितको साधारणसभा
त्रिशूली प्रवाह
५ महिना अगाडी

धुन्चे । कर्मचारी मिलन केन्द्र नुवाकोटको साधारणसभा तथा वनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ । उक्त सभामा केन्द्रका अध्यक्ष तथा डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख रोशना पोखरेलले वार्षिक प्रगति प्रतिवेदन, भावी योजना तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । उनले आगामी दिनमा गरिने विभिन्न कार्ययोजनासहित रचनात्मक र सिर्जनात्मक क्रियाकलाप सञ्चालन गरी जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा केन्द्रको उपस्थिति बढाउँदै लैजाने बताइन् ।

सभामा केन्द्रकी कोषाध्यक्ष तारा गुरुङले आव २०८०/०८१ को आर्थिक प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेकी थइिन् । सो कार्यक्रममा भर्खर मात्र नुवाकोट जिल्लालाई आफ्नो कर्मथलो बनाएर आएका विभिन्न कार्यालयका प्रमुख तथा अन्य कर्मचारीलाई केन्द्रको सदस्यका रूपमा स्वागत गरिएको थियो । सभामा केन्द्रले गर्दै आएको गतिविधि, उपलब्धि, आगामी कार्यक्रमलगायतका विषयमा छलफल भएको सचिव एवम् ने.वि.प्रा. देवीघाट जलविद्युत् केन्द्रका प्रशासकीय अधिकृत राजनप्रसाद प्याकुरेलले बताए । केन्द्रका प्रमुख सल्लाहकारमा जिल्ला न्यायाधीश सुवासबाबु पुरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख संरक्षक प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, संरक्षक प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीलगायतले कर्मचारीको सुख, दुःख र पिरमर्का बिसाउने साझा चौतारीका रूपमा स्थापित गर्दै केन्द्रलाई थप जिम्मेवार बनाउन सुझाव दिएका थिए । साधारणसभासँगै कर्मचारीबिचको सम्बन्धलाई थप सुमधुर बनाउने उद्देश्यले शनिबार वनभोज (पिकनिक) कार्यक्रम गरिएको सचिव प्याकुरेलले बताए ।

जिल्लास्थित विभिन्न सरकारी कार्यालय, सेना, प्रहरी, विभिन्न संस्थानलगायत नेपाल सरकारमातहत रहेका विभिन्न निकायमा कार्यरत कर्मचारीबिच आपसी भ्रातृत्व, एकता र सुसम्बन्धलाई मजबुत बनाउने उद्देश्यले वि.सं. २०५२ देखि क्रियाशील केन्द्रले बर्सेनि साधारणसभा तथा पिकनिक आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह