+
Search

ताजा अपडेट +

पपुलर +

नवजातलाई बिगौती दुध अनिवार्य

नवजातलाई बिगौती दुध अनिवार्य
त्रिशूली प्रवाह
५ महिना अगाडी

धुन्चे । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, रसुवाले स्वास्थ्य सेवा दिवसका अवसरमा पूर्ण स्तनपान प्रवद्र्धनका लागि आयुर्वेदसम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ । समुदायका नागरिकसँग प्रत्यक्ष जोडिने तथा सन्देश प्रवाहका लागि सबैभन्दा प्रभावकारी माध्यम बन्दै आएको आमा समूह र स्वास्थ्यकर्मीलाई लक्ष्य गर्दै चिकित्सालयले पूर्ण स्तनपान प्रवद्र्धनका लागि सो कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले शिशु र आमा दुवैको स्वास्थ्य सुधार गर्न, स्वस्थ समाजको निर्माण गर्न पूर्ण स्तनपानको महत्वलाई स्वास्थ्यकर्मीमार्फत समुदायसम्म फैलाएर सुत्केरीका लागि सचेतना जगाउन आवश्यक रहेको बताए । शिशु जन्मेको ६ महिनासम्म पूर्ण स्तनपान गराई यस अभियानलाई सफल बनाउन जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी सबैको जिम्मेवारी रहेको उनको भनाइ थियो ।

जिल्ला अस्पताल रसुवाका प्रमुख डा. त्रिभुवनचन्द्र झासहित डा. अच्युत पौडेलले पूर्ण स्तनपान प्रवद्र्धन र यसलाई सफल बनाउन आग्रह गरे । जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख झमप्रसाद आचार्यले पूर्ण स्तनपानले महिलामा कुनै असर नपर्ने, उल्टै स्तन र पाठेघरको अर्बुदरोगको जोखिम कम गराउने भएकाले प्रशस्त फाइदा रहेको स्पष्ट पारे । वडा नं. ६ का वडाध्यक्ष दावासिदार वाइबा, स्वास्थ्यचौकी इन्चार्ज इनफ स्याङ्ताङ, रेडक्रस रसुवाका सभापति बाबुलाल तामाङलगायतले पूर्ण स्तनपान कार्यक्रमलाई सफल बनाउन आफ्नातर्फबाट आवश्यक सहयोगसहित ऐक्यबद्धता जनाए । आयोजक चिकित्सालय रसुवाका प्रमुख रोजिना ताम्राकारले शिशु जन्मेको एक घण्टाभित्र पहिलो स्तनपान गराउने, बच्चा जन्मेदेखि ६ महिनासम्म नियमित रूपमा आमाको दुध मात्र चुसाउने, बच्चा ६ महिना पूरा भइसकेपछि आमाको दुध सँगसँगै थप खाना उपलब्ध गराउने र स्तनपान गराउँदा एकपटकमा एउटा स्तन मात्र चुसाउनाका साथै कम्तीमा पनि एकपटकमा १५ मिनेटसम्म स्तनपान गराउन आवश्यक रहेको बताए । उनका अनुसार पहिलोपटक स्तनपान गराउँदा निस्किने बाक्लो र पहेँलो रङको पदार्थ (बिगौती अथवा कलोस्ट्रोमयुक्त दुध) मा रोग प्रतिरोधात्मक तत्व धेरै पाइने, तर केही आमाले यसलाई फाल्ने गरेकाले त्यस्तो गल्ती नगरी बेगौती दुध अनिवार्य खुवाउनु निकै हितकर मानिने गरिएको छ । अभिमुखीकरणमा सहभागी एक सयभन्दा धेरै सरोकारवालाले ‘पूर्ण स्तनपानलाई सफल बनाउन’ आ–आफ्नातर्फबाट सहयोगको प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह