+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटका दुई पुलको बल्ल उद्घाटन

नुवाकोटका दुई पुलको बल्ल उद्घाटन
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । नुवाकोट जिल्लामा दुई पक्की पुल निर्माण भएका छन् । विदुर–४ सिमचौर र विदुर–१२ गौरीबेँसी जोड्न निर्माण गरिएको एक सय मिटर लम्बाइको र विदुर–१ स्थित साँघुबजार (त्रिशूलीबजार) मा निर्मित ६० मिटर लम्बाइको दुई पक्की पुलको गत शुक्रबार उद्घाटन गरिएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

सिमचौर–गौरीबेँसी पुल जयविष्णु निर्माण सेवा प्रालिले तोकिएको अवधिभन्दा सात महिनाअगावै निर्माण सम्पन्न गरेको हो । निर्माण व्यवसायी अनिल सिलवालले ३० महिनामा पुल सम्पन्न गर्ने जिम्मा लिएकामा २३ महिनामै पूरा गरेर हस्तान्तरण गरे । उक्त पुल निर्माण गर्ने व्यवसायीलाई पुल उद्घाटनका अवसरमा प्रशंसापत्रसहित सम्मान गरियो । सिमचौर–गौरीबेँसी पुल रु. १० करोड ७३ लाखमा निर्माण गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए । यस्तै, साँघुबजारमा निर्मित पक्की पुल तोकिएको अवधिमा सम्पन्न भएसँगै शुक्रबार नै उद्घाटन गरिएको छ । उक्त पुल हिमडुङ एन्ड थोकर–गणेशकुण्ड जेभीले रु. सात करोड ९१ लाखमा निर्माण गरेर सरकारलाई हस्तान्तरण गरेको हो । उक्त पुल तोकिएको अवधि पूरा हुनुभन्दा दुई महिनाअगावै सम्पन्न भएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दुवै पुलको उद्घाटन गर्दै भूपरिवेष्टित देश नेपालले सीमा जोडिएका देशसँग पहुँच विस्तार गर्न चारै दिशातर्फ नाका सञ्चालन गराउने लक्ष्यसहित भौतिक संरचना निर्माणमा तीव्रता दिइरहेको बताए ।

Suzuki New Bike & Scooter

‘मन्त्रालयले ६ महिनामा दुई सय २५ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य लिएकोमा दुई सय ७६ किलोमिटर सम्पन्न भइसकेको छ । ३७ वटा पक्की पुल निर्माण गर्ने लक्ष्यमा ४१ वटा सम्पन्न भएर गाडी गुड्न थालिसकेका छन्,’ मन्त्री दाहालले भने । मन्त्रालयका सचिव शर्माले सङ्घीय सरकारमार्फत रेखदेख र संरक्षणको जिम्मेवारीमा रहेका ८० सडक र यसमा पर्ने पुलको निर्माण आर्थिक र प्राविधिक सहयोगमा भइरहेको जानकारी दिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य विमला सुवेदीले नुवाकोटमा निर्माणाधीन तथा विस्तार भइरहेका गल्छी–रसुवागढी सडक योजना, मध्यपहाडी (पुष्पलाल) लोकमार्ग, पासाङल्हामु राजमार्गमा समयमा काम सम्पन्न नहुँदा निकै सास्ती व्यहोर्नुपरेको छ भन्दै कामलाई तीव्रता दिन मन्त्रीको ध्यानाकर्षण गराए । दुई पुलको निर्माणपछि आर्थिक गतिविधि तीव्र हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह