तारुका । तारकेश्वर गाउँपालिका-५ मा रहेको असहाय जेहेनदार तथा जनजातिका लागि शिक्षा संस्था (अजेज) को २२औँ वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ ।
संस्थाले स्थापना दिवसको अवसरमा फागुन १६ गते त्रिशूली अस्पतालका बिरामीको स्वास्थ्यलाभको कामना गर्दै फलफूल वितरण गरिएको थियो । सो कार्यक्रममा अस्पतालका अध्यक्षलाई तीन थान ह्विलचेयरसमेत हस्तान्तरण गरिएको थियो । संस्थाले सोही दिन देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन संस्थामा सेवा लिइरहेका सम्पूर्ण ज्येष्ठ नागरिकलाई सुस्वास्थ्य, दीर्घायुको कामना गरी फलफूल र मिष्ठान्न भोजनका लागि रु. १४ हजार तीन सयबराबरको खाद्यान्न उपलब्ध गराएको थियो । संस्थाले आफ्नो स्थापनाको अवसर पारेर अजेज शिक्षामा सहयोग कार्यक्रमअन्तर्गत असहाय, विपन्न र टुहुरा बालबालिकालाई नियमित र विशेष छात्रवृत्ति प्रदान गरेको थियो । नियमित छात्रवृत्तिअन्तर्गत १३ जना विद्यार्थीलाई रु. ६ हजार र विशेषतर्फ तारकेश्वर गाउँपालिकाभित्रका सबै वडाका ६–६ जना गरी ३६ जना अन्य केही विद्यार्थीलाई शिक्षा आर्जनमा सघाऊ पुगोस् भन्ने उद्देश्यले छात्रवृत्ति प्रदान गरिएको संस्थाका सचिव नवराज अधिकारीले जानकारी दिए । वार्षिकोत्सवको अवसरमा शंखादेवी माविबाट वि.सं. २०८१ को परीक्षामा प्रथम स्थान हासिल गर्ने छात्रछात्रालाई रु. पाँच/पाँच हजारका दरले पुरस्कार तथा प्रमाण प्रदान गरिएको थियो ।
संस्थाले तारकेश्वर गाउँपालिका–५ मा रहेका ६वटा विद्यालयलाई करिब रु.६ लाखबराबरको स्टेसनरी, विद्यालय पोसाक, ल्याब, लाइब्रेरीको सामान सहयोग गरेको छ । संस्थामा अध्यक्ष बाबुराम शर्मा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरल, वडा नं २ का अध्यक्ष शिवप्रसाद पनेरू, संस्थाका उपाध्यक्ष शेषराज शर्मा अधिकारी र कोषाध्यक्ष राममाणि अधिकारीलगायतले संस्थाको सहयोगको बारेमा बोलेका थिए । सो अवसरमा आजीवन सदस्य तथा सहयोगी रुक्मिणी लम्साल, राजीव लम्साललाई सम्मान गरिएको थियो । कार्यक्रममा अमेरिकाबाट आएका संस्थाका सहयोगी घर्म आचार्यले कार्यक्रमबाट प्रभावित भएकाले थप सहयोगका लागि प्रयास गर्ने बताए ।
प्रतिक्रिया