ब्याडमिन्टन प्रतियोगिताको उपाधि डङ्गोल र लामिछानेलाई

  • त्रिशूली प्रवाह
  • २८ फाल्गुन २०८१, बुधबार १५:४७

धुन्चे । रसुवा जिल्लामा पहिलोपटक भएको जिल्लास्तरीय पुरुष युगल ब्याडमिन्टन प्रतियोगिताको उपाधि उत्तरगया गाउँपालिकाका कुमार डङ्गोल र उपेन्द्र लामिछानेले जितेका छन् ।

रसुवा ब्याडमिन्टन सङ्घको आयोजनामा शनिबार सुरु भई सोमबार सम्पन्न प्रतियोगितामा नेपाल प्रहरीका आभाष तामाङ र विनोद रानामगरको समूह दोस्रो, नीराजन श्रेष्ठ र बुद्धवीर लामाको समूह तेस्रो तथा शिवभक्त तामाङ र भरत खड्काको समूह सान्त्वना भएका थिए । प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु. २५ हजार, रु. २० हजार, रु.१५ हजार र रु. १०–१० हजारसहित ट्रफी, प्रमाणपत्र र पदक प्रदान गरिएको सङ्घका अध्यक्ष लक्षिन तितुङले जानकारी दिए । ३१ टोली रहेको उक्त खेलमा सर्वाेत्कृष्ट बेस्ट सटर तेम्पा जिएल र उत्कृष्ट खेलाडी हर्षराज गुरुङ भएका छन् । रसुवा जिल्लामा आन्तरिक तथा बाह्य पर्यटनको प्रर्वद्धन, जिल्लामा रहेका युवालाई एकत्रित गरी विकास निर्माण र सामाजिक कार्यमा अग्रसर गराउने तथा खेलका माध्यमबाट आपसी सद्भावको विकास र जिल्लाको पहिचान वृद्धि गर्ने उद्देश्यले प्रतियोगिता गराइएको बताइएको छ ।