
धुन्चे । रसुवा जिल्ला कारागारमा रहेका कैदीबन्दी सीप सिकेर आयआर्जनमा जोडिएका छन् । कारागार कार्यालय रसुवाका निमित्त कारागार प्रशासक कैलाश देवकोटाका अनुसार ९६ कैदीबन्दीमध्ये पुरुष ८९ र महिला सात छन् । तीमध्ये तीन विदेशी छन् । कैदीबन्दीमध्ये ४५ जना सीप सिकेर घरेलु इलम गरी आयआर्जन गरिरहेका छन् ।
अहिले कैदी तथा थुनुवा बाँसका मुढा बनाउने र ऊनका गलैँचा बुन्ने काममा तल्लीन छन् । २५ पुरुष गलैँचा बुन्ने र १५ पुरुष मुढा बनाउने तथा पाँच महिला बन्दी बत्ती कात्ने काम गरिरहेका छन् । उनीहरूले अर्डर आएअनुसार काम गर्ने र मासिक रु. २० हजारदेखि २५ हजार कमाउने गरेको निमित्त कारागार प्रशासक देवकोटाले जानकारी दिए । यहाँ उत्पादित सामग्री रसुवासहित काठमाडौं, मकवानपुर, धादिङ, नुवाकोटलगायत जिल्लामा बिक्री हुँदै आएको छ । लामो समय कैद भुक्तान गर्नुपर्ने यस्ता कैदीलाई यस कामबाट धेरै राहत मिलेको कैदी तथा थुनुवा बताउँछन् । अहिले भित्र रहेर मानसिक समस्या हुनुभन्दा काम गरेर बस्नेको सङ्ख्या बढ्न थालेको निमित्त कारागार प्रशासक देवकोटा बताउँछन् । कैदी युवाले मिहिनेतका साथ काम गर्ने हुँदा उत्पादित वस्तु गुणस्तरीय छन् ।